संसद् कार्यसूची प्रभावित

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन । 

सभामुख कृष्णबहादुर महराले आजको बैठकमा प्रधानमन्त्री ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । बैठकको प्रारम्भमै काँग्रेस सांसदले समसामयिक विषयमा पहिला विपक्षी नेताले बोल्न पाउनुपर्ने माग गर्दै उठेर विरोध जनाउनुभएको थियो ।

काँग्रसको विरोध जारी रहेकै समयमा प्रधानमन्त्री ओली वक्तव्य दिन रोष्ट्रम पुग्नुभएको थियो तर निरन्तरको विरोध र नाराबाजीपछि सभामुखले बैठक स्थगन भएको घोषणा गर्नुभयो ।  

आजको बैठकमा विनियोजन विधेयकमाथि जारी छलफलमा तीन मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि चार वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कायूसूची पनि प्रभावित भएको छ ।

आजको बैठकमा सांसद डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटमा रु एक कायम गर्नेदेखि रु  १०० सम्म घटाउनेसम्मका खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!