रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष विश्वविद्यालयभित्र बस्न मान्दैनन्

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन,  कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् ।

आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्दै आउनुभएको छ । रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आउनुभएको छ । ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताउनुभयो । उहाँका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहनुभएको छैन । विश्वविद्यालयका लेखाप्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न रु ५० हजार हाराहारी मासिक खर्च हुने गरेको छ ।

शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौँमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ । काठमाडौँमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ ।

रजिष्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गर्नुभयो । यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आउनुभएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!