जेलमा दादागिरी गर्नेसंग हाकिमको साँठगाँठ

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मकवानपुर, पावर पहुँच र संरक्षण भयो भने जेलभित्रै पनि मान्छे कति शक्तिशाली हुँदो रहेछ भन्ने कुरा भीमफेदी कारागारका कैदी डानियल लामाको गतिविधिले राम्रैसंग प्रस्ट्याएको छ ।

लागूऔषध कारोबारको अभियोगमा जेल सजाय भुक्तान गरिरहेका कैदी लामालाई कारागार प्रशासनले चौकीदारबाट निलम्बन गरे पनि उनको रवाफ, दबाब र रजगजमा कुनै कमी आएको छैन ।

लामाले चौकीदारको रुपमा अनुशासन उलङ्घन गरेको र कैदीहरुलाई अनावश्यकरुपमा आर्थिक तथा मानसिक दवाव दिने गरेको भन्दै केही समयअघि कारागार प्रशासनले निलम्बन गरेको थियो ।

कैदी लामाले चौकीदारबाट निलम्बन पश्चात् पनि आर्थिक चलखेल र पहुँचको आधारमा कारागार प्रशासनलाई प्रभावमा पारी आफूअनुकूल गतिविधि गर्दै आएको तथ्यसमेत बाहिरिएको छ । लामाकै कारण कारागार प्रशासनले अहिलेसम्म नयाँ  चौकीदार नियुक्त गर्न सकेको छैन ।

भीमफेदी कारागारमा माथिल्लो र तल्लो गरी दुईवटा ब्लक छन् । स्रोतका अनुसार, जिम्मेवारीबाट निलम्बन भएका, खराब आचरण देखाउने र अनुशासन उलङ्घन गर्ने तल्लो ब्लकका पूर्व चौकीदार बुद्धि बलसहित १२ जनालाई २४ घण्टाभित्रै कारागारबाट सरुवा गरेको कारागार प्रशासनले लामालाई कुनै किसिमको कारबाही गर्न सकेको छैन । न त नया“ चौकीदार नै नियुक्त गर्न सकेको छ ।

आचरण विपरीत कार्य गर्ने कैदीहरुलाई तत्कालै सरुवा गरे पनि लामालाई जोगाउनुमा कारागार प्रशासन र जेलरको समेत मिलेमतो रहेको स्रोत  बताउछ । केही समय अगाडि कारागारभित्रै लागूऔषध कारोवार गरेको र कैदी बन्दीहरुबीच भएको कुटाकुटमा डानियलको संलग्नता देखिएको भन्दै जिल्ला प्रशासन र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान भइरहेको सत्य भएपनि डानियल दोषी नै हो भन्ने पुष्टि भइनसकेको भन्दै कारागार प्रमुख (जेलर) प्रकाश खनालले ढाकछोप गर्ने प्रयास गर्दैआएको आरोप लागेको छ ।

उनले भने–‘अनुसन्धान भइरहेको छ, जिल्ला प्रशासनबाट खटिएको अनुसन्धानको टोलीले अहिलेसम्म उसको संलग्नता रहेको पुष्टि गरेको छैन । उसलाई दोषी हो भनेर किटान नगरेसम्म कारबाही गर्ने कुरा भएन ।

दोषी देखिएकालाई २४ घण्टाभित्रै मैले मोरङ, सुनसरी र सिराहमा सरुवा गरेकै हो ।’ नयाँ चौकीदार नियुक्त गर्न ढिलाइ गरेको प्रश्नमा कारागार प्रमुख खनालले भने–‘तत्कालै चौकीदार नियुक्त गर्न नसके पनि उसले (डानियल) नै सबैलाई रिझाएको छ ।

सबैले उसैलाई मान्छन् । पछिल्लो समय कुनै प्रकारको आन्तरिक समस्या र गलत गतिविधि भएको छैन । विनाकारण कसैलाई सरुवा गर्न पनि सकिंदैन ।’ 

बन्दीहरुको सरुवा र नयाँ  चौकीदार नियुक्त गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए । उनले भने–‘आकस्मिक घटना बाहेक सबै समस्यालाई जेल प्रशासनले नै हेर्ने गर्छ ।

कारागार प्रशासन आफैंमा स्वायत्त निकाय भएकाले उसको सिफारिसविना हामीले बाहिरबाट कुनै निर्णय गर्न मिल्दैन । जहा“सम्म नया“ चौकीदार नियुक्त गर्ने विषय छ, त्यसमा जेलर सा’बले कुनै सिफारिस पठाउनु भएको छैन । सर्वसम्मत निर्णय गरेर सिफरिस पठाउनुभयो भने कार्यान्वयन हुन्छ । ’

स्रोत भन्छ–तल्लो र माथिल्लो दुबै ब्लकमा लामाले आफ्नो प्रभाव र दवाव कायम राख्न सकियोस् भनेर सेटिङमा गतिविधि संचालन गर्दै आएका छन् ।

उनले प्रदेश–३ का एकजना मन्त्री र जिल्लाकै नेताहरुको आडमा कारागारलाई बिजनेश गर्ने र आम्दानीको भरपर्दो थलोको रुपमा प्रयोग गरिरहेका छन् । लामाले आफ्नो प्रभाव विस्तार गर्न खोज्दा २०७५ चैत २४ गते कारागारभित्रै कैदीबन्दीहरुबीच झडप भएको थियो ।

लामाको सरुवाका लागि कैदी बन्दीहरुले आवाज उठाए पनि कुनै सुनुवाई हुन नसकेको गुनासो छ । विभिन्न राजनीतिक नेताहरुस“गको सम्बन्ध र आर्थिक चलखेलका कारण लामालाई आवश्यक कारबाही गर्न नसकिएको कारागार स्रोतको दावी छ ।

केही समयअघि लामाको सेटिङमै कारागार प्रमुख मदन अधिकारीलाई आर्थिक लेनदेनमा फसाएर अख्तियार लगाई पक्राउ गरिएको घटना ताजै भएकाले पनि जेल प्रशासन एक्सनमा जान नसकेको स्रोत बताउँछ ।  साँघुबाट । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!