भित्रि रहस्य के हो ? व्याजसमेत तिर्न नसक्ने निगममा सरुवाको हानाथाप

- July 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,विमान खरिदका बखत लिएको ऋण त परैजाओस् त्यसको व्याजसमेत तिर्न नसकेर सरकारसँग हारगुहार गरिरहेको नेपाल वायुसेवा निगममा राम्रा विभागहरूमा सरुवा हुनका लागि निर्देशक तहका कर्मचारीहरूबीच हानाथाप र गुटबन्दी सुरु भएको छ ।

ससुरालीका नाममा ग्यासको व्यापार गर्ने र सुगत कंसाकारको निगममा एकछत्र शासन सत्ता चल्दा सबैभन्दा आकर्षक र कमाउने अखडाका रूपमा चिनिने कमर्सिएल डिपार्टमेन्टमा बसेर अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएका जनकराज कालाखेती अहिले पुनः कमर्सिएल विभाग या अर्थ विभागमा सरुवा हुनका लागि सक्रिय छन् ।

कार्यकारी अधिकारसहित मदन खरेलको बहालीसँगै कमर्सिएलबाट हटाइएका र कष्टुमर सर्भिस विभागमा पुगेका कालाखेती अहिले कमर्सिएल र अर्थ विभागमध्ये एकमा जानका लागि सक्रिय छन् । कमर्सिएल विभागमा अहिले निर्देशक टंकनिधि दाहाल छन् ।

उनी प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका हुन् । कार्यकारी अध्यक्ष खरेलसँगै उनी गतसातामात्रै जापान पुगी फर्किएका थिए । त्यसैगरी अर्थ विभागमा युवराज अधिकारी छन् । कंसाकारद्वारा पेलिएका अधिकारी खरेलको निकट मानिन्छन् । उनी पनि बेलावखत विभिन्न विवादहरूमा तानिँदै आइरहेका छन् ।

खरेलले के के गरे ?

काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उपलब्धिको विवरण सार्वजनिक गरेका छन् । निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको विज्ञप्ति जारी गरेका छन् ।

दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको र दिल्लीका लागि प्रतिहप्ता ११ उडान रहेकोमा हाल १४ पु¥याइएको विज्ञप्तिमा उल्लेख छ । हप्ताको १४ उडानमध्ये ७ उडान न्यारोवडीमार्फत् र ७ उडान वाइडबडीमार्फत् गरिएको छ ।

यस्तै युनाइटेड अरब इमिरेट्सको दुबईमा प्रतिहप्ता ३ उडान गरिँदै आएकोमा एक थप गरी ४ वटा पु¥याइने विज्ञप्तिमा छ । आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न एप्रुभ्ड ट्रेनिङ अर्गनाइजेसनसम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सुचारु रूपमा सञ्चालन गर्ने तर्फ निगम सक्रिय रहेको बताइएको छ ।

यसैगरी निगमको ट्विन अटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरूप निगमले हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको छ । साथै दुई वर्षदेखि रोकिएको को–पाइलटहरूको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको छ ।

बाँकी तीन जनाको तालिमसमेत सञ्चालन भइरहेको छ र यो तालिम आगामी साउन मसान्तभित्र सम्पन्न गरिने निगमले जनाएको छ ।

न्यारो वडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारो वडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडवडीमा समेत नेपाली जनशक्ति तयार गर्ने तर्फ निगमले कार्य गरिरहेको बताइएको छ । न्यारोबडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारोबडी जहाजबाट वाइडवडी जहाजमा आवश्यक तालिम गराई वाइडबडीमा समेत नेपाली जनशक्ति तयार गरिरहेको छ ।

लोकसेवा आयोगमार्फत् आवेदन माग गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताएको छ । अन्तर्राष्ट्रिय कम्पनी बिसिटीले गरिरहेको विमान मर्मत–सम्भार कार्य जुलाई महिनादेखि स्वयम् नेवानिका इन्जिनियरहरूबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रूपैयाँसम्म बचत हुने निगमले जनाएको छ ।
 

बोइङ बिक्रीमा

निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्न बुधवार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । ३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएपछि जहाज बेच्न लागेको निगमले जनाएको छ । यो जहाज १ सय ९० सिट क्षमताको छ । यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रूपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने छ ।

निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो । बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एयरबस कम्पनीका मात्रै जहाज हुनेछन् । निगमले ४ वर्षअघि एयरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो भने गएको वर्ष एयरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ । नव जनप्रहारका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!