प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य– मुख्यमन्त्री पोखरेल

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बुटवल, प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

उहाँले प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा रहे पनि प्रदेशका लागि अर्थतन्त्रको आकार जनसङ्ख्याको आकारका हिसाबले भने कमजोर रहेकाले प्रदेशका लागि यो चुनौतीका रूपमा रहेको स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारकोतर्फबाट आइतबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिकपछि बुटवलमा आज मन्त्रालयका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग मिलाएर प्रदेशलाई अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने हिसाबले बजेटको कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

उहाँले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षमा आठ प्रतिशतमाथि पु¥याउने गरी बजेट प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

उहाँले बजेट घाटामा नभएर स्रोत वृद्धि गर्ने सन्दर्भमा प्रदेश सरकार सफल भएको र सोहीअनुसार स्रोतमा आधारित भएर यथार्थ बजेट ल्याइएको बताउनुभयो ।

प्रदेश सरकारको बजेट आवधिक योजनामा आधारित भएर क्रमागत योजनालाई समेत योजनामा समावेश गरेर बजेट बनाइएको उहाँको भनाइ थियो ।

उहाँले प्रदेशको समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न समुदायमा कृषि अनुदान पु¥याउन नयाँ ढाँचासहितका कार्यक्रम ल्याइएको बताउनुभयो ।

सरकारले युवाको पौरख, प्रदेशको गौरवका रूपमा युवालाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउन कृषि विषयमा उच्च शिक्षा हासिल गरेका युवालाई स्रोत व्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना बजेटमा व्यवस्था गरिएको उहाँले जानकरी दिनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ का लागि आइतबार प्रदेशसभामा रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरिएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड पाँच लाख अर्थात् ३६.९४ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले भविष्यमा प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र हुने कुरालाई आत्मसात् गर्दै पर्यटकीय गन्तव्य र पूर्वाधार विकासमा लक्षित गरी बजेट तयार गरिएको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पूँजी बजारको विकास गर्न आधार तयार नभएको समेत बताउनुभयो । “देशमा पूँजी बजारको विकास गर्ने तहमा अझै पुगेको छैन”, उहाँले भन्नुभयो । पूँजी बजार संस्थागत नभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बजार अहिले पनि जोखिमको अवस्थामा रहेको बताउनुभयो ।

उहाँले पूँजी बजार व्यवस्थापकीय हिसाबले काठमाडौँमा मात्रै केन्द्रित हुने कुरा उपयुक्त नभएको बताउँदै सबै विषय केन्द्रिकृत हुने पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “पूँजी बजारका लागि प्रदेशमा प्रवेश गर्ने कुरा आफैँमा जटिल विषय हो ।” 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!