कुमार पौडेलको मृत्यु प्रकरण, निष्पक्ष छनवीन हुनुपर्छ

- June 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

शशिकुमार गिरी
गत असार ५ गते सर्लाहीमा एक व्यक्तिको प्रहरीको कारवाहीको क्रममा गोली लागि मृत्यु भयो । मृतक नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी प्रहरीको छ । तर प्रहरीको प्रतिवेदन प्रति सांसदहरु स्वयं सन्तुष्ट हुन सकेनन् ।

अन्य सामाजिक क्षेत्रहरुबाट पनि पौडेलको मृत्यु कारवाहीकै क्रममा भएको भनिएकोमा शंकाहरु व्यक्त भए र यसले केही विरोधको स्वरुप लिएको छ । सांसदहरुकै भनाईलाई मान्ने हो भने पनि पौडेलको हात ६—७ ठाउँमा भाँचिएको देखिए पछि मृत्यु कारवाहीमा नभई हत्या भएको हो । के यो साँच्चै मुठभेड थियो वा प्रहरीको एकतर्फी कारवाही ? प्रश्नहरु चुलिएका छन् । नागरिकको यसरी खुल्लेआम घटना घटाएर हत्या गरिनु गैर न्यायिक र अन्यायपूर्ण घटना नै हो ।

घटनाका विषयमा जे जस्ता क्रिया प्रतिक्रियाहरु बाहिर आएका छन्, जसको आधारमा भन्ने हो भने पनि यसलाई प्रहरीद्वारा गरिएको एकतर्फी घटना नै मान्न सकिन्छ । सवैको प्रश्न यही छ कि मुठभेड हो भने हात कसरी ६—७ ठाउँमा भाँचियो ? उनको मृत्यु गोली लागेर भएको देखिन्छ । यसले प्रहरी कारवाही र असार ५ गते सर्लाहीमा घटेको घटना अप्रत्यासित घटना मान्न सकिंदैन । जे होस घटना घटिसकेको छ, यसकारण यसको विषयमा सत्य तथ्य प्रतिवेदन सार्वजनिक हुनुपर्छ । एक स्वतत्त्र जाँच र छानवीन हुनुपर्छ ।

प्रशासनले यसरी एकतर्फी रुपमा आक्रमण गर्ने नीति अख्तियार गर्ने हो भने सार्वभौम अधिकार सम्पन्न भएको वर्तमान गणतन्त्र र संविधानको मौलिक हकको कुनै अर्थ रहने छैन । यस्ता घटनाले हामीलाई कहाँ पु¥याउँछ, राज्य आफ्ना नागरिक हरुप्रति कतिको जिम्मेवार हुन्छ र स्थापित संविधानले पनि नागरिक अधिकारहरुको संरक्षण र जनतालाई अधिकार सम्पन्न बनाउन अग्रसर छ, जनता अझै पनि प्रशासनबाट त्रसित नै हुनुपर्ने परिस्थितिबाट गुज्रनु पर्ने हो भने संविधान मार्फत् स्थापना भएको र नागरिकहरुले प्राप्त गरेको अधिकारको कुनै अर्थ छ त भन्ने प्रश्नहरु अनुत्तरित रहनेछन् । यसकारण सर्लाही घटनाको निष्पक्ष छानवीन गरेर सत्य तथ्य प्रतिवेदन जनतासामु ल्याइनु पर्छ र सरकार अझ नागरिकहरुको अधिकार प्रति संवेदनशील हुनु आवश्यक छ । गिरी अधिवक्ता हुनुहन्छ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!