यसरी हुन्छ दोहा (कतार) बाट अबैधरुपमा सुन तस्कर—-

44

सुन लिएर फर्किंदै हुनुहुन्छ कि रित्तै ?

प्रल्हाद रिजाल

दोहा (कतार), असार ४
रातको ११ बजिसकेको थियो । कतार भ्रमणबाट फर्किने क्रममा हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहामा प्रवेश गरियो । सँगै फर्किने दुुई साथीहरु दिपक अधिकारी र नविन अर्याल बाहिर अरु कसैलाई पर्खिँदै थिए । म अघिअघि लम्किँदै थिए । विमानस्थलको गेटबाट भित्र पसेपछि यत्रतत्र यात्रुुहरु कतै बसेका, कतै उभिएर गफ गरिरहेका थिए । बस्ने सिट खाली थिएन । सँगै फर्किने साथीहरु बाहिरै अल्झिएकोले म जहाँको त्यहाँ नै खडा रहेँ । एक्कासि म चारतिरबाट घेरिएँ । मलाई आफू घेरिएको थाहा पनि थिएन ।

एउटाले सोध्यो— तपाईँ खाली हो ? म अकमकिएँ । कस्तो खाली ? ‘तपाइँ रित्तै फर्किने हो ?’, उसले सोध्यो । मैले भनेँ, ‘यो सुटकेस छ ।’ उसले जवाफ फर्कायो, ‘त्यसो भनेको होइन । तपाईँले बाला लगाउनुभएको छ ?’ मैले भनेँ, ‘छैन ।’ उसले फेरि भन्यो, ‘त्यसो भए हामीसँग बाला छ, त्यो लगाएर जानुुहोस् ।’ यही क्रममा वार्ता अगाडि बढ्दै गयो । मसँग मुुख फोरेर कुरा गर्ने मानिसका सहयोगी तीनतिर उभिएका थिए । उनीहरु पनि मलाई फकाउन थाले । त्यहीक्रममा रामजी र बिनेश खनाल पनि त्यहाँ जोडिइसकेका थिए तर दीपक र नविनजी आएका थिएनन् । यसो सोचेँ, ‘उनीहरुलाई बोलाउन जान्छुु र बाहिरबाट नै स्टिङ अपरेसनको तयारी गरेर आउँछुु ।’ बाहिर गएँ । नवीनजी कसैलाई कुुर्दै हुुनुुहुुँदो रहेछ । उहाँहरुलाई यो कुरा भनेर तयारीसाथ आफू अघिअघि लागेर दीपकजीलाई भित्र ल्याएँ । त्यतिबेला रामजीले पनि भिडियो खिच्न थालिसकेका थिए । दीपकजीले खिचेको उनीहरुले थाहै पाएनन् । बाला लैजाऊ भन्ने समूहमा वरिपरि चार जना थिए । अर्को घेरामा चार जना थिए । भित्री घेराका चार जनामध्ये एक जना धादिङ गजुुरीबाट चितवन बसाइ गएका तामाङ थिए । अर्का एकजना मगर थिए, अनि अर्को एकजना मधेशी थिए र अर्को मान्छे को हो उसको परिचय खुुलेन भन्दै आर्थिक दैनिकमा समाचार प्रकाशन भएको छ ।  ।

उनीहरु आफ्नो परिचय खुुलाउन चाहँदैनथे । तरपनि उनीहरुसँग भएको सम्पूर्ण कुराकानी हाम्रो क्यामरामा कैद भइसकेको थियो । हाम्रो क्यामरामा मात्र होईन, उनीहरुको सुन तस्करीको धन्दा र परिचय नेपालको प्रहरी प्रशासनले थाहा नपाएको पक्कै होईन, थाहा नभएको जस्तो बहाना गरेको मात्र हो । सरकारले जे—जस्तो सेटिङ गरेर आफै धन्दा गराओस वा रोकोस, हामीसंग भएको कुराकानी लुुकाउन सकिएन । त्यो कुराकानीले के स्पष्ट पार्दछ भने राज्य व्यवस्थाको आड भरोसामा खुुलमखुल्ला सुुनको तस्करी हुने गरेको रहेछ । त्यहाँ भएको सुन तस्करीको कुराकानीलाई संक्षिप्तरुपमा यहाँ प्रस्तुुत गरिएको छ ।

कतारको दोहाबाट विभिन्न एयरलाइन्स हुँदै काठमाडौं फर्किनेहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्दै छन् । विमानस्थलभित्र पुगेपछि बोर्डिङ पास बनाउने लाइनको ठीक सामुन्ने करिब आधा दर्जन नेपाली युवाको एक समूह देखिन्छ । उनीहरू स्वदेश फर्किन लागेका हरेकजसो नेपालीसँग सोधखोज गरिरहेका देखिन्छन् ।

खासमा उनीहरूको सोधीखोजी ‘सुन ओसारपसार’सँग जोडिएको रहेछ । बोर्डिङपास लिन लाइन बस्ने क्रममा उनीहरूमध्येका एक नजिकै आएर भने, ‘सुन लिएर फर्किँदै हुनुहुन्छ कि रित्तै ?’ ३३ किलो सुन काण्ड, गोरे प्रकरण, क्विन्टलका क्विन्टल सुन तस्करीजस्ता समाचार पढ्दा–पढ्दा अभ्यस्त भइसके पनि विमानस्थलभित्र अपरिचित व्यक्तिबाट आएको यस्तो जिज्ञासा अनपेक्षित नै थियो । ‘सुन बोकिएको छैन’ भन्ने जवाफ दिन नभ्याउँदै ती व्यक्तिले भने, ‘एकछिन यता आउनुस् न !’ किन ? तिनले अर्को प्रश्नको पनि उत्तिकै चाँडै उत्तर दिए, ‘फाइदा हुने कुरा छ । हाम्रो सुन काठमाडौं लगिदिनुस्, पैसा दिन्छौँ, काठमाडौंमा खान, बस्न र घरसम्म पुग्न टिकटको पनि व्यवस्था गरिदिन्छौँ ।’
‘तपाईंहरू कति जना हुनुहुन्छ ? कति सुन लैजानुपर्ने हो ?’ नेपालीहरूसँग कुराकानी गरिरहेका अरु युवालाई देखाउँदै उनले भने, ‘५/६ जना छौँ । सरकारले तोकेको ५० ग्राम सुन लैजाने हो ।’ उनले यति भनिसकेपछि विमानस्थलभित्रै पसेर सुन ओसारपसारमा संलग्न उनीहरूबारे थप जानकारी हासिल गर्ने सोचसहित ‘हुन्छ, कुराकानी गरौँ । चित्तबुझे लगौँला’ भन्दै लाइनबाट हटियो ।

पहिलो चरणमा उनीहरूसँग उभिएरै कुराकानी भयो । त्यतिञ्जेलसम्मा उनीहरूले थाहा नपाउने गरी मोबाइलमा भिडियो रेकर्ड सुरु भइसकेको थियो । अन्दाजी ३०/३२ वर्षका देखिने ती युवाले आफ्नो नाम ‘विश्वास लामा’ बताए । घर चितवनको रत्ननगर नगरपालिका बकुलर चोकदेखि माथि जानुपर्ने बताउँदै उनले नयाँ बस्तीमा रहेको जानकारी दिए । धादिङको गजुरीबाट ६/७ वर्षअघि चितवन बसाइ सरेको उनको भनाइ थियो ।

ऊ – यदि तपाईंहरुसँग सुनको बाला छैन भने हाम्रो लिएर जानुहोस् । बकाइदा तपाईंको नाममा बिल बनाइदिन्छौँ । लुकाउनु, छुपाउनुपर्दैन । 
– त्यसरी लैजाँदा पुलिसले समाउँदैन ?

– समायो भने देखाइदिने । छैन होइन, मसँग छ । मैले किनेर ल्याएको हो भन्ने । एयरपोर्टबाहिर पुगेपछि हाम्रो मान्छेलाई मोबाइल फोन सम्पर्क गरेर बुझाइदिने । पैसा पाइन्छ । हाम्रै मान्छेको होटलमा जानुहुन्छ भने पहिला होटल जानुस् । कोठा लिनुस् । फ्रेस हुनुस् । अनि फोन गर्नुस् ।
– तपाईंहरूको होटल कहाँ छ ?

– गौशाला रातोपुलमा छ । होटलको नाम ‘जनक होटल’ हो । धेरै पहिले स्थापना भएको होटल हो । तर, मोडिफाइड छ, सुविधासम्पन्न छ, राम्रो छ । तपाईंहरूलाई खान बस्नको सुविधा हुन्छ । एक रात बस्न पनि फ्रि गरिदिन्छु । 
– कतिवटा बाला लैजानुपर्ने ?

– तपाईंहरू जति जना हुनुहुन्छ । सबैले एउटा एउटा लैजानुस् । त्योभन्दा बढी लैजाँदा अप्ठ्यारो हुन्छ । एउटा बाला ५० ग्रामको छ । ५० ग्राम सुन लैजान सरकारले नै फ्रि गरेको छ । ५० ग्राम सुन बोकेर जाने यात्रुलाई एयरपोर्टमा पक्राउ गर्दैन । ढुक्कले लैजानुस् । तपाईंलाई पनि आम्दानी हुन्छ, हामीलाई पनि हुन्छ । 
– हामीले लैजाने सुन लिन को आउँछ ?

– हामी फोन नम्बर दिन्छौँ । एयरपोर्ट पुगेपछि त्यसमा फोन गर्नुस्, तपाईंहरूले जहाँ भन्यो, त्यहीँ लिन आउँछ । धेरै समय लाग्दैन । कुरी राख्नुपर्दैन । 
– काठमाडौंमा रिसिभ गर्नेले हामीलाई कसरी चिन्छ नि ?

– हामी तपाईंको फोन नम्बर, पासपोर्टको फोटो र तपाईंको फोटो खिचेर पठाउँछौँ । 
– तपाईंहरू जसलाई पनि सुनको बाला पठाउनुहुन्छ ?

– दोहाबाट काठमाडौं जाने सयमध्ये ९० जनाले लिएरै गएको हुन्छ । विशेषगरी कामदारका रूपमा आउनेहरूलाई हामी पठाउँछौँ । तपाईंहरूजस्तो प्रोफेसनल मान्छे पाउनु हाम्रो लागि पनि भाग्यको कुरा हो । 
– सुन कहाँ किनेको भन्ने प्रमाण खोजी हुँदैन ?

– बालासँगै हामी बिल पनि दिन्छौँ । 
– बिलमा हाम्रो नाम कसरी हुन्छ ?

– बिलमा सबै कुरा भरेको हुन्छ । नाम खाली राखेको हुन्छ । कुरा मिलिसकेपछि हामी यहीँ तपाईंहरूको नाम बिलमा भर्छौं र बिल दिन्छौँ । 
– त्यसो भए नक्कली बिल होला ?

– होइन, सक्कली बिल हो । नाम मात्र भरेको हुँदैन । पसलबाट छाप लगाएरै ल्याएको बिल हो ।
– बिल कहाँ छ, देखाउन सक्नुहुन्छ ?

ऊ – (सुनको बाला राखिएको प्लाष्टिकको सानो प्याकेटबाट बिल निकालेर देखाउँदै) बिल यही हो । नाम खाली छ । अरु सबै भरेको छ । खाली ठाउँमा लैजाने मान्छेको नाम लेख्ने हो । 
म – एउटै सुनपसलको बिल सबैले देखाउँदा शंका गर्दैन ?

ऊ – गर्दैन । एउटै पसलबाट ल्याएको भन्न मिल्छ । सबैले किनेर ल्याएको हो भन्नुपर्छ । हामीले धेरै जनालाई पठाइसकेका छौँ । अहिलेसम्म कसैलाई पक्रेको छैन । 
म – सबैले लैजान्छन् भन्नुहुन्छ । विमानभरि एउटै पसलका बिल देखियो भने ?

ऊ – हामीसँग फरक–फरक बिल छ । सबैलाई एउटै बिल दिँदैनौँ । तपाईंहरूलाई फरक–फरक बिल दिउँला नि !
म – कति जनाले लगे अहिलेसम्म ?

ऊ – गनेको छैन । हामीले धेरैलाई पठाइसक्यौँ । नडराउनुस्, केही हुँदैन । 
म – तपाईंहरूले ५० ग्राम मात्रै पठाउने हो कि धेरै धेरै पनि पठाउनुहुन्छ ?

ऊ – लैजान त २५ तोला पनि पाइन्छ । तर, भन्सार तिर्नुपर्छ । त्यसमा फाइदा हुँदैन । ५० ग्राम लैजाँदा भन्सार तिर्नु नपर्ने हुनाले हामीलाई फाइदा हुन्छ । त्यसैले धेरै पठाउँदैनौँ । 
म – खाली जानुभन्दा लिएर जानुस्, पैसा पनि आउँछ भन्ने तपाईंको प्रस्ताव त ठीकै हो । तर, पक्राउ परिन्छ कि भन्ने डर लाग्छ ।

ऊ – डर मान्नुपर्दैन । केही हुँदैन । 
यही बीचमा के गर्ने भनेर हामी छलफल गर्छौं भनेर केही बेरका लागि हामी अलग्गियौँ । डिपार्चरभित्रै रहेको कुर्सीमा बसेर बोकेर जाने र लिन आउने मान्छेको पनि यसैगरी भिडियो बनाउने छलफल हुँदै थियो । उनी फेरि त्यहीँ आइपुगे । 
ऊ – नडराउनुस् केही हुँदैन । 
म – पक्राउ परियो भने हामीलाई हत्कडी लगाउँछ नि ?

ऊ – लुकाएर लैजाने होइन । हातमा लगाएर देखाएरै लैजाने हो । डराउनुपर्दैन । नेपाल सरकारले नै लैजान दिएको छ । तपाईंहरूले आफ्नै पैसाले किनेर ल्याएको हो मात्रै भन्नुप-यो । जसले सोधे पनि देखाइदिनुहोला । यो काम गैरकानुनी होइन । सरकारले नै ५० ग्राम लैजान दिएको छ । खाडीमा काम गर्न आउने मजदुरले ३२ इञ्चसम्मको टिभी लैजान पाउँछ नि, त्यस्तै हो यो पनि । ५० ग्रामसम्म लैजाँदा सरकारले केही गर्दैन । 
म – बिल नक्कली भन्छ कि भन्ने डर लाग्यो के ?

ऊ – कसैले बिल चेक नै गर्दैन । ५० ग्रामभन्दा बढी लैजाँदा मात्रै चेकजाँच हुने हो । चेक गरिहाल्यो भने तपाईंलाई भन्सार विभागमा लैजान्छ । त्यहाँ जोख्छ । हाम्रो सामान ५० ग्राम मात्रको छ । त्यसैले छाडिदिन्छ । बढी भए भन्सार तिराएर छाड्छ । 
यत्तिकैमा त्यही समूहका अर्का युवा पनि त्यहीँ आइपुगे । चितवन भरतपुर घर बनाउने उनले आफ्नो नाम सिर्जन थापा मगर भएको बताए । 
डर लाग्यो भनिरहेका हामीलाई उनी ढाडस दिँदै गए । 
म – तपाईंको मान्छे लिन आएन भने ?

ऊ – नआउने कुरै हुँदैन । एअरपोर्टमै आउँछ । त्यहाँ दिन मन लागेन भने तपाईंहरू जुन होटलमा बस्नु हुन्छ, त्यहीँ आएर रिसिभ गर्छ । हाम्रै होटलमा गएर बस्नुभयो भने झन् सजिलो हुन्छ । त्यहीँ लेनदेन हुन्छ । 
म – यसरी पठाइएको बाला काठमाडौंमा कहाँ बिक्री हुन्छ ?

ऊ – काठमाडौंमा हाम्रो सुन पसल छ । त्यहीँबाट गहना बनाएर बिक्री हुन्छ । 
म – तपाईंहरूलाई कति नाफा हुन्छ ?

ऊ – यसरी पठाउँदा भ्याट तिर्नुपर्दैन । कर तिर्नु नपर्ने हुनाले फाइदा हुन्छ । 
म – हामीलाई ६ हजार रुपैयाँ दिँदा तपाईंहरूलाई कति नाफा हुन्छ ?

ऊ – उस्तै उस्तै हो, भ्याट तिर्नु नपर्दा ६/७ हजार नाफा हुन्छ । हामीलाई पनि गाह्रो छ । त्यति नाफाको लागि ठूलो लगानी गर्नुपर्छ । ५० ग्रामको बालाको यहाँ ८ हजार ३० कतारी रियाल तिर्नुपर्छ । नेपाली रुपैयाँ झण्डै साढे दुई लाख रुपैयाँ लगानी हुन्छ । जोखिम पनि छ । तपाईंहरुले लैजानुभयो भने दुवैलाई फाइदा हुन्छ । 
बोर्डिङ पासका लागि ढिला हुँदै थियौँ । उनीहरूसँगको कुरा टुंग्याएर जान खोज्दै थियौँ । समूहका अर्का सदस्यले जोडले बोलाए ।
ऊ – कहाँ जान लाग्नुभा ! आउनुस् न ! गाउँले मान्छे भएर यसरी फ्याट्ट चिप्लिन मिल्छ । १ः१५ को फ्लाइट हो । अहिले १२ः१५ भयो । पछि गएपछि सरासर जान पनि पाइन्छ । आउनुस् । हतार भएको छैन । नडराइ लिएर जानुस्, तपाईंहरूलाई केही भयो भने म यो कामै छाडिदिन्छु । 
म – तपाईंले काम छाडेर के गर्नु ? हाम्रो त जिन्दगी जेलमा बित्छ नि ?

ऊ – तपाईंको जिन्दगी कसरी जेलमा बित्छ ? हामी छैनौँ ! 
म – तपाईंले छुटाउनुहुन्छ ?
ऊ – मेरो सामान लगिदिने तपाईं अनि मैले नछुटाए कसले छुटाउँछ ? ढुक्क हुनुस् केही हुँदैन । यदि लैजानुहुन्न भने पनि केही छैन । प्लेनभित्र पुगेपछि पछुताउनुहुन्छ । त्यहाँ अधिकांशका हातमा सुनका बाला देख्नुहुन्छ । तपाईंहरूले नलगे अरुले लैजान्छन् । हिजो हिमालय एयरको फ्लाइट भएन । हिजो रोकिएकाहरू अहिले होटलबाट हिँड्न लागेका छन् । अहिले राति २ः३० मा उनीहरूको फ्लाइट छ । कुरा भइसकेको छ । उनीहरूले पनि लैजान्छन् । नेपाल फर्किने अरु भाइहरू छन् । उनीहरूले लैजान्छन् ।

अन्तिममा उनले अरुबाट जोगिन सुझाव दिए । यतातिर, भित्रतिर जता पनि मान्छे हुन्छ । दुई किलो चकलेट नेपाल लगिदिनुस् भन्छ । एक किलो चकलेट हुन्छ, अर्को एककिलो सुन चकलेट जस्तो बनाएर राखेको हुन्छ । त्यस्तो काममा पर्नुभयो भने फस्नुहुन्छ । विचार गर्नुहोला ।
अन्तिमतिर उनले भनेका थिए, ‘प्लेनभित्र अधिकांशका हातमा सुनका बाला देख्नुहुन्छ । अधिकांशका हातमा त के थिए थाहा भएन, वैदेशिक रोजगारीबाट फर्किएका जस्ता देखिने दर्जनबढी युवाका हातमा पहेँला बाला झुलिरहेका थिए । 

Facebook Comments

LEAVE A REPLY