राजस्व छली रोकिएन : कर्मचारी र व्यापारीकै ‘सेटिङ’मा १७ रुपैयाँमा जुत्ताचप्पलको आयात

- July 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की 
काठमाडौं   ।  भन्सार कर्मचारी र सम्बन्धित व्यापारीहरुकै सेटिङमा मुलुकको प्रमुख नाकालगायत अन्य नाकाबाट अवैधरुपमा सामान नेपाल भित्र्याई राजस्व छलीको धन्दा रोकिनुको साटो झन् मौलाएको छ । चोरी निकासी पैठारीमा संलग्न व्यवसायीले भन्सारकै मिलेमतोमा धन्दा सुरु गरेको भए पनि सम्बन्धित निकायबाट कारबाही नभएपछि त्यसकै फाइदा उठाउँदै अवैध धन्दालाई निरन्तरता दिँदै आएको पाइएको छ । 

विभिन्न समयमा बढी मात्रामा वीरगञ्ज भन्सारमार्फत भित्रिएका दुई ट्रक हार्डवेयर सामान प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालयमा चेकजाँच गराउँदा ७० प्रतिशत वस्तुको राजस्व नतिरेको फेला परेसँगै भन्सार नाकाबाट न्यून बीजकीकरण गरी नेपालमा सामान भित्र्याउँदै आएको प्रमाण भेटिएको हो । १३ लाख ४६ हजार जरिवानासहित झण्डै २७ लाख रुपैयाँ धरौटी राखेर व्यवसायीले हार्डवेयर बोकेका ना२ख ९५७४ र ना२ख ६७५४ नम्बरको ट्रक गत वर्षको माघ पहिलो साता छुटाएका थिए । 

न्यून बीजकीकरण र राजस्व छलीमा संलग्न कर्मचारी, वस्तु घोषणा गर्ने एजेन्टमाथि कारबाही नहुने भएकाले छली प्रोत्साहित हुँदै आएकाले सो अवैध धन्दा रोकिनुको साटो झन् मौलाएको हो । मुलुकको कुल आयातको ७३ प्रतिशत वस्तु भारतबाटै आयात हुने गरेको छ । भारतबाट अहिले पनि अधिकांश वस्तु लोकल पैठारीमार्फत भित्रिने गरेको छ । अवैध कारोबारलाई निरुत्साहित पार्न आयातलाई पूर्ण रूपमा बैंकिङ प्रक्रियामा लग्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताए पनि सरकारले सो विषयमा चासो देखाएको छैन भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । सरकारले स्वदेशी उत्पादन भन्दै प्राथमिकताको सूचीमा राखेको जुत्ताचप्पलकै नामबाट सोही क्षेत्रका व्यवसायीहरुले नक्कली प्रमाण तयार गर्दै सस्तोमा नेपाल भित्र्याउँदै आएको जुत्ताचप्पल व्यवसायीहरुले बताएका छन् । उच्च शक्ति र पैसाकै आडमा लामो समयदेखि नेपाली बजारमा नक्कली वस्तुहरुको आयात गरी उपभोक्ता ठगी हुँदै आएकोमा पछिल्लो समयमा ब्राण्डेड सामानको नाममा लुट नै मच्चाउँदै आएको फेला परेको छ । 

विद्यमान नेपालको कानुनी छिद्रताको फाइदा उठाउँदै विगत केही वर्षयता अवैध धन्दा चलाउँदै आएका राजेन्द्र मेहनसरिया (अग्रवाल) तथा उनका छोरा रोशन मेहनसरिया (अग्रवाल) डरलाग्दो अवैध धन्दामा संलग्न रहेको फेला परेको छ । इरेक तथा अन्य ब्राण्डका जुत्ता आयात तथा बिक्रीमा ठूलो मात्रामा राजस्व र भन्सार छली गर्दै आएका अग्रवालका बाबुछोराले विगत लामो समयदेखि ब्राण्डेड जुत्ता आयात तथा बिक्री गर्दा ‘लखनउ लुट’ मच्चाएको आरोप लाग्दै आए पनि सो बारे सरकारले भने छानबिन समेत गरेको छैन ।

चीनमा बनेका इरेक, पिक तथा अन्य ब्राण्डका जुत्ता आयात गर्दा भन्सार तथा राजस्व छली ब्राण्डेड जुत्तामा ब्रह्मलुट नै मच्चाएको स्रोतको दाबी रहेको छ । उनीहरुले यस्ता ब्राण्डका जुत्ता आयात गर्दा विना ब्राण्डका जुत्ता आयात गर्दा लाग्ने बराबरको भन्सार तिरेर ल्याउने र नेपालमा बिक्री गर्दा ब्राण्डेड जुत्ताको मूल्यमा बिक्री गर्दै आएको भेटिएको छ । 

विगतमा साधारण जुत्ताको रुपमा दुईदेखि पाँच डलरमा भन्सार छुट्दै आएकामा इरेक नामको जुत्तामा राजस्व छलीसम्बन्धी समाचार आएपछि भन्सार विभागले सो जुत्ताको भन्सार मूल्यांकनमा फेरबदल गरी प्रतिजोर १० डलर पु-याएको पाइएको भए पनि नोपली व्यापारीसँगको मिलिमतोमा अहिले प्रतिजोर १७ रुपैयाँ नेपाली रुपैयाँमा भन्सारबाट जुत्ताचप्पल छुटाउँदै आएको भेटिएको छ । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडको मक्खनमा मुख्य कार्यालय रहेकोे गोपीकृष्ण इम्पेक्स, सुरज आर्केट, रञ्जना ट्रेड तथा अन्य स्थानहरुबाट राजेन्द्र र रोशनले यी ब्राण्डका जुत्ताको होलसेल कारोबार गर्ने गरेको पाइएको छ ।
इरेक जुत्ताको नेपालको एजेन्सी बताउने रोशनले अण्डर बिलिङमा सामान मगाउने, ग्राहकलाई भ्याट बिल नदिने र मुख्य खातापाता कपलपोरीरीस्थित आफ्नै घरमा राखेर राजस्व छली गर्ने गरेको पाइएको छ । भारतको राजस्थानस्थित महेनसरियाबाट रंगुन गएका राजेन्द्र र रोशन अग्रवाल रंगुनबाट नेपाल आएर अवैध काम सञ्चालन गरिरहेको पाइएको हो । व्यापारीले रिबुक, एडिडास, फिला, नर्थफेस, नाइक जस्ता विश्व प्रख्यात ब्राण्डमा वस्तु आयातमा राजस्व छली गरी सामान नेपाल भित्र्याउँदै करोडौँ रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । विना भन्सार या न्यून बिलिङबाट सागर एण्ड साधना बिजनेस प्रालिले उक्त ब्राण्डका दुई करोड २३ लाख रुपैयाँ मूल्य बराबरको जुत्ता राजस्व छली गरी भित्र्याएको छ । 

लेखा नं ३०२६७२७४३० भएको सागर एण्ड साधना बिजनेस प्रालिले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका जुत्तालाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनी ठूलो परिमाणमा राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । लिलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरे सञ्चालक रहेको सागर एण्ड साधना बिजनेस प्रालिले भन्सार एजेन्टसँगको मिलेमतोमा भन्सार कार्यालयबाट जाँचपास गराई सामान पैठारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । व्यापारीहरुले ल्याट सोल जुत्ता र स्पोट्र्स जुत्तामा उत्पत्तिको मुलुक इन्डोनेसिया, भियतनाम हुनुपर्नेमा चीनमा उत्पादन भएको देखाई राजस्व छली गर्दै आएको हो । 

विभागले राजस्व चुहावट गर्ने दुराशय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुक समेत फरक पारी यथार्थ कारोबार मूल्यभन्दा न्यून मूल्य घोषणा गरी मालवस्तुको भौतिक विशेषता, गुणस्तर फरक पारी राज्यलाई बुझाउनुपर्ने कर छल्ने प्रपञ्च रचेको भन्दै सञ्चालकद्वय तथा भन्सार एजेन्टविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भन्सार छलीका जुत्ता जफत गरी बिगो रकमको दोब्बर चार करोड ६४ लाख रुपैयाँ जरिवाना तथा दोषीउपर तीन वर्षसम्म कैद मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

फर्मका सञ्चालकसँगै राजस्व चुहावट गर्ने कार्यमा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेको पनि संलग्नता देखिएको हुँदा भन्सार ऐन २०६४ को दफा ५३ अनुसार उनीमाथि पनि कारबाही माग गरिएको छ । धनगढीमा जुत्ताचप्पलमा मात्रै वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेकोमा त्यसको ९० प्रतिशत सामान भारतबाट ल्याउने गरिन्छ । भन्सारका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा हुने तस्करीले जुत्ता चप्पलबाट प्राप्त हुने करोडौँको राजस्व मात्र गुमिरहेको छैन, तस्करहरुका कारण नेपाली उत्पादनले समेत बजार पाइरहेको छैन । यसरी हुने मिलेमतोकै कारण नेपाली जुत्ताचप्पलका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको सम्बन्धित क्षेत्रका व्यवसायीहरुले गुनासो गरेका छन् । 

नेपाली जुत्ताघरका सञ्चालक तथा शिखर शुजका प्रबन्धनिर्देशक रामकृष्ण प्रसाईंले भन्सारमा केही जुत्ताचप्पल व्यवसायीहरुले न्यून बीजकीकरण गरी सस्तोमा जुत्ताचप्पल नेपाल भित्र्याउने र अत्यधिक महंगोमा बिक्री गरेका कारण नेपाली उत्पादनहरु संकटमा परेको बताए । उनले भने, ‘अन्य ब्राण्डका सामान बेच्ने व्यवसायीहरुले १७ रुपैयाँमा भन्सार गरेर जुत्ताचप्पल नेपाल भित्र्याएकै कारण स्वदेशी उत्पादनमा गिरावट आएको बताएका छन् । उनका अनुुसार ब्राण्डेड जुत्ताचप्पललाई भन्सार कर्मचारीको संलग्नतामा पाँच सय ६० रुपैयाँ प्रतिजोर जुत्ताको मूल्य टिपाई करछली गरेको पाइएको छ । बजारमा आएपछि सोही जुत्ताचप्पललाई न्यूनतम पाँच हजार ६० रुपैयाँमा बिक्री हुने गरेको पाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!