भ्रष्टाचारविरुद्ध सदाचारको समन्वय

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भ्रष्टाचार भयानक र घातक रोग हो । यसले समाजका विभिन्न क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको छ । भ्रष्टाचार भन्नाले भ्रष्ट आचरणलाई मानिन्छ ।

यस अन्तर्गत सदाचारको पतन, नैतिक पतन, अधिकारको दुरुपयोग, पदीय दायित्वको दुरुपयोग, कर्तव्यहीनता, अपारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको कमी, आर्थिक लेनदेन र घूस आदि पर्दछ । यसरी यसले पारेको असरबारे लोकतान्त्रिक नेपालमा जनचासो बढ्दै गएको छ ।

कक्षामा सामाजिक शिक्षा पढाउँदा विद्यार्थीहरू बढी उत्सुकता र कौतुहलताका साथ प्रश्न सोध्ने गर्छन् कि भ्रष्टाचार भनेको के हो ? यो कस्तो हुन्छ ? यो किन र कसरी हुन्छ ? यो कहाँ–कहाँ हुन सक्छ ?

यसले कसरी शान्ति बिथोल्छ ? भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? विद्यार्थीहरूको प्रश्नले पनि उनीहरूमा यो चासो रहेको प्रस्ट हुन्छ नै, भ्रष्टाचारले समाजको कति तल्लो तहसम्म जग हालिसकेको छ भन्ने पनि देखाउँछ ।

भ्रष्टाचार गर्नेहरूले मानसम्मान पाउनु, दण्डविहीन अवस्थाको लाभ लिनु जस्ता कुराले वर्तमानलाई चिन्तित तुल्याएको छ । भ्रष्टाचारीलाई दण्डित र नाङ्गो बनाउन सबैले चासो देखाउनुपर्छ ।

प्रत्येक नागरिकलाई यसतर्पm अभिप्रेरित गर्न राज्य सक्रिय हुनुपर्दछ किनभने प्रत्येक चेतनशील नागरिक, समाज, समुदाय र राष्ट्रबाट भ्रष्टाचार नियन्त्रण र उन्मूलन गर्ने अठोट र प्रतिबद्धताका साथ संलग्न हुनुपर्ने बेला आइसकेको छ ।

ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालको बर्सेनि प्रकाशित हुने प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको ठूलो सञ्जाल रहेको देखाउँछ । विश्वका १७५ वटा मुलुक समावेश भएको प्रतिवेदनमा नेपालको स्थान १२४ औं छ । 

भ्रष्टाचारको निदान सहज छैन तर यसलाई रहिरहन दियौं भने यसको व्यापक पैmलावटले मानवीय नातामाथि सबैभन्दा पहिले कुठाराघात गर्छ । त्यसपछि सिङ्गो देशमा नै शान्ति रहन दिंदैन । कुनै पनि एक पक्षको प्रयासले मात्र मौलाउँदै गएको भ्रष्टाचारको नियन्त्रण सम्भव पनि छैन ।

सरकारी र गैरसरकारी सङ्घसंस्था तथा नागरिक समाजको साझा प्रयास एवं एक पारस्परिक सहकार्यबाट मात्र भ्रष्टाचार न्यून गर्न सकिन्छ । अर्को अर्थमा भ्रष्टाचार तथा आर्थिक अनियमितता घटाउन सबै पक्षको सङ्गठित दबाब आवश्यक पर्छ ।

भ्रष्टाचारका दुई पाटा छन् – नैतिक भ्रष्टाचार र आर्थिक भ्रष्टाचार । यी दुवै अन्योन्याश्रित छन् । नैतिक भ्रष्टाचारमा सामाजिक व्यवस्थाका रीतिरिवाज र समाजको व्यावहारिक सम्बन्ध र मानवीय व्याख्या पर्दछ भने आर्थिक भ्रष्टाचारमा कानून, सामाजिक–आर्थिक अवस्था, काममा समान अवसर, योग्यतामा प्रतिस्पर्धा आदि पर्दछ ।

शारीरिक व्यायामका साथै मानसिक व्यायामको पनि जरूरत पर्दछ । मस्तिष्कमा रहेका फोहरमैला प्mयाक्ने उपाय सदाचारयुक्त नैतिक शिक्षाले नै प्रदान गर्न सक्दछ ।

यी भावनाहरूको जागरण बाल मस्तिष्कबाट नै शुरू गराउनुपर्दछ भन्ने धारणा लिएर विद्यालयस्तरीय भ्रष्टाचार विरोधी जन पैरवी एवं शिक्षणको खाँचो बढ्दै गएको छ ।

भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु, किनभने आजको बाल मस्तिष्कको विकास नै भोलिको राष्ट्र निर्माण हो । त्यसैले आजको बाल मस्तिष्कमा भ्रष्टाचारविरुद्ध र सदाचारका पक्षमा ज्ञान, सीप र धारणा स्पष्ट पार्न सकिए भोलिको नेपाल स्वच्छ हुन सक्छ ।

त्यसैले विद्यार्थीहरूबीच यस विषयमा गम्भीर छलफलको खाँचो छ । यो छलफल दुई स्तरमा गर्न सकिन्छ । एउटा सामाजिक शिक्षा शिक्षण गराउँदा र दोस्रो विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापको माध्यमबाट ।

विद्यार्थीहरूबाट समयको भ्रष्टाचार, सेवाको भ्रष्टाचार, नियमोल्लङ्घनबाट उत्पन्न अनियमितताका कारणले हुने भ्रष्टाचारसमेतको चर्चा गरेर उनीहरूको दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ । भ्रष्टाचारभित्र आर्थिक भ्रष्टाचार मात्र हुँदैन नैतिक पक्षबारे पनि विद्यार्थीलाई सजग बनाउनुपर्छ ।

यहींनिर अर्को कुरा पनि उठ्छ । के हाम्रो शिक्षाले भ्रष्ट हुन त सिकाइरहेको छैन ? किनभने विद्यार्थीहरूको बुझाइ र हेराइमा शिक्षित व्यक्तिहरू नै बढी भ्रष्ट हुन्छन् ।

यस्तै हामीले विद्यार्थीहरूलाई जसरी सिकाउनुपर्दथ्यो त्यसरी नसिकाएर वा सिकाउने तत्परताको कमीका कारण त कतै भ्रष्टाचार मौलाउँदै गएको छैन ? वास्तवमा आप्mनैभित्रको भ्रष्टाचार हेर्ने र देख्ने क्षमताको विकासले निश्चय पनि विकारको उपचार हुन सक्छ ।

भ्रष्टाचार स्वयंबाट पनि पहिचान हुने अवस्था सृजना हुनु दिगो समाधानको उपाय हो । यसै क्रममा प्रायः प्रश्न उठ्ने गर्छ, हामीले विद्यार्थीहरूलाई दाँत माझ्न र सफा भएर आउन सिकाएका छौं तर त्यो किन सम्भव भइरहेको छैन ?

कारण के भने ब्रश र मन्जन किन्ने क्षमता नहुनेलाई यसरी दाँत माझ्न सिकाउनु कतिको व्यावहारिक र उपयोगी हुन्छ ? अभिभावकको क्षमता अनुसार शिक्षा दिने कि समयको माग अनुसार । यसको निक्र्योल कसले र कहिले गर्ने भन्नेसमेत प्रश्न उठेको छ ।

हाम्रो समाजमा आँखा छलेर खराब काम गर्ने संस्कृति छ । मबाट पनि केही खराब काम भएको छ कि भनेर कसैले पनि आपूmतिर फर्केर हेर्दैन । त्यस्तै प्रवृत्तिलाई सबैले सच्याउँदै जाने हो भने समाज ‘भ्रष्ट’ होइन ‘प्रस्ट’ दिशामा अग्रसर हुन्छ ।

हाम्रो प्रयास भ्रष्टाचारीलाई सदाचारी बनाउनु नभएर अबको पुस्तालाई भ्रष्टाचारी नै बन्न नदिने हुनुपर्दछ । यी विद्यार्थीहरू नै भोलिको नूतन समाजका निर्माता भएकाले नयाँ बाटो खन्न हामीले उत्प्रेरणा जगाउनुपर्छ । विद्यार्थीहरूमा सदाचार विकासले अध्ययनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

विद्यार्थीहरू राष्ट्रका कर्णधार हुन् साथै भविष्यका निर्माता पनि । उनीहरूमा शारीरिक, मानसिक, मनोवैज्ञानिक, सांस्कृतिक एवं संवेगात्मक विकासका साथ सदाचारको समायोजन हुनु जरूरी छ । शिक्षामा सदाचारको जोड यस कारणले पनि बढी हुँदै गएको छ ।

एउटा भ्रष्टाचार विरोधी मानसिकता बोकेको पीढी तयार भयो भने त्यसले सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्नेमाथि कडा कानूनी प्रक्रिया, इमानदारलाई समाजमा इज्जत, आदर, प्रशंसा प्राप्त गराउन, भ्रष्टाचारका हाँगाबिंगा फिंजिए पनि त्यसको निवारणका लागि हाँगाबिगा छिमोल्नुभन्दा जरैदेखि उखेलेर फाल्ने प्रयास गर्दा ठूलो योगदान पुग्छ । त्यसैले एउटा उत्तरदायित्वपूर्ण पुस्ता विकसित गर्न विद्यालयदेखि नै विद्यार्थीहरूलाई प्रेरित गर्न भ्रष्टाचार र सदाचारको विषयमा प्रस्टता ल्याउनुपर्छ ।

विद्यार्थीहरूलाई बुझाउनुपर्ने अर्को पक्ष के हो भने भ्रष्टाचार किन बढिरहेको छ ? भ्रष्टाचार बढ्नुको कारण जनचेतनाको कमी, आर्थिक एवं सामाजिक न्यायको अभाव, समस्याप्रतिे गैरजवाफदेहिता, नातावाद, कृपावादको बाहुल्य, दलगत पक्षपातजस्ता एकथरी कारण छन् भने नैतिकताको ¥हास, राजनीतिक असहज वातावरण, सामन्ती सोच र संस्कारको प्रबलता, खर्चिलो निर्वाचनजस्ता अर्कोथरी कारण छ ।

सबैभन्दा ठूलो कारण त भ्रष्टाचार नियन्त्रणप्रति राजनीतिक तथा प्रशासनिक प्रतिबद्धताको अभाव नै हो । यी सब कारणहरूले गर्दा नै प्रशासनिक, राजनीतिक, न्यायिक ताथ आर्थिक सेवादेखि निजी क्षेत्रको सेवामा समेत भ्रष्टाचारी प्रवृति बढ्दै गएको छ । यसको व्यापकताले उत्पन्न जटिलता र सीमाहीनताका कारण सामाजिक मूल्य र मान्यताहरूको क्षय भइरहेको छ ।

सदाचार मानवीय व्यवहारसँग सम्बद्ध विषय हो । यसले साधारणतया समाजमा सत्कर्म गर्न, सबैले एक आपसमा सहयोग गर्ने र लिने, अध्यात्मिक अनुष्ठानका विधिविधान स्विकार्ने, योगसाधना, पूजाआजा र भजनकीर्तनमा संलग्न रहनु, परोपकारी र सामाजिक बन्धुत्व विकासमा क्रियाशील भइरहनुजस्ता अनुक्रियालाई बुझाउँदै आएको पाइन्छ ।

तर वर्तमान परिप्रेक्ष्यमा हामीले विद्यार्थीहरूलाई सामाजिक सदाचारको अवधारणा, त्यसको व्याख्या, विश्लेषण र अनुसरण गर्ने सवालमा व्यापक परिवर्तन गर्नुपर्छ ।

खास गरेर राजनीतिक, प्रशासनिक, न्यायिक क्षेत्रदेखि समाज सेवा तथा निजी क्षेत्र समेतलाई समेटिनुपर्दा यसको क्षेत्र व्यापक भएको तथ्य स्विकार्नु जरूरी छ भने यसै अनुसार सार्वजनिक सदाचारको विधि विधानको रेखाङ्कन र भ्रष्टाचारविरुद्ध सदाचार पद्धतिको विकास गर्नु आवश्यक छ ।

यस्तो आवश्यकतालाई दृष्टि प्रदान गर्दै भ्रष्टाचारविरुद्ध सदाचार पद्धति विकास र कुशासनविरुद्ध सुशासन बहालीका सन्दर्भमा व्यक्ति र समाजबीच अन्तर्सम्बन्ध र सार्वजनिक संस्थामा व्यक्तिको भूमिकातर्पm बहस चलाउनुका साथै व्यक्तिमा अन्तर्निहित इमानदारिता, कर्तव्यपालना र देशभक्तिजस्ता उच्च नैतिक मूल्यको समायोजनलाई निरन्तरता दिनु आवश्यक हुन्छ किनभने सदाचार पद्धतिको विकास र सुशासन बहालीमा व्यक्तिको सामाजिक व्यवहारसित सम्बद्ध शिक्षा र सीप अनुसारको योग्यता, दक्षता सहितको कुशलताले बढी महत्व राख्दछ ।

महत्व यस कारणले पनि राख्दछ कि व्यक्तिको विवेचनामा विश्लेषणात्मक एवं विभेदात्मक क्षमता, कार्यमुखी एवं परिणाममुखी सोच, कार्य सम्पादन गर्ने र उत्तरदायित्व वहन गर्ने दृढ इच्छाशक्ति कै कारण सदाचार र सुशासनका मामिलामा राम्रो परिणाम प्राप्त हुने स्थिति तयार हुँदैजान्छ भने नयाँ–नयाँ कार्यक्रमको कार्यान्वयन हुने वातावरण अनुकूल बनी रहन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!