ढिकिच्याउँ शैलीमा ओली–प्रचण्ड : सेकेन्डम्यान भन्दा माथि उठ्न प्रचण्डका अनेक अभ्यास र गुनासा

- July 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक ढिकिच्याउँ प्रकारान्तरले जारी रहेको छ ।

एउटै मञ्चमा अतिथिका रूपमा उभिए पनि दुवैको वैचारिक मतभेदमात्र होइन, आन्तरिक तयारीका संकेत पनि प्रस्ट देखिन थालेका छन् ।

सबैभन्दा शक्तिशाली मानिएको पार्टीको सचिवालयमा प्रचण्ड बहुमतमा रहे पनि अल्पमतमा रहेका ओलीले प्रधानमन्त्री पदको ताकतका आडमा पार्टीभित्र पनि हुकुमत जारी राखेको पूर्वमाओवादीको विश्लेषण छ ।

जसका कारण खुमलटार पिल्लरले समान हैसियत नभई, दोस्रो व्यक्तिका रूपमा काम गरिरहेको व्याख्या हुन थालेको छ ।

यसै साता खुमलटारमा पूर्वमाओवादीका नेतालाई बोलाएर प्रचण्डले यहि विषयको व्रिफिङ पनि गरे । ‘सिद्धान्तका कुरामा त हामी बलियो बनौंला तर पार्टी हाँक्ने हैसियत र ताकतमा पुग्न सकिएन, प्रशासन सबै ओलीको हातमा भयो’, प्रचण्डले बैठकमा भनेको उदृत गर्दै स्रोतले भन्यो,‘न पार्टी फुटाएर अरुसँग मिल्ने अवस्था छ, न सरकारमा तत्काल जाने अवस्था भयो ।’

ओलीले एक छत्र पार्टी र सरकार चलाएका कारण शक्तिहिन महशुस गरेका प्रचण्ड अहिले छटपटीमा छन् । राजनीतिक जीवनमा फस्र्ट म्यान भएको ३० बर्षपछि उनले सेकेन्डम्यान भएको व्यवाहार पनि खेपीरहनु परेको छ ।

तत्कालिन नेकपा माओवादी गठन गरी सशस्त्र युद्ध थालेपछि अहिले नेकपा एकीकरण नभएसम्म उनी पहिलो व्यक्तिको हैसियतमा नै कायम थिए । सवै चिजको अन्तिम निर्णय प्रचण्डले नै गर्दै आएका थिए ।

‘माओवादीले एमाले निल्छ भन्ने योजनामुताविक नै एकीकरण गर्ने भनी सहमति गरियो, त्यसका लागि प्रधानमन्त्री पहिला ओली नै बनुन् भन्ने भयो अहिले फेरि तनाव भयो’, खुमलटार स्रोतले प्रचण्डलाई उदृत गर्दै जनप्रहारसँग भन्यो,‘अघिल्लो कार्यकालमा जस्तै ओलीले धोका दिने भए ।’

ओलीको पहिलो प्रधानमन्त्रीत्व कार्यकालमा पनि ‘आलोपालो’ सरकारको नेतृत्व गर्ने सहमतिमा धोका भएको भन्दै नौ महिना नबित्दै प्रचण्डले समर्थन फिर्ता लिई आफैं प्रधानमन्त्री बनेका थिए । त्यसबेला ओली–प्रचण्ड सम्बन्ध केही चिसो देखिएको थियो ।

तर पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा हुँदा नै माओवादीको संसदमा उपस्थिति बलियो बनाउन ओलीलाई फकाएका थिए । जसले चुनावी तालमेल मात्र नभई पार्टी एकीकरणसम्म भयो ।

अहिले प्रचण्डलाई पार्टी मिसाउनुको ग्लानी भएजस्तो देखिएको स्रोहरूको दाबी छ । ‘डमरु बजाउने भन्दा अरु केही काम भएन, कहिले ओलीविरुद्ध बोलेर ढिकिच्याउँ खेले भन्दा के फरक भयो र’, उच्च स्रोतले भन्यो ।

पश्चिमा मुलुक र भारतीय संस्थापनले पनि हाल ओलीलाई नै बढी विश्वास गर्न थालेकोप्रति पनि प्रचण्ड सशंकित छन् । त्यसैले मदन भण्डारीको जन्मदिनमा गरिएको कार्यक्रममा त्यसप्रतिलक्षित गर्दै उनले भने,‘हामीले किन छानबिन गर्न सकेनौं, यस्तै भयो भने हामी पनि मारिन सक्छौं ।’

देउवालाई सुनाए गुनासो
जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने विषयमा विवाद कायमै रह्यो । ओलीसँग कुरा नमिलेपछि यहि साता उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । ललितपुर कुपन्डोलको समिट होटलमा प्रचण्डले देउवासँग दुईवटा गल्ती भएको बताएका थिए ।

पहिलो, तत्कालिन एमालेसँग पार्टी एकीकरण गरी माओवादी केन्द्रको तेस्रो दल बन्नुको फाइदामा चोट लागेको । अर्कोचाहिँ देउवाले एमालेविरुद्ध सरकार गठनका लागि ५ बर्ष लेखेर दिन्छु भन्दा पनि नमान्नु ।

‘स्थायी सरकार र विकासका लागि मैले एकीकरण गरेको थिएँ, अहिले सरकारको बद्नामीका कारण किन गरिएछ भन्ने भएको छ’, प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो ।

त्यसक्रममा देउवाले त पार्टी फूटाउन सके फूटाए हुन्छ भन्ने सल्लाह पनि दिए । त्यसो हुँदा, प्रधानमन्त्रीमा समर्थन गर्ने बचन पनि दिएका थिए । तर, संवैधानिक र नैतिक हिसाबमा नेकपा विभाजन गराउन प्रचण्डलाई गाह्रो छ ।

सचिवालयमा बहुमत भए पनि पार्टी विभाजन गर्दा आफैंलाई हानि हुन सक्ने प्रचण्डको विश्लेषण छ । अहिलेसम्म उनले स्थापित गरेको पार्टीबाट अन्य हाँगाविगा भएर गएको प्रसङ्ग अघि सार्दै देउवासँग भलाकुसारी गरेका प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो,‘चुनावपछि तपाईले गरेको प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको भए हुने रहेछ, अहिले आपत् आइलागेको छ ।’

एकातिर पार्टीभित्र अल्पमतले नेतृत्वमात्र होइन, सत्ता पनि चलाइरहेको प्रसङ्गलाई आफू निकटका नेतासामु राख्दै प्रचण्डले एमालेसँग एकता गरी कम्युनिस्ट केन्द्रको नेतृत्व र नेपालमा ठूलो कम्युनिस्ट पार्टीको सत्ता सञ्चालन गर्ने धेय दक्षिणपन्थीले भत्काएको बताएका थिए ।

ओलीको पेलाई
गृहमन्त्री रामबहादुर थापालाई हटाएर बर्षमान पुनलाई सो पदमा ल्याउन प्रचण्ड इच्छुक थिए । मन्त्रिपरिषद्को विहीबारको बैठकअघि प्रचण्डले उक्त प्रस्ताव पनि गरेका थिए ।  तर, ओलीको पेलाईको शिकार भए, प्रचण्ड ।

गठबन्धन सरकार भएको भए, ओलीले प्रचण्डको प्रस्ताव मान्नुको विकल्प हुने थिएन । एउटै पार्टी भइसकेका कारण त्यो प्रस्ताव अस्वीकार गर्नु ओलीका लागि नयाँ कुरा भएन । फेरि, थापा ओलीलाई सहयोग गर्ने बचनका आधारमा बद्नाम हुँदा पनि गृह मन्त्रालयको नेतृत्व सम्हालेर बसीरहेका छन् ।

ओलीसँगको वार्तामा सरकार वा अन्य विषयमा कुराकानी गर्ने प्रचण्डको मनसाय नै भत्कियो । जब, मन्त्रिमण्डल हेरफेरको कुरा अहिले नगरौं भन्ने प्रस्ताव ओलीले गरे । त्यसपछि पार्टी एकीकरण टुंगो लगाउने कुरामा सैद्धान्तिक विषय प्रवेश ग¥यो ।

पार्टीको राजनीतिक प्रतिवेदनमा सहमतिअनुसारै हुने ओलीले बताए । त्यसैका आधारमा नै प्रतिवेदन प्रकाशित हुने भन्दै ओलीले बाहिर पनि भनेका छन्,‘जनताको बहुदलीय जनवादको सिद्धान्तका आयाममा नै जनताको जनवाद बनेको हो, यो तत्कालिक हो । दिर्घकालिन होइन ।’

ओलीले प्रचण्डलाई पेल्ने मौका पाउनुचाहिँ नेता माधवकुमार नेपाललाई एक दिन अघि बोलाएर दिएको जवाफ थियो । सरकार परिवर्तन, आलोपालोको कुरा आए मध्यावधि चुनाव नै घोषणा गरिदिने चेतावनी पनि दिएका थिए । यो दबाबमा प्रचण्ड परेका छन् ।

भारतीयलगायतका विभिन्न मुलुकका एजेन्सीले नेपालमा खेल्न चाहेका बेला तत्काल त्यस्तो भए कम्युनिस्टको पत्ता साफ बनाउन सक्ने संत्रासमा प्रचण्ड छन् । त्यही संत्रासको बलमा ओलीले पेलिरहेका हुन् ।

विकल्प खोज्दै प्रचण्ड
नेता बामदेव गौतमले केही समयअघि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी फरक–फरक अध्यक्षले गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, त्यो प्रस्तावलाई सचिवालयमा अनुमोदन गराउन सकिएन ।

ओलीले यस्ता प्रस्तावको अहिले काम नभएको भन्दै एकीकरणका अन्य एजेन्डामा जानुपर्ने जवाफ दिएका थिए । उता ओलीलाई अध्यक्ष र प्रधानमन्त्री एकै हुनुपर्छ भनी हावा फुक्ने नेता पनि कम थिएनन् जसका कारण प्रचण्डको योजना नै विग्रियो ।

सत्ता र पार्टी दुवै नछाड्ने ओलीको अडानको विकल्पमा अझै  प्रचण्ड सक्रिय छन् । जसका लागि उनले नेपाल र झलनाथ खनालको साथ पाउने आश राखेका छन् । यो विषय आफूनिकट नेतासँगको बैठकमा प्रचण्डले भनेका पनि थिए, जनप्रहारमा उल्लेख छ ।

सोही बैठकका क्रममा पार्टीमा जिम्मेवारी, सिद्धान्त र बाँडफाँटको कुरामा पनि ओलीकै वर्चश्व कायम भएपछि आजित भएका उनले भने,‘कार्यकारी नेतृत्व नहुँदा त तनावै हुने रहेछ !’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!