कर्मचारीले प्रधानमन्त्रीलाई चुनौती दिए !

- June 23, 2019 मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भनिरहेको बेला उनकै रेखदेखमा पर्ने राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली विजक तयार एवं बिक्री गरी एक समूहले करिब तीन अर्ब राजस्व छलेको बताएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमी बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको विभागले जनाएको छ ।

उनीहरुविरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला हदालतमा गत बिहीबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरुले विनोद धमला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजस्व छलेको अनुसन्धानमा खुलेको समाचारमा जनाइएको छ ।

उक्त फर्मबाट भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरिद बिक्रीको कारोबार नै नगरी झूठा बिजक बनाएर राजस्व चुहावट गरेको खुल्न आएको विभागको भनाइ छ ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरिद बिक्री नगरी झूठा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।

राजस्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोग ललितराज कन्दङ्वा र गौरी मैनालीले राजस्व चुहावटमा सहयोग गरेको तथा लेखा परिक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपालले गलत लेखा परिक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी विभागले गरेको छ,  छलफलमा उल्लेख छ ।

सो घटनामा विभागले चार महिना अघिबाट अनुसन्धान थालेको थियो । यसअघि विभागले ८१ मुद्दामा १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २ सय ३८ जनाविरुद्ध विभिन्न अदालतमा मुद्दा दाय गरेको छ ।

Facebook Comments

प्रतिक्रिया