अख्तियारको नियन्त्रणमा अधिवक्ता सुरेन्द्रकुमार कोइराला , १२ विषयमा नम्बर थपेर ३ डिग्री

24

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् ।

त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो । अर्थशास्त्रका ६, समाजशास्त्र र ग्रामीण विकासका ३/३ विषयमा नम्बर थपिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए ।

तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । राजनीतिकशास्त्र स्नातकोत्तरको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको उनले बताए । शिक्षा र कानुन संकायमा त्रिविबाटै उनले स्नातक गरेका थिए । ती विषयका सम्बन्धमा समेत छानबिन गरिएको थियो । शिक्षा र कानुन विषयको प्रमाणपत्रमा कुनै त्रुटि नभेटिएको पनिकाले जनाएको छ ।

विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भएर आएपछि कम्प्युटरमा अंक चढाउने बेलामा ‘कर्मचारीले बदमासी गरेको’ छानबिन समितिको ठहर छ । परीक्षकले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गराउने क्रममा बढाएको उप्रेतीले बताए । ‘मार्कस्लिपसम्म नम्बर ठीक छ,’ उनले भने, ‘कम्प्युटरमा इन्ट्री गर्ने बेला बदमासी गरेको पाइयो ।’ अर्थशास्त्रअन्तर्गतका ६ विषयमा उनले ८० सम्म थप गरेका छन् । अन्य विषयमा ५ देखि १० नम्बरसम्म बढाइएको छ ।

त्रिवि पनिकाले परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरू संकलनपछि कोडिङ र प्याकिङ गरेर परीक्षणमा पठाउँछ । परीक्षकले कापी बुझेको २१ दिनभित्र परीक्षण सकेर पनिकामै बुझाउनुपर्ने व्यवस्था छ । उत्तरपुस्तिकासँगै परीक्षकलाई मार्कस्लिप दिइएको हुन्छ । उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नम्बर दुई प्रति मार्कस्लिपमा उल्लेख गरेर पनिकामा बुझाउनुपर्छ । त्यसपछि मार्कस्लिपका आधारमा पनिकाको गोप्य शाखामा अंक इन्ट्री गर्ने काम हुन्छ । ‘छुट्टाछुट्टै कम्प्युटरबाट मार्कस्लिपमा आएको अंक इन्ट्री गरिन्छ,’ उनले भने, ‘यसरी इन्ट्री गरिएको नम्बर म्याचिङ गरेपछि मात्रै मूल इन्ट्री गरेर लेजर प्रिन्ट हुन्छ ।’

कोइरालाको हकमा मार्कस्लिपको नम्बर कम्प्युटरमा इन्ट्री गर्ने बेलामा गडबड गरिएको हो । ‘दुवै कम्प्युटरमा इन्ट्रीमै गडबड गरेर समान अंक दिएपछि त्यतिबेला त्रुटि पत्ता लाग्न सकेन,’ रजिस्ट्रार उप्रेतीले भने, ‘सोहीअनुसार लेजर, मार्कसिट प्रिन्ट भयो ।’ गोप्य शाखामा रहने टेबल १ र टेबल २ कम्प्युटरमा चढाएको नम्बर फरक परे मात्र पुन: मार्कस्लिप हेरेर रुजु गर्ने काम हुन्छ । कर्माचार्यले कोइरालासँगको लेनदेनमा टेबल १ र २ दुवै कम्प्युटरमा समान अंक चढाइदिएको अख्तियार स्रोतको दाबी छ ।

त्रिवि उपकुलपति तीर्थराज खनियाँले संस्थागतभन्दा पनि व्यक्तिगत बदमासीका कारण प्रमाणपत्रमा नम्बर थपिएको दाबी गरे । ‘परीक्षा विश्वविद्यालयको मुटुजस्तो हो,’ उनले भने, ‘नक्कली प्रमाणपत्रले विश्वसनीयतामा असर गरेको छ ।’ पनिकामा भएको बदमासीबारे अध्ययन गरेर अख्तियारलाई समेत प्रतिवेदन दिइसकेको उनले बताए । ‘दोषी कर्मचारीलाई निलम्बन गरिसकियो, अन्य संकायको पनि छानबिन गरेर विश्वविद्यालयको साख जोगाउँछौं,’ उनले भने ।

विश्वसनीयता गुम्यो : सांसद
त्रिविका पदाधिकारीले प्रमाणपत्रमा नम्बर बढाएर दिनु व्यक्तिगत त्रुटि भएको दाबी गरे पनि संसदका शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले एकै व्यक्तिको मात्र संलग्नतामा ३ विषयको डिग्रीमा नम्बर थपिनुले परीक्षा प्रणालीप्रति नै आंशका उब्जिएको बताएका छन् । यसले विश्वविद्यालय र मुलुककै बदनामी भएको उनीहरूले बताए । ‘सट्टा परीक्षार्थी राख्ने, प्रश्नपत्र पहिल्यै आउट गर्ने, परीक्षा केन्द्र बाहिरै उत्तरपुस्तिका लेख्ने गरेको हल्ला र गुनासो धेरै सुनेका छौं,’ सांसद गजेन्द्र महतले भने, ‘पनिकाले गलत गर्दा त्यसको दोष सरकारले/सांसदहरूले लिनुपरेको छ ।’

फेल भएका विद्यार्थीलाई अभिलेख सच्याएर पास गराएको विषयमा सत्यतथ्य बुझ्न त्रिवि पदाधिकारीसहित पनिकाका पदाधिकारीलाई समितिले छलफलमा डोकेको थियो । सांसद उमाकान्त चौधरीले नक्कली शैक्षिक प्रमाणपत्रले त्रिविकै विश्वसनीयतामाथि प्रश्न उठेको जनाए । ‘व्यक्तिगत त्रुटि भनेर उम्कन मिल्दैन, यो प्रणालीमाथिकै अविश्वास हो, यो एउटा बदमासी त बाहिर सार्वजनिक भयो, थाहा नभएका थुप्रै हर्कत हुन सक्छन्,’ उनले भने । परीक्षा प्रणाली र नतिजा प्रकाशनको वर्तमान प्रणाली नै सुधार गर्न उनले सुझाव दिए । चौधरीले भने, ‘यस्ता घटनाले देशकै बेइज्जत गरेको छ, गुणस्तरीय शिक्षामा समेत असर गर्छ ।’

सांसद अञ्जना विशंखेले त्रिविको परीक्षाप्रति सर्वसाधारणमा अविश्वासको खाडल देखिएको बताइन् । ‘कम्प्युटरमा बसेकाले बदमासी गरेछ भनेर पन्छिन मिल्दैन,’ उनले भनिन्, ‘किर्ते सर्टिफिकेट जम्मा गर्नेको खेती नै चलेको देखियो ।’ उनले विद्यार्थीले सजिलै उत्तरपुस्तिका हेर्न पाउने र पुनर्योग गर्ने व्यवस्था गर्न माग गरिन् । विद्यार्थीले चाहेको खण्डमा नम्बर मात्र जोड्ने पुनर्योगभन्दा उत्तरपुस्तिका नै पुन: परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्ने उनको
सुझाव थियो ।

‘परीक्षामा हुने यस्ता बदमासी कन्ट्रोल गर्ने के उपाय छ ?’ सांसद एकवाल मियाँले जिज्ञासा राखें, ‘अहिले त अख्तियारले थाहा पायो, पनिका आफैंले अहिलेसम्म कतिवटा यस्तो त्रुटि फेला पार्‍यो ?’ सांसद तिलकबहादुर महतले अरू पनि यस्ता बदमासी नभएको होला भन्न नसकिने उल्लेख गर्दै यसबारे पदाधिकारीको जवाफ माग गरेका थिए । ‘यसको जिम्मा पदाधिकारीले लिएर सुधारमा जानुपर्छ,’ उनले भने । सांसद भैरवबहादुर सिंहले नक्कली प्रमाणपत्रले राष्ट्रकै इज्जत गएको टिप्पणी गरे । ‘लगानी र मिहिनेत गरेर पढ्ने विद्यार्थीका लागि दुर्भाग्य र निराशपूर्ण कुरा हो,’ उनले भने । सांसदहरूको जिज्ञासापछि इन्ट्रीका क्रममा हुने बदमासी रोक्न ‘लक इन्ट्री’ को व्यवस्था गरिने पदाधिकारीहरूले प्रतिबद्धता जनाए , कान्तिपुरबाट  

Facebook Comments

LEAVE A REPLY