रेन्बो ट्राउट मान्छाकालागि उपयुक्त स्थल हेलम्बु : मेलम्चीको पानी काठमाडौं लगेपछि के गर्ने भन्ने चिन्तामा व्यवसायी

- July 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
सिन्धुपाल्चोक । छेउमा बगीरहेको छ मेलम्ची खोला । लाङटाङ हिमालबाट उत्पन्न भएको पानीको मुलबाट अविरल बग्ने मेलम्ची खोलानजिकै लहलहैमा भर्खरै जुगाँका रेखी बसेका युवाबाट सुरु गरेको रेम्बो ट्राउट मान्छा पालन । रेडियो र एफएम अनि टेलिभिनजनमा पहिलो पटक सुनेका र हेरेका युवालाई पनि एकाएक रेम्बो ट्राउट माछा पाल्ने र बिक्री गर्ने सोच लिए । अनि जम्मा भएर त्यसको नेतृत्व गरेका थिए स्थानीय युवा दिपक लामिछानेले । स्थानीय सरस्वती माध्यामिक विद्यालयबाट एसएलसी पास गरेर बसेको समयमा उनीहरूले गाउमै केही व्यवसाय गरौ भन्ने उदेश्यले लागी परेकै बेला सो माछा पालन व्यवसाय गर्ने निर्णयमा सहमति जनाउदै अर्का युवा रणजीत कार्की समेत सहभागी भएर पहिलोे पटक ७ हजार भुरा र माछा पालन संरचना तयार गर्नमामात्र २५ लाख रूपैयाँ खर्च गरेर अहिले सो फार्मबाट खानयोग्य रेन्बो ट्राउटको सर्वसुलभ मूल्यमा आफैले माछा झिकेर लैजान सक्ने व्यवस्था मिलाएका छन् भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।
हेलम्बु गाँउपालिका वडा नं. ४ ग्याल्थुममा दीपक लामिछाने र रणजीत कार्कीसहितको टिमले २०६८ सालदेखि यो व्यवसाय सुरु गरेका हुन् । उनीसँगै सुरुमा ६ जनाको सयुक्त लगानीमा सो व्यवसाय गरेको भएपनि पछिल्लो समयमा दुईजनामात्र रहेका छन् । आफु सरहका युवायुवतीहरू विदेश गएको र उनीहरूले पाएको दःुख सुनेर आजित भएपछि विदेश नजाने बरु स्वदेशमै केही गर्ने भन्दै २ जना मिलेर यो व्यवसाय सुरु गरेको मेलम्ची रेन्बो ट्राउट माछा उत्पादन तथा कृषि केन्द्रका अध्यक्ष दीपक लामिछानेले बताए। उनले भने, ‘हामी विदेश नजाने बरु स्वदेशमै बसेर केही गर्ने सोचेर यो व्यवसाय सुरु गरेको, कृषिमा केही काम गर्नुपर्छ भनेर सल्लाह गरियो, अरुले गरेको भन्दा फरक काम गर्दा यो व्यवसाय उपयुक्त भएर सुरु गरेका हाँै ।’

युवा उद्यमी रणजीतसिंह कार्की

अहिले यो फार्ममा करिव २ लाखभन्दाबढी खानयोग्य माछा उत्पादन हुने गरेका छन् । माछा फार्मकालागि जग्गा भाडामा लिएर यो व्यवसाय गरेको उनले बताए । उनीहरूले उत्पादन गरेको माछा अहिले काठमाडौंको पाँचतारे होटल, रेष्टुरेन्टहरूले लिने गरेको छ । मागअनुसार माछा पु¥याउन कठिन भएको समेत अध्यक्ष लामिछानेले बताए । यहाँ अस्वस्थ्य प्रतिस्पर्धाकैकारण यो व्यवसायमा उपभोक्ताहरूको शंका उत्पन्न हुन थालेको गुनासो समेत उनले गरेका छन् । अन्य प्रजातिको माछा पाल्नुभन्दा यो जातको माछा पाल्न कठिन हुने रणजीत कार्कीले बताए। कार्कीका अनुसार यो माछा पालन गर्नेले भौतिक संरचनादेखि बगीरहने चिसो पानीको ज्ञान हुनु अति जरुरी भएको बातए । यो माछा अति संबेदनशील हुने भएकाले यो व्यवसाय कठिन समेत रहने उनको भनाई रहेका छ । उनको फार्मको माछा काठमाडौं, बनेपा र स्थानीय बजारमै बढी माग हुने गरेको बताएका छन् ।
सुरुमा नुवाकोटको ककनीमा मात्र यो जातको माछा पाइने क्षेत्रका रूपमा परिचय बनाएको भएपनि अहिले यो माछाको हवकै रूपमा सिन्धुपाल्चोको हेलम्बु हुन पुगेको समेत दाबी कार्कीको रहेको छ । हेलम्बु गाँउपालिकाभित्र रहेका ९ वटा फार्ममा भुरा बिक्री हुने गरेको छ । यो व्यवसायबाट आर्थिक अवस्था सुर्धान समेत टेवा पुगेको बताएका छन् । उनी भने नेपालमा पनि संभावनाको क्षेत्र पहिचान गरेर काम गर्ने हो भने यहाँ पनि राम्रो आम्दानी गर्न सक्ने अध्यक्ष लामिछानेले बताए । सुरुमा लहलहैमा ठूलो लगानी गरेर रेन्बो ट्राउट व्यवसाय सञ्चालन गरेकाहरू पछिल्लो समयमा भने निराश समेत हुन पुगेका छन् । कारण मेलम्ची खोलाको पानीलाई काठमाडौं लगेपछि सो व्यवसाय बन्द हुने प्रायःनिश्चित भएकाले व्यवसायीहरू आफ्नो लगानी ढुव्ने चिन्तामा परेको बताएका छन् । काठमाडौंमा मेलम्चीको पानी गएपछि जुन आवश्यक पानी नपुग्ने र भएको पानी पनि तातो हुने अबस्था रहेकाले सो व्यवसाय धरासायी हुने चिन्तामा रहेको कार्कीले बताए।

मेलम्ची रेन्बो ट्राउट माछा उत्पादन तथा कृषि केन्द्रका अध्यक्ष दीपक लामिछाने

हेलम्बु गाँउपालिमाभित्र सञ्चालनमा रहेका सो व्यवसाय मेलम्ची खोलाको पानीमा निर्भर रहेका छन् । नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरामा समेत यो व्यवसाय गर्न सकिने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिदै आएको छ । कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउट पालनका लागि सम्भाव्यता समेत अध्ययन गरेको थियो । ती जिल्लाहरूमा ‘एक गाउँ एक उत्पादन’ का रूपमा सो माछापालनलाई अगाडि बढाउने सोच बनाएको भएपनि अहिलेसम्म सो योजना भने सम्बन्धित निकायसमक्ष पुगेको भने छैन । कृषि अनुसन्धान परिषद् (नार्क) ले त मिसन रेन्बो ट्राउट अभियान नै सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको थियो । पछिल्ला दिनमा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, ललितपुर, बाग्लुङ, रसुवा, धादिङ, मकवानपुर, गोरखा, कास्की, मनाङ, मुस्ताङ, नुवाकोटलगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा रेन्बो ट्राउटपालन हुदै आएको छ । यस खालको माछा पालन व्यवसायमा सरकारी निकायबाटभने उचित सहयोग पाउन नसकेको गुनासो व्यवसायीहरूको रहेको छ ।
चिसो पानीमा मात्रै उत्पादन हुने भएकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश जिल्लामा सो प्रजातिका माछा पाल्न सकिन्छ । तातो पानीमा उत्पादन भएका भन्दा चिसो पानीमा उत्पादन भएको माछा बढी स्वस्थ्यकर मानिन्छ । यो माछा मुटु रोग लागेका बिरामीहरूका लागि अतिनै महत्वपूर्ण हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तीन वर्ष पहिले प्रतिकिलो एक हजार ३०० रूपैयाँमै बिक्री वितरण भएको सो माछा हाल अस्वस्थ प्रतिस्पर्धा र उत्पादन, वितरणमा भएको असमानताका कारण बजार भाउमा समेत एकरूपकता नभएको दुखेसो व्यवसायीहरूको रहेको छ । नेपालका रेन्बो ट्राउट पालन सन् १९८९ बाट सुरु भएको हो । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहार स्वरूप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ बाट पहिलो पटक गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!