‘ओम……’ अस्पताल हो कि वधशाला ?

- June 23, 2019 मा प्रकाशित

रोशन कार्की
भनिन्छ, बिरामीलाई अस्पताल लगेर उपचार गरेको खण्डमा जति नै जटिल बिरामी भए पनि निको हुन्छ भन्ने आम मान्यतालाई पछिल्लो समय सो मान्यतामा अविश्वास उत्पन्न भएको छ । सेवामूलक संस्थाको रुपमा दर्ता भई सञ्चालनमा रहेका अस्पतालका सञ्चालकद्वारा सेवाभन्दा पनि व्यापारका रुपमा लिई उपचारका लागि पुगेका बिरामीमाथि हेलचेक्राइँ गर्दा धेरै जनाको अकालमा निधन हुन पुगेको छ । हालैको घटनाअनुसार ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक बिरामीको मृत्यु भयो । मृतकका आफन्तका अनुसार पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएपछि सो अस्पतालमा किन दोहोरी रहन्छ बिरामीको मृत्यु । अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेकै कारण उपचारमा रहेकी बिरामीले ज्यान गुमाउनु परेको छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएकी थापा कहिल्यै नउठ्ने र कहिल्यै रोग नै नलाग्ने गरी अप्रेशन गरेछन् डा. रविन कोइरालाले । कोइराला डाक्टर सावले गरेको अप्रेशनबाट अन्य समयमा अप्रेशन गर्नुपर्ने बिरामीहरुको समेत होस उडेको छ । कतै रामप्यारी झंै बनाउने त हैन ? रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन डा. कोइरालाले गरेका थिए । उनले अप्रेशन गरेपछि आराम गर्न भन्दै भर्ना भएकी थापा गत बिहीबार मृतक घोषणा गरेको थियो अस्पतालले । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् तर उनी कहिल्यै नहिँड्ने गरी डा. कोइरालाले अप्रेशन गरेका कारण ३÷४ दिन अस्पताल तनावग्रस्त बन्न पुग्यो । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर सङ्क्रमण फैलिएर बिरामीको मृत्यु भएको थियो । अस्पतालले पैसाकै लागि ‘निको हुँदैछ भनेर राखे पनि गत बिहीबार बिहान सात बजे मृत्यु भयो भनेपछि सो क्षेत्रमा तनाव सुरु भयो ।
अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याँकिएको डा. कोइरालाले बिरामीको आफन्तलाई जानकारी दिएका थिए । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखिको थियो । दिनको ६० हजार रुपैयाँसम्म औषधि र दैनिक महँगो बेड चार्ज तिरेर उपचार गरेको भए पनि अस्पतालकै डाक्टरको लापरबाहीकै कारण रामप्यारीको निधन भएको प्रस्ट हुन पुगेको छ । रामप्यारीको उपचारको क्रममा चार लाख रुपैयाँभन्दा बढी खर्च भएको आफन्तले बताए । अप्रेशनपछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको भए पनि एकाएक निधन भएको भन्नु अस्पतालका डाक्टरहरुको लापरबाही भएको आफन्तहरुको दाबी छ । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुका साथै कारबाही हुनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
यसैगरी सोही अस्पतालमा यसअघि पनि धादिङ बूढाथुमकी सुस्मा अधिकारी सामान्य खुट्टा सुन्निने समस्या लिएर २०७३ साउनमा राजधानीको चाबहिलस्थित ओम अस्पताल पुगेकी थिइन् । अस्पतालका डाक्टरले खुट्टाको सिटी स्क्यान गर्न भने पछि उनी काउन्टरमा पैसा बुझाएर सिटि स्क्यान गर्ने कोठामा गइन् । त्यहाँ उनलाई सिटी स्क्यान गर्नका लागि लगाइने सुई लगाइदिएको थियो । केही छिनपछि उनलाई असजिलो भयो र एकैछिनमा मृत्यु भयो । डा. अमरनाथ महतो उनको उपचारमा संलग्न थिए । ‘सिटी स्क्यान गरेको बिरामीको मृत्यु कसरी भयो ?’ भनेर आफन्तले स्पस्टीकरण माग गरे । तर अस्पतालले चित्त बुझ्दो जवाफ दिनै सकेन । आन्दोलन उत्कर्षमा पुगेपछि अस्पताल पीडित पक्षसँग सम्झौता गर्न बाध्य भयो । मृतकका बालबच्चाको अध्ययनका लागि २१ लाख ५० हजार नगद र अस्पताल कर्मचारी सरह ८० प्रतिशत उपचारमा छुट दिने गरी सहमतिमा सो घटनालाई समाधान ग¥यो अस्पताल प्रशासनले ।
एकपछि अर्को घटना सो अस्पलतालमा हँुदै गयो । मृत्यु भएमा पैसा दिने र समस्या समाधान गर्दै आएको सो अस्पतालमा उपचारको क्रममा निधन हुनलाई सामान्य मान्दै आएको छ अस्पताल प्रशासन । संखुवासभा चैनपुरकी ५२ वर्षीया टंककुमारी न्यौपाने क्षेत्री महिनावारी भएको बेला अत्यधिक रक्तश्राप हुने समस्या लिएर अस्पताल पुगेकी थिइन् । डाक्टर भोला रिजाल निकै नाम चलेका र भरपर्दा डाक्टरको रुपमा चिनिदै आएका छन् । डाक्टर रिजालको नाम लिएर ओम अस्पतालमा प्रजननसम्बन्धी समस्या लिएर नजाने महिलाको संख्या ठूलो रहेको छ । टंककुमारी पनि त्यस्तै समस्या लिएर उपचारका लागि ओम अस्पताल पुगेकी थिइन् ।
तर उपचारका क्रममा उनको पनि ज्यान गयो । अस्पतालका सिसासमेत फुटाइयो । आन्दोलन नियन्त्रणभन्दा बाहिर जान थालेपछि अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा ग¥यो । सो अस्पतालको लापरबाही यतिमै रोकिएको छैन । २०७४ साउनमा गोर्खा आरुघाट स्थायी घर भई काठमाडौंको चाबहिलमा व्यापार गरी बस्ने ५५ वर्षीया नन्दकुमारी लामिछानेको पनि उपचारकै क्रममा ओम अस्पतालमा मृत्यु भयो । नन्दकुमारी पित्तथैलीमा भएको पत्थरी निकाल्न ओम अस्पताल पुगेकी थिइन्् । उनको पनि शल्यक्रियाको क्रममा मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले चरम लापरबाही गरेको मृतकका आफन्तले आरोप लगाए । मृतकका आफन्तले कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अस्पताल परिसर तनावग्रस्त भयो । यो घटनालाई पनि पैसा दिएर मिलाइएको थियो । २०७४ भदौमा नाकको हड्डी सोझ्याउन आएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको अपरेशनका क्रममा ज्यान गयो । सामान्य शल्यक्रियाका क्रममा आफ्नो बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र डाक्टरले लापरबाही गरेको आरोप लगाए । डाक्टर राजेन्द्र गुरागार्इंले कमलाको अप्रेशन गरेका थिए । अप्रेशन सामान्य भए पनि अचानक उनमा संक्रमण फैलिएर उनको मृत्यु भएको डा. गुरागार्इंको दाबी थियो । तर डाक्टरको जवाफ चित्त बुझ्दो नभएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिए । आन्दोलनका कारण केही दिनसम्म अस्पताल परिसर तनावग्रस्त रह्यो । पटक–पटक बिरामीको मृत्यु भइरहने र अस्पतालले क्षतिपूर्ति दिइरहनुपर्ने एक खालको नियम जस्तै बनेको थियो सो अस्पतालमा । यो घटनापश्चात् ओम अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको निगारी बढ्यो । अस्पतालले पटक पटक लापरबाही गरेको निष्कर्ष निकाली स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन समेत गरेको थियो ।
उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएको खण्डमा अस्पतालले नै क्षतिपूर्ति बेहोर्ने स्वास्थ्य मन्त्रालयले निर्णय सुनायो । यो निर्णयपश्चात् बिरामीले केही राहत महसुस गरे । पटक–पटक आफ्नै अस्पतालमा बिरामीको मृत्यु हुने र आन्दोलनका कारण अन्य उपचारमा अवरोध सिर्जना भई अस्पताल नै धराशायी हुने अवस्थाबाट मुक्त हुनका लागि पनि अस्पतालले निर्णयमा सही गरेको थियो । तर उपचारकै क्रममा बिरामीको मृत्यु हुने क्रम भने रोकिएको छैन । सरकार र अस्पतालबीच सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्ष नपुग्दै उपचारका लागि अस्पताल आएकी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० स्थायी घर भएकी ५० वर्षीया रामप्यारी थापाले ज्यान गुमाउन पुगेकी छन् । बिरामीको मृत्युपश्चात् तनावग्रस्त बनेको अस्पतालमा तैनाथ प्रहरी र आन्दोलनकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो । आफन्तले अस्पतालमा तोडफोड गर्न सुरु गरेपछि जेठ ३१ गते प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले अस्पतालमा तोडफोड र नाराबाजी गर्नेमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार ग¥यो । प्रहरी र मृतकका आफन्तबीचमा भएको झडपका कारण ४ प्रहरीसहित ५ जना घाइते भए । यसरी उपचार गर्न हिँडेर पुगेको बिरामीको उपचारपछि निधन भएको जानकारी गराउने ओम अस्पताल होकी वधशाला हो भन्ने दुविधामा जनात परेका छन् । जो अप्रेशनका लागि ओम अस्पताल पुग्छन् उसको निधन प्रायः निश्चित हुने गरेको छ । जहाँ वधशालामा बगरेले पशुलाई काटेझैं भएको छ ओम अस्पताल ।
यसअघि पनि डाक्टरको लापरबाहीबाट सोही अस्पतालमा सामान्य अवस्थाका दर्जनौं बिरामीको मृत्यु भएपछि अस्पतालले करोडौं रुपैयाँ क्षतिपूर्तिमा खर्चेको छ । निरन्तर आलोचित बन्दै गएको ओम अस्पताल बिरामीको कम रोजाइअन्तर्गत पर्ने अस्पताल बनेको छ । पछिल्लो घटनाले पुनः अस्पताल प्रतिको मोह घटाएको आम सर्वसाधारणको भनाइ छ । तर अस्पतालमा पूर्ण तालिम प्राप्त डाक्टरहरु भएको र अस्पतालले कुनै कमजोरी नगरेको दाबी अस्पतालका प्रशासकीय अधिकृत अजय शर्माको रहेको छ ।
ताप्लेजुङ सिनामकी २८ वर्षीया शोभा थेबे लिम्बुको सुत्केरी व्यथा लागेपछि उनलाई चार दिन अगाडि ओम अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भयो । ओम अस्पतालका अध्यक्ष डा. भोला रिजालले रक्तनलीमा रगत जमेको र उपचारको क्रममा लिम्बूको मृत्यु भएको बताए । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो ।
पछिल्ला केही समययता चिकित्सा क्षेत्रमा देखिएका समस्याहरू, जस्तैः चिकित्सक र बिरामीबीचको असहज सम्बन्ध, उपचारका क्रममा हुने गरेका गल्ती, त्रुटि वा लापरबाही, चिकित्सा क्षेत्रमा देखिएको व्यापारीकरणजस्ता विषयले अलिक बढी चर्चा पाउन थालेका छन् । स्वास्थ्यकर्मी अझ विशेष गरी चिकित्सकको लापरबाही वा त्रुटिका कारण बिरामीले पर्याप्त सेवा, सुविधा पाउन नसकेको, रोग निको हुन नसकेकोदेखि लिएर ज्यानै गएका घटनाहरू बग्रेल्ती सुनिएका छन्।
चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो । स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । यसर्थ, स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरू सेवा, संवेदना र मानवीय भावनाले युक्त हुनुपर्दछ । मानवीय र सेवामुखी भावना यस क्षेत्रमा कार्य गर्न चाहने वा कार्य गरिरहेका स्वास्थ्यकर्मीमा हुनुपर्ने पहिलो र अनिवार्य शर्तका रूपमा लिइनुपर्छ । तर अपसोच ! कतिपय चिकित्सक र स्वास्थ्य संस्थाका सञ्चालकमा सेवाभन्दा व्यापारमुखी भावना बढी भएका कारण स्वास्थ्य क्षेत्र नै सेवामुखी भन्दा व्यापारमुखी हुन पुगेकै कारण यो समस्याले उग्ररुप लिँदै आएको पाइएको छ ।
यसैगरी स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक पर्ने प्रमाणपत्र (लाइसेन्स) विना प्राइभेट अस्पताल, नर्सिङ होम सञ्चालन गर्ने, लाइसेन्स विनाका नक्कली चिकित्सकहरूद्वारा उपचार गर्ने गरेको घटनाहरू पनि हुने गरेका छन् । निजी अस्पतालहरूमा बिरामीको अवस्था सामान्य हुँदाहुँदै पनि विभिन्न थरिका अनावश्यक परीक्षण गर्न लगाएर बिरामीको टाउकामाथि झनै आर्थिक बोझ थपिदिने र सो परीक्षण गर्न सिफारिस गरेबापत चिकित्सकले कमिसन लिने गरेकोसमेत सुनिएको छ । अझ यतिसम्म कि शल्यक्रिया गर्नै नपर्ने सामान्य औषधिले ठिक हुने बिरामीलाई समेत आर्थिक प्रलोभनमा परी शल्यक्रिया गर्ने गैरजिम्मेवार व्यवहारसमेत देखिएको छ । हामीकहाँ आर्थिक रूपमा विपन्न तथा दुर्गम स्थानका मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित रहेको अवस्था छ। सामान्य रूघाखोकी, ज्वरो, टाइफाइड, झाडापखालाको औषधिसमेत नपाएर सयौंको ज्यान गएको घटनाको साक्षी हामी छौँ । ग्रामीण भेगमा गरिबी र स्वास्थ्य सेवाको पहुँच नभएका कारण असाध्य खतरनाक रोगका कारण वर्षौंदेखि असह्य पीडा बोकी कारूणिक जीवन गुजारी रहन पर्नेहरूको संख्या उल्लेख्य छ । चिकित्सकले बिरामीसँग गर्ने बोलीवचन, व्यवहार बिरामी र चिकित्सकबीचको सम्बन्धको मुख्य आयाम हो। चिकित्सकले गर्ने मिठो बोलीवचन र राम्रो व्यवहारले बिरामीमा धेरै सकारात्मक प्रभाव पार्दछ, आत्मबल जागृत हुन्छ, सकारात्मक सोचाइ आई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन जान्छ । तर हामीकहाँ यस्ता कुराहरूमा चिकित्सकले त्यति ध्यान दिएको पाइँदैन। चिकित्सकले बिरामीको रोगको बारेमा विस्तृत जानकारी लिने, धैर्यपूर्वक बिरामीको कुरा सुन्ने अनि समय दिएर रोगको बारेमा परीक्षण गर्ने प्रवृत्ति धेरै नै कम छ ।
बिरामीबाट रोगसम्बन्धी पूर्ण जानकारी नलिई हतार हतारमा परीक्षण गर्ने र ठम्याइका आधारमाभन्दा अनुमानका आधारमा औषधि सिफारिस गरिदिने प्रवृत्ति रहेको पाइन्छ । हाम्रो गलत सामाजिक संस्कारका कारण पनि हुनसक्छ कि एउटा व्यक्ति चिकित्सक हुने बित्तिकै समाजका अन्य सामान्य व्यक्तिभन्दा तथाकथित उच्च, जानेबुझेको व्यक्ति हुँ भन्ने भावनाले ग्रस्त हुन्छ । जसले गर्दा उक्त चिकित्सक बिरामीबाट बढी सम्मान र आदरको अपेक्षा गर्छ तर आफूले बिरामीलाई सोहीअनुसार सम्मान र माया दर्साउनुपर्छ भन्ने कुरामा त्यति हेक्का राख्दैन । गल्ती, कमीकमजोरी र त्रुटि मानवीय स्वभाव हो । त्यसकारण स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तिहरूबाट पनि कहिलेकाहीँ गल्ती हुन सक्छ । तथापि स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा सानो गल्तीका कारण ठूलो दुर्घटना हुन सक्छ भन्ने कुरा हृदयङ्गम नगरी उच्च सतर्कताविना गरिएको कामले निम्त्याएको दुर्घटना क्षम्य हुन सक्दैन । बिरामीलाई गलत औषधि दिने, एक ठाउँको शल्यक्रिया गर्नुपर्नेमा अर्को ठाउँको गर्ने, दिन नहुने वा नपर्ने इन्जेक्सन दिने, शल्यक्रिया गर्नुनपर्ने बिरामीलाई शल्यक्रिया गर्ने, शल्यक्रिया गरिएको ठाउँमा भएका शल्यक्रिया गर्न प्रयोग गरिएका उपकरण राम्रोसँग नझिकी घाउ सिलाइदिनेजस्ता लापरबाहीका कारण बिरामीको स्वास्थ्यमा प्रतिकूल असर परी मृत्युसम्म भएका घटनाहरू धेरै छन् ।
यसरी स्वास्थ्यकर्मीमा देखिएको लापरबाहीका कारण रोग निवारणको अन्तिम विकल्पका रूपमा रहेको स्वास्थ्य संस्थाहरूमा जाँदा बिरामीले आफ्नो रोगको उपचार राम्रोसँग हुन्छ भनेर निश्चिन्त हुने अवस्था छैन। स्वास्थ्य मानिसको जन्मसिद्ध अधिकार हो । कल्याणकारी व्यवस्था भएका मुलुकहरूः जस्तै स्वीडेन, फिनल्याण्ड, डेनमार्क, नर्वेजस्ता मुलुकहरूमा प्रत्येक नागरिकको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको हुन्छ । जनताप्रति उत्तरदायी सरकार, जनप्रतिनिधि र राज्य निर्माण हुन नसकेको हाम्रो परिवेशमा राज्यबाट सबै अपेक्षा गर्नु निरर्थक हुन जान्छ । यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाहरूले जनता र राष्ट्रको सेवामा अझै सशक्त ढंगले समर्पित हुन संस्थागत सामाजिक दायित्वको जिम्मेवारी बहन गर्नु आवश्यक छ । यसका लागि अत्यन्त गरिब, असहाय र उपचार गर्ने हैसियत नभएका बिरामीलाई उपचारमा विशेष छुट वा निःशुल्क गरिदिने व्यस्था मिलाउनुपर्छ । निजी स्वास्थ्य संस्थाहरू जस्तै क्लिनिक, नर्सिङ्ग होम आदिको उपचार तथा परीक्षण शुल्क अत्यन्त महँगो भएको, सेवाभन्दा व्यापारमुखी भएको भन्ने जनगुनासाका सन्दर्भमा यस्ता संस्थाहरूले उपचार शुल्क सस्तो र सर्वसुलभ बनाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्छ । यसर्थ बिरामीको दुःख, पीडा र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा पेसामा संलग्न चिकित्सक मानवीय संवेदना र करूणाले युक्त हुनैपर्छ । चिकित्साजस्तो कल्याणकारी पेसामा रहेर मानव सेवाभन्दा पैसामात्र कमाउने, सुख सुविधामात्र खोज्ने आकाङ्क्षा राख्ने हो भने त्यस्ता चिकित्सकबाट बिरामीले उचित सेवा र गुणस्तरीय उपचार प्राप्त गर्न सक्दैनन्। यसरी सेवामूलक संस्थामा व्यापारीकरणमा परिवर्तन भइसकेकै कारण उपचार गर्न पुगेका अधिकांश बिरामीहरुको निधन हँुदै आएको छ । सो विषयमा सरकारले बेलैमा अनुसन्धान नगरे यो घटनाले उग्ररुप लिने निश्चित देखिन्छ । जय होस् । (साभार :जनमन्च साप्ताहिक)

Facebook Comments

प्रतिक्रिया