यस्तो आयो साप्ताहिक राशिफल : असार ८ गते आइतवारदेखि १४ गते शनिवारसम्मको

- June 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस हप्ता खगोलमा शुक्र १२ गतेसम्म वृष राशिमा त्यसपछि मिथुनमा । सूर्य र राहु मिथुन राशिमा । बुध कर्कटराशिमा । मङ्गल ९ गतेसम्म मिथुनमा त्यसपछि कर्कट राशिमा । बृहस्पति वृश्चिकमा । शनि र केतु धनु राशिमा । चन्द्रमाले यस हप्ता कुम्भ राशिदेखि वृष राशिसम्मको यात्रा गर्नेछन् ।

मेषः साता पूर्वार्धको तुलनामा उत्तरार्ध बढी उपलब्धिमूलक रहनेछ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता मिल्ला जस्तो हुने तर अबरोध सृजना हुनेछ । आशा भरोसा तथा आश्वासन पूरा नहुँदा बाहिर ठिकै देखिइएर भित्र चिन्ता पाल्नुपर्ने हुनेछ । रपनि दैनिकी सामान्य कार्य चलिरहने छ ।

मंगल र बुधवार खर्चको मात्रा पनि बढेर जाने गोचरयोग परेको छ । घरायसी सरसमान खरिद गर्ने, मान्यजनको दर्शनभेट् आदि जस्ता कार्यमा खर्च गरेर खर्चयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । मालसमान हराउने सम्भावना पनि छ चनाखो हुनुहोला ।

जनव्यवहारमा धैर्यधारण गर्नु तथा संयम अप्नाउनु उपयुक्त हुनेछ । विहीवारबाट समय अनुकूल रहने बन्नेछ । स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । चाहेको जस्तो वातावरण बन्ने छ, उपहार आदि प्राप्त हुनसक्ने छ भने सत्कार पनि मिल्ने छ । कामकार्यमा सफलता पनि मिल्ने छ । यो साता तपाईले भगवान हनुमान, गुरुगणपति र माँ बगलामुखीको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

वृषः साता सामान्य अनुकूल रहने देखिएको छ । शुरुमा व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा विशेष सफलता मिल्ने छ । राजनीति तथा सांगठानिक कार्यमा पदीय भूमिका र जागिर आदिमा जिम्मेवारी बढ्नसक्ने छ । उच्चवर्ग तथा व्यक्तित्त्वसँग संपर्क एवं संबन्ध जोडिने छ ।

कामकार्य आदिमा भरोसा एवं आश्वासन प्राप्त हुनेछ । स्वकर्मलाई समय दिएर अवसरको लाभ उठाउनु तपाईको लागि बुद्धिमानी हुनेछ । मंगलवार पछिको समय भने अल्लि आशा अपेक्षा ठूलो हुने तर उपलब्धि सोँचे मुताविक नहुने खालको गोचर ग्रहको योग छ । बढी चाहना गरेको काममा अबरोध सृजना हुनेछ । उद्योगधन्दा आदिबाट पनि अल्प लाभमा चित्त बुझाउनु पर्ने छ । बिहीवारदेखि थप विपरित महसूस हुनसक्ने छ ।

आकस्मिक रुपमा खर्च बढ्ने छ । कामकार्य एवं स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव देखिने छ । ग्रहगोचरको संभावित दुस्प्रभावलाई मध्यनजर गरी संयम एवं धैर्यता गर्नु बुद्धिमानी हुनेछ । शनिवार मध्याह्नतिरबाट स्थितिमा सुधार आउने छ । यो साता तपाईले भगवान सूर्यनारायणको साथमा महावीर हनुमान एवं भैरवदेवको भक्ति स्तुति तथा उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः विभिन्न कठिनाईको बाबजुत पनि यो साता तपाईले विशेष कार्य सम्पादन गर्नसक्नु हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । केही अपयश एवं दबाबको बाबजुत धैर्यताले सफाइ पाइने छ । धार्मिक एवं सामाजिक कामकार्य सम्पादन गर्नसकिने छ । परोपकार आदि कार्यमा संलग्न भइ पुण्यार्जन गर्नसकिने छ ।

तरपनि अपयशको भने संभावना छ ख्याल गर्नुहोला । मंगलवारबाट काम कार्यमा अग्रता मिल्ने छ । मानसम्मान मिल्ने छ । अवसरलाई व्यवहारिक ढङ्गले सदुपयोग गर्न जाने विशेष कार्यमा समझदारी गराउन सकिने छ । राजनीति, जागिर तथा समाज सेवा आदिमा उपलब्धि मिल्ने छ ।

साताको अन्त्यखण्डमा व्यवसायिक प्रगति हुने र उचित आम्दानी गर्नसकिने छ । जसले गर्दा आर्थिक भारलाई थेग्न राहत मिल्ने छ । साथसहयोग र पेशागत प्रतिष्ठा पनि बढ्ने छ । शनिवार भने गोचरग्रह केही प्रतिकूल रहेकोले सावधानी अप्नाउन पर्ने देखिएको छ । यो साता तपाईले भगवान सूर्यनारायण, महावीर हनुमान, गुरुगणपति र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधना गर्दै अघि बढ्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः  साता शूरुमा केही संघर्ष एवं स्वास्थ्यमा मन्दताको संभावना भएपनि समग्रमा अनुकूल देखिएको छ । आइत र सोमवार कार्यक्षेत्रमा सामान्य संघर्षको महसूसी हुनेछ । खर्च पनि बढेर जानेछ । तनाब र डरले मनमा डेरा जमाउनसक्ने छ । रपनि आकस्मिक लाभ भने हुने नै छ । खानपान एवं आत्मसंयम गर्न भने जरुरी देखिन्छ । मंगलवारदेखि गोचरग्रहको स्थितिमा सुधार आउने छ ।

अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । मानसम्मान मिल्नेछ, उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ ।

मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा जिम्मेवारी तथा भूमिका मिल्ने छ । कृषि फार्मिङ्ग, उद्योग धन्दा आदिबाट उचित मुनाफा निकाल्न सकिने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिएर उपलब्धि लिनु बुद्धिमानी हुनेछ । तपाईलाई यो साता गुरु गणपति, भगवान सूर्यनारायण, भगवान लक्ष्मीनारायण र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः  साताको शुरु र अन्तिम खण्ड उपलब्धिमूलक रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा सफलता पाउन सकिने छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । विपरित लिङ्गीको साथ मिल्ने छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवारबाट भने स्वास्थ्यमा मन्दि आउनसक्ने छ ।

दीर्घरोगीले आहारविहार आदिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा अबरोध आउनाले संघर्षको अनुभूति हुनेछ । चोटपटक आदिको भय पनि देखिएकोले यात्रादिमा सावधानी अप्नाउनु उचित हुनेछ । बिहीवारबाट स्थिति सहज हुनेछ ।

सामान्य अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । प्रतिष्ठा बढ्ने एवं सामाजिक प्रभुत्व स्थापित हुनेछ । तपाईले यो साता भगवान महावीर हनुमान, गुरुगणपति, भगवान लक्ष्मीनारायण र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः साता मिश्रित रहेको छ । शुरुका दिनमा शरीरिक आरोग्यता मिल्ने छ । अनुहारमा कान्ति बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने छ । व्यवसायिक उन्नति एवं लाभ मिल्ने छ । विपक्षिका विरुद्ध खरो उत्रन सकिने छ । विरोधीहरुले पनि प्रशंसा गर्ने छन् । मंगल र बुधवार रङ्गरास बढ्ने छ । रमाइलो यात्रा हुने संभावना छ ।

प्रेम तथा दाम्पत्य सम्बन्ध प्रगाढ बन्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । बिहीवारबाट भने स्वास्थ्यमा समस्या देखिनसक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु उचित हुनेछ भने अन्यले पनि आहार विहार आदिमा ख्याल पुर्याउनु मनासिव हुनेछ ।

कुनै अनर्थताको सम्भावनालाई गोचरग्रहले लक्षित गरिरहको छ, कामकार्य एवं जनव्यवहार आदि पनि सावधानी अप्नाएको राम्रो हुनेछ । शनिवार केही सुधार आउने छ । यो साता तपाईले भगवान गुरु गणपति, महावीर हनुमान तथा माँ जगदम्बा महाकालीको स्तुति भक्ति उपाशना गर्नु शुफप्रद हुनेछ । 

तुलाः साता सामान्य अनुकूल देखिएको छ । शुरका दिनमा आत्मप्रसंशाको चाहनाले अल्लि सताउनसक्ने छ । परपाउनाको स्वागत गर्न पाइने छ । गोपनीयता खुस्कनसक्ने संभावना पनि भएकोले आवश्यक संयमताको जरुरी देखिन्छ । लामो समयसम्म टाढा रहेको स्वजनसँग भेट्घाट हुनसक्ने छ भने शुभ खबर मिलने छ ।

कामकार्यमा पनि प्रगति हुनेछ । मंगलवारबाट शारीरिक उमङ्ग बढ्नेछ, विपक्षिलाई सम्झौतामा ल्याउन सकिने छ । लौकिक पुरुषार्थ गर्नसकिने छ । व्यवसायिक लाभ मिल्नेछ । विशेष काममा सफलता मिल्नसक्ने गोचर भएकोले महत्त्वपूर्ण काममा समय दिनु बुद्धिमानी हुनेछ ।

शुक्र र शनिवार केही मतान्तर एवं अबरोधको बाबजुत प्रेम एवं दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । विवाहयोग्य युवायुवतिको विवाहको प्रसङ्ग चल्नसक्ने संभावना छ । भ्रमणको पनि संयोग जुट्नसक्ने छ ।  व्यापार व्यवसायबाट लाभ मिल्ने छ । मानसम्मान एवं पदप्रतिष्ठा बढ्नेछ । शनिवार मध्यह्नबाट स्वास्थ्य बिग्रनसक्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण र गुरुगणपतिको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः साता फलदायी रहने छ । शुरुका दिनमा बढी चाहना गरेको काम नबने पनि खासै वास्ता नगरिएको काम बन्नसक्ने छ । आकस्मिक लाभ हातपर्ने छ । क्रमशः स्थितिमा सुधार आउने छ । सहकर्मीसँग विचारविभेदको भने भय देखिएको छ । सावधानी अप्नाउँदै अघि बढ्नु उचित हुनेछ ।

आत्मप्रशंसाको आसक्तिलाई संयम गर्नसकेको खण्डमा जनव्यवहारमा प्रभाव बढेर जानेछ । गोपनीयता खुस्कन नदिन संयम अप्नाउनु होला । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन कर्मीहरुको लागि लाभ एवं सफलताकर उपयुक्त समय रहने छ ।

बिहीवार पछि व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने छ । यात्रा योजना तयार हुनेछ । प्रेमक्षेत्रले सार्थकता प्राप्त गर्नेछ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ बगलामुखीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ । 

धनुः साता अनुकूल देखिएको छ । कामकार्यमा कुशलता र पौरख बढ्ने छ । शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्नसकिने छ । व्यवसायिक उन्नति हुनेछ । रोकिएर रहेका कामलाई अगाडि बढाउन सकिने छ । समर्थक बढ्ने छन् ।

मंगलवार पछि अल्लि चनाखो हुने र बुद्धिले कामलिने गर्नुपर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने सम्भावना पनि देखिन्छ । र, पनि आकस्मिक रुपमा काम बन्ने तथा मद्दत गर्नेहरु भेटिने छन् । अप्रत्यासित उपलब्धि हुनेछ ।

शुक्र र शनिवार समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीलाई ज्ञानविज्ञान तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । आत्मप्रशंसाको महत्त्वाकांक्षा भने संयम गर्नु बुद्धिमानी हुनेछ ।

कसै कसैलाई सन्तानको कारण चिन्तित् हुनपर्ने छ । व्यवसायिक उन्नति हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव एवं गुरु गणपति र भगवान सूर्यनारायणको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः साता मध्यम रहने छ । शुरुमा धनधातु तथा संचित कोषको अपव्यय नहोला भन्नसकिन्न । बोलीव्यवहारमा पनि सावधानी अप्नाउनु पर्ने देखिन्छ अन्यथा पछुतोमा पर्नसकिने भय छ । सामाजिक तथा परोपकारजन्य कार्यमा सहभागी हुन पाइने छ । मंगलवारबाट शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढ्ने छ ।

कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट लाभ मिल्ने छ । लौकिक पुरुषार्थ गर्नसकिने छ । साथ सहयोग तथा समर्थन पनि जुट्ने छ । बिहीवारबाट केही पारिवारिक समस्या थपिनसक्ने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न ।

वादविवादको सम्भावना पनि भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु होला । यो साता तपाईले भगवान पवनपुत्र महावीर हनुमान, गुरु गाणपति एवं भगवान श्रीहरि, माँ इन्द्रायणी र भैरवदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः साता सुधारोन्मुख देखिन्छ । शुरुका दिन सामान्य रहने छन् । बढी चाहना गरेको काममा अबरोध आउनसक्ने छ । रपनि मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । सामाजिक प्रतिष्ठा र मानसम्मान मिल्ने छ । लगानीको प्रस्ताव आउनसक्ने छ । मंगलवार पछि बोलीव्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

धनसंपत्तिको अपव्ययको पनि सम्भावना छ ख्याल गर्नुहोला । सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । तर मुल्यांकनमा कमि आउने छ । बिहीवारबाट शारीरिक पराक्रम बढेर आउने छ । विशेष काकमकार्यमा सफलता मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रता हासिल गर्नसकिने छ ।

प्रतिष्ठा तथा प्रख्याति बढेर जानेछ । साथसहयोग तथा समर्थन पनि मिल्ने छ । समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, भैरवदेव र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति गर्नाले अशुभफललाई कम गर्न र शुभफल बढाउन मद्दत मिल्नेछ । 

मीनः साता मध्यम छ । शुरुका दिनमा अल्लि सावधानी अप्नाउनु पर्ने देखिएको छ । केही खर्च बढ्नसक्ने ग्रहगोचर परेको छ । रपनि व्यवसाय तथा कामकार्यबाट आकस्मिक लाभ एवं उपलब्धि पनि मिल्ने छ । मङ्गलवारबाट वातावरणीय एवं परिवेशजन्य स्थितिमा सुधार आउने छ ।

सामान्यतया व्यवसायिक उन्नति हुनेछ । रपनि बढी चाहना गरिएको काममा भने अबरोध आउने छ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति भने बढ्ने छ । स्वागतसत्कार पनि मिल्ने छ । लगानीको प्रस्ताव आउनसक्ने छ । बिहीवार पछि बोलीव्यवहारमा अल्लि सावधानी अप्नाउनु पर्ला ।

वाकवृति हुनेहरुले विशेष ख्याल गर्नु पर्ने देखिन्छ । नाता सम्बन्धको विषयमा पनि गुनासो सुन्नपर्ने छ । सामाजिक कार्य तथा परोपकारमा समय दिनपर्ने संभावना छ । केही व्यवसायिक लाभ पनि हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव, गुरु गाणपति एवं भगवान सूर्यनारायणको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!