गोकर्णेश्वर नगरका जनप्रतिनिधि धर्म परिवर्तन गर्ने संस्थाका सहयोगी

- June 23, 2019 मा प्रकाशित

रोशन कार्की, काठमाडौं, काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं १ मा कार्यालय रहेको विजेता पर्या समाज नामक संस्थाले गर्दै आएको काला कर्तुतमा सो नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको भेटिएको छ ।

उक्त समाजको नाममा ठगी, अवैध रुपमा डलरको कारोबार, वैदेशिक रकम अपचलनदेखि धर्म परिवर्तनसम्मको अवैध क्रियाकलाप गर्दै आएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेपछि सो अवैध धन्दाबाट बच्ने उद्देश्यका साथ सोही नगरपालिकाका वडा अध्यक्षलाई साथमा लिएर काला कर्तुत अगाडि बढाएको पाइएको छ ।

सो संस्थाका बद्रीप्रसाद खनालले गोकर्णेश्वर नगरपालिका वडा नंं. १ का अध्यक्ष राम मानन्धरलगायत अन्य केही पदाधिकारीलाई प्रभावमा पारेको रहस्य सोही वडाका स्थानीय बासिन्दाले बताएका छन् ।

सो वडाका स्थानीय बासिन्दाले भने, ‘यहाँहरुले लेख्न सक्नुहुन्छ कि हुँदैन, बद्रीले खोलेको अवैध संस्थाबाट यस वडाका अध्यक्षले नाजायज फाइदा लिएकै कारण उनले सो संस्थाबारे अनुसन्धान गर्ने काम समेत गरेका छैनन् ।’

समाजको अध्यक्ष समेत रहेका खनालले सामाजिक सञ्जाल फेसबुकमा राखेको तस्बिरमा वडा अध्यक्ष मानन्धर, वडासदस्य राजेन्द्र रोक्का, समाजको कार्यसमिति सदस्य भनी राष्ट्रिय सूचना आयोगमा पेस गरेको पत्रमा उल्लेख भएअनुसारका सदस्य सम्झन पोखरेललगायत समूहलाई लमजुङको घलेगाउँ लगी प्रभावमा पारेको रहस्य खुलेको हो ।

यससम्बन्धी तस्बिर कार्यसमिति सदस्य पोखरेलले अध्यक्ष खनाललगायतलाई ट्याग गरी सामाजिक सञ्जालमा २ मे २०१९ मा हालेको देखिन्छ । विशेषगरी रोक्का वडा सदस्य रहेको नगरपालिकाले प्रकाशन गरेको पुस्तकबाट प्रष्ट भएको छ । कर्माचार्य थरका मानिसको परिचय के हो भन्नेबारे केही खुल्नसकेको छैन ।

जनताको सेवा गर्न पाँच वर्षका लागि निर्वाचित भएका जनप्रतिनिधि कसरी समाजमा फट्याइँ गर्नेबाट प्रभावित हुन्छन् भनी यो घटनाले प्रमाणित गरेको छ । अध्यक्ष मानन्धर खनालकै खर्चमा सो भ्रमणमा गएको नगरपालिका स्रोतले जनाएको छ ।

सो सम्बन्धमा पटक–पटक सो वडा कार्यालयसंग सूचना माग्दा अहिलेसम्म दिएको छैन । वडा अध्यक्ष मानन्धरलाई प्रभावमा पारिएको सम्बन्धमा सत्यतथ्य बुझ्न पटक–पटक मानन्धरलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् भने उता विभिन्न आरोप लागेका खनालको फोनमा सम्पर्क र म्यासेज पठाउँदा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।

खनालले अवैध रुपमा चलाइएको होमस्टे र विदेशी डलर भित्र्याउने गलत बाटो बनाइएको सो संस्थाको आधिकारिका उद्देश्य समेत खुल्नसकेको छैन । उनले होमस्टेका नाममा त्यहाँ बस्न आउने विदेशी भने मिसनरी चर्चका अभियानकर्मीलाई राख्दै आएका छन् भने भूकम्पबाट पीडित भएकाको बच्चालाई पढाउने भन्दै बच्चा समेत जम्मा गरेका कारण उनको संस्थाको मुख्य उद्देश्य समेत खुल्न नसकेको हो ।

स्थानीय बासिन्दाका अनुसार खनालको मुख्य काम बालबालिका, विपन्न र रोग लागेका मानिसका माध्यमबाट प्रवेश गराई धर्मान्तरण गराउनु रहेको बताएका छन् । प्राप्त पछिल्लो सूचनाअनुुसार खनालले ‘मिसनरी चर्च’ नाममा धर्म परिवर्तन गराउँदै आएको पाइएको छ ।

मिसनरी चर्चले प्रतिवेदनका आधारमा त्यहाँ धर्मान्तरणका लागि सबै स्रोत र साधन उपलब्ध गराएको उल्लेख छ । गोकर्णेश्वर नगरपालिका वडा नं१ स्थित बिपी चोकमुनिको रुप्सेटार भन्ने स्थानबाट सोही गतिविधि हुँदै आएको छ । यसमा संलग्न रहेका घरका मालिक बद्री खनाल नाम गरेका व्यक्तिको परिवार र नातागोताको समूहबाट सो धर्मपरिवर्तन गराउँदै आएको पाइएको छ ।

सोही क्रिश्चियन धर्मकै प्रचारप्रसार गर्नका लागि खनालले भूकम्पपीडितको नाममा सहयोग गर्ने भन्दै केही वर्षअघि उनले विजेता एकता कम्युनिटी नाम सामाजिक संस्था खोलेको बताइएको छ । सो संस्थाको कार्यालय आफ्नै घरमा राखेका छन् । उनले संस्थाको महासचिव पवन भण्डारी रहेको बताउँदै आएका छन् ।

अरु पदाधिकारी एवम् सदस्यको नाम उनले कतै खुलाएका छैनन् । यसअघि खनाल शान्ति सेवा गृहको कार्यसमितिमा हुँदा भण्डारी पत्नी अर्थात् उनकी कान्छी बहिनी पूजा भनिने सरस्वती खनाल भण्डारीलाई जागिर लगाएका थिए ।

खनाललगायत समूहले अपांगका नाममा आएको करोडौँ रुपैयाँ अपचलन गरेपछि सरस्वती लगायत आफन्त पनि त्यहाँबाट निकालिएपछि उनले सो संस्था खोलेको स्रोतको दाबी रहेको छ ।

शान्ति सेवा गृहबाट त्यसबेला निकालिएका कर्मचारी अहिले पनि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् । बद्रीले गृहको कार्यसमितिमा हुँदा एक दर्जन आफन्तलाई जागिर खुवाएका थिए ।

सुरुमा संस्थाको बोर्ड घरमा राखेका उनले भूकम्पपीडितका नाममा करोडौं डलरको खेती गर्न थालेपछि बोर्ड हटाएको स्थानीयबासिन्दाको भनाइ रहेको छ । खनालले चलाएको संस्था दर्ता नभएको, होमस्टे भने दर्ताको प्रक्रियामा रहेको वडा अध्यक्ष राम मानन्धरले यसअघि बताएका थिए ।

सो समाजको नामबाट अन्य धर्म मान्नेहरुलाई विभिन्न किसिमका प्रलोभन देखाएर क्रिश्चियन धर्मावलम्बी बन्न प्रेरित गरिरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

सो समाजका अध्यक्ष खनाल नाम गरेका व्यक्तिले विभिन्न प्रलोभन देखाई विपन्न समुदायहरुमा रहेको कमजोरीको फाइदा उठाउँदै र भूकम्पबाट क्षति पुगेका परिवारलाई झुक्याउँदै धर्म परिवर्तन गराउने कार्य गर्दै आएको स्थानीय बासिन्दाहरुको भनाइ छ ।

नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यको दफा २६ उपदफा ३ मा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउनहुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने भनिएको छ ।

भूकम्पपीडित र बच्चाका नाममा अवैध धन्दा गर्दै आएका खनालले गलत बाटोबाट कमाएको पैसाका आडमा स्थानीयवासीमाथि समेत थिचोमिचो गर्ने गरेका गुनासो छिमेकीहरुको रहेको छ । पहिल्यैदेखि उद्दण्ड स्वभावका खनाल त्यस क्षेत्रमा आतंक नै मच्चाएर बसेको दुःखेसो टोलबासीको रहेको छ ।

स्थानीय निकाय हुँदैदेखि साविकको नयाँपाटी गाविसको बजेटमा समेत अनियमितता गर्न पल्केका खनालले खानेपानी योजना र सडकका नाममा समेत बजेट हिनामिना गरी कालोसूचीमा परेका व्यक्ति हुन् ।

यिनलाई उपभोक्ता समितिको अध्यक्ष बनाई बजेट बाँडेर खाने नयाँपाटी गाविसका तत्कालीन सचिव रामेश्वर धिमाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत तानिएका थिए । धिमालले अख्तियारमा समेत सेटिङ मिलाएर फुत्कन सफल भएकाले त्यसबेला यो घटना सार्वजनिक हुन सकेको थिएन । (आर्थिक दैनिकबाट)

Facebook Comments

प्रतिक्रिया