परराष्ट्रमन्त्री चीन प्रस्थान

- June 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।

उहाँले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुहुनेछ भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नुहुनेछ । डालियानमा रहँदा उहाँले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नुहुनेछ । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत हुनुहुन्छ ।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।  मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!