तनहुँ कालिका शहीद शान्तिपार्क धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दमौली,  तनहुँ व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्तिपार्कभित्र निर्माणाधीन अवस्थामा रहेको कालिका मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ ।

एक सय नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले रु चार लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले उक्त मूर्तिको निर्माण गर्नुभएको हो ।

कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको पार्कका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिनुभयो । रानाका अनुसार मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ ।

तीन तले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ४० वटा टुँडाल हालिएको छ भने २० वटा टुँडाल हाल्न बाँकी छ ।

मन्दिरमा नौ फिट उचाइको गजुर राखिसकिएको छ भने मन्दिरमा तामाको छानो छाउन बाँकी रहेको रानाले जानकारी दिनुभयो । करीब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न हुने अनुमान गरिएको रानाले जानकारी दिनुभयो ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको छ । रानाका अनुसार, पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।

शान्तिपार्क पुग्नका लागि १६ फुट चौडा भएको ७०० मिटर कच्ची मोटरमार्ग निर्माण गरिएको छ । त्यस्तै २०० मिटर पक्की नाला निर्माण भएको छ । पृथ्वीराजमार्गबाट मन्दिरसम्म पुग्नका लागि कालोपत्र गर्ने योजना रहेको छ ।

३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो ।

आर्थिक वर्ष ०६६÷६७ मा स्थानीय विकास मन्त्रालयमार्फत व्यास नगरपालिकाको जगेडा कोष र स्थानीय उपभोक्ताबाट सहयोग गरी रु ३७ लाख ८३ हजार ५९२ को लागतमा वन क्षेत्रलाई पक्की पिल्लरसहित काँडे तारबार लगाउने कार्य सम्पन्न भएको थियो ।

आव ०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १७ लाख ६७ हजार ७५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिंढी निर्माण गरिएको थियो ।

आव ०६८÷६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख आठ हजार ७०४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने ०६९÷७० मा प्राप्त रु आठ लाख ७९ हजार ५६८ ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरीद र गाड्ने काम भएको थियो ।

त्यस्तै ०७१÷७२ मा प्राप्त रु १२ लाख छ हजार ३७५ को लागतमा मन्दिरको तीन वटा पेटी चारैतिर सिढी निर्माणका साथै चार वटा मुख्य पिल्लरसहित जग बसाल्ने काम भएको थियो । आव ०७२÷७३ मा प्राप्त रु ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुई वटा पिकनिक स्थल निर्माणलगायतका काम सम्पन्न भएको थियो ।

आव ०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ३३ लाख १२ हजार ५२२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्यसम्पन्न गरी बाटो मर्मत गरिएको छ ।

आव ०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टँुडाल, बुट्टेदार इँटा, मूर्ति खरीद लगायतका काम भएको छ ।

पार्क स्थापना भएदेखि हालसम्म पूर्वाधार निर्माणमा रु दुई करोड ६९ लाख ४२ हजार खर्च भएको छ भने रु दुई करोड १३ लाख १३ हजार ७५४ आम्दानी भएको छ । कालिगढलाई रु ३७ लाख र विभिन्न व्यक्तिलाई सापटीबापतको रु १८ लाख फिर्ता दिन बाँकी रहेको पार्कले जनाएको छ ।

गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यूटावर, विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीव आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!