नातेदारको नाम, आफैंबाट झ्वाम, एकान्तकुनामा बिचौलियाको रजगज

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च तहका कर्मचारी नै मलको चलखेलमा लागेका छन् । पछिल्लो समय, मल खरिदमा सचिव युवकध्वज जिसीले नै धेरै चासो र तत्परता देखाइरहेको बुझिएको छ ।

अहिले मन्त्रालयको पहलमा ब्याक्टेरिया मल ल्याउन लागिएको छ । उक्त मल खरिद गर्नका लागि मन्त्रालयले १० करोड रुपैयाँ छुट्ट्याइएको छ । तर, व्याक्टेरिया मल खरिद र वितरण गर्ने जिम्मा भने सचिव जिसीका नातेदार कृष्ण जिसीले पाएका छन् ।

ब्याक्टेरिया मल खरिद गर्दा राम्ररी चलखेल गर्न सकिने भएको हुँदा सचिव जिसीले प्रक्रिया मिचेर आफ्नै नातेदारलाई खरिद र वितरणको जिम्मा दिइएको बुझिएको छ । उक्त मल जिल्ला–जिल्ला तहमा वितरण गर्न लागिएको छ ।

सचिव जिसीलगायत मन्त्रालयका उच्च तहका कर्मचारीहरूको ध्यान अहिले प्रांगारिक, भर्मी र कम्पोस्ट मल खरिदका लागि छुट्ट्याइएको करोडौं रकममा पनि परेको बुझिएको छ ।

अहिले मन्त्रालय मातहतको कृषि सामग्री कम्पनी लिमिटेडले २५ करोड रुपैयाँबराबरको प्रांगारिक मल खरिद गर्न लागेको छ ।

त्यति ठूलो परिणाममा प्रांगारिक मल खरिद गर्नुको पछाडि कमिसनको चक्कर नै मुख्य कारण रहेको बताइन्छ । संस्थानले २५ करोडको मल खरिद गरे पनि त्यसलाई भण्डारण गर्ने गोदामको भने अभाव रहेको बताइन्छ ।

केही वर्षअघि ठूलो परिणाममा प्रांगारिक मल खरिद गर्दा पनि संस्थानको गोदाम अभाव भएर मल त्यत्तिकै सड्न पुगेको थियो । अहिले पनि संस्थानको गोदामको क्षमता बढाइएको छैन ।

संस्थानको गोदामको क्षमताभन्दा बढी मल खरिद गर्दा विगतमा मल त्यत्तिकै खेर गएको नजिर हुँदाहुँदै किन अहिले ठूलो परिणाममा मल खरिद गर्न खोजिरहेको छ रु अहिले मल खरिदमा तत्परता देखाउने सचिव जिसी र कृषि व्यवसाय महाशाखाका कर्मचारीमाथि प्रश्न उठ्न पुगेको छ ।

एकान्तकुनामा बिचौलियाको रजगज
सेवाग्राहीहरूबाट अनावश्यक रकम असुल्ने कार्यमा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अग्रपंक्तिमा रहेको छ ।

बिचौलियाहरू परिचालित गरेर सेवाग्राहीहरूसँग असुलिएको बढी रकम सोही कार्यालयका प्रमुखदेखि अरू कर्मचारीहरूको पोल्टामा पर्ने गरेको छ ।

उपत्यकाका साना तथा ठूला सवारी साधनहरूसम्बन्धी सबै कार्य सोही कार्यालयबाट हुँदै आएको छ । करिब दुई वर्षअघि उक्त कार्यालयको प्रमुख बनेर गएका उपसचिव वसन्तप्रकाश पन्थीले आफू मातहतका कर्मचारी र बिचौलियाहरूलाई परिचालित गरेर कमाउने धन्दा चलाउँदै आएका छन् ।

सेवाग्राहीहरूबाट अनावश्यक रूपमा उठाउँदै आएको रकममध्ये उपसचिव पन्थीको भागमा हरेक महिना मोटो रकम पर्ने गरेको बताइन्छ ।

पन्थीको भागमा पर्ने त्यति रकम अनावश्यक रुपमा असुल्दै आएकोमध्ये २० प्रतिशत रकम हो । उनले सो कार्यालयका २० वटा कोठाबाट नै यति–यति रकम बुझाउनुपर्ने भनेर छुट्ट्याएको बताइन्छ ।

उपसचिव पन्थीले आफूमातहतका कर्मचारी र बिचौलियाहरू परिचालित गरेर रकम उठाउने गरेका छन् । जसमा कुनै गाडीको पञ्जीकृत गर्दा १ देखि ५ हजारसम्म, रुट परमिट दिँदा १ देखि ५० हजारसम्म, कर चुक्ता गरेबापत २ देखि ३ हजारसम्म, भ्याट तिर्दा ८ देखि १२ हजारसम्म, प्रदुषण जाँचपास गरेबापत ५ सयदेखि ५ हजार र सवारी प्राविधिक गल्ती गरेबापत चाहिँ व्यक्तिअनुसार जरिवाना लिँदै आएको बताइन्छ ।

यी सबै काम बिचौलियाहरूमार्फत गरिने भएको हुँदा बिचौलियाहरूले हरेक दिन कर्मचारीहरूलाई रकम बुझाउने गरेका छन् र सोही रकममध्ये २० प्रतिशत प्रमुख पन्थीसम्म पुग्ने गरेको बताइन्छ ।

राम्रो कमाउ हुने कार्यालयका रूपमा चिनिने उक्त कार्यालयमा कमाउनकै निम्ति लामो समयदेखि ८–१० कर्मचारी कार्यरत रहँदै आएका छन्,  बुधबारमा उल्लेख छ ।

९२ कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अरू कर्मचारीहरूको दुई वर्ष अवधि पुगेपछि सरुवा हुने गरे पनि केही कर्मचारीको भने दुई वर्ष अवधि पुगे पनि त्यहीँ नै रजगज चल्दै आएको छ ।

आठौं तहका राजन पोखरेल, छैटौं तहका नारायण गौतम दुई वर्ष पुगे पनि त्यहीँ नै कार्यरत छन् । त्यस्तै स्टोरकिपर रूपक आचार्य त १० वर्षदेखि त्यहीं कार्यरत रहँदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!