भूमाफियाको इशारामा भूमिसुधार मन्त्री,अवकासको मुखमा यी सचिव,शहरी सचिवको सरुवा हुने

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौँ,भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमाफियाहरूको इशारामा गुठी सम्बन्धी विधेयक संसद्मा प्रस्तुत गरेपछि चौतर्फी आलोचना शुरु भएको छ ।

मन्त्री अर्यालले गुठी संस्थानलाई खारेज गरी एकरूपता ल्याउने नाममा प्राधिकरण गठन गरेर मुलुकभरका गुठी जग्गाहरूलाई भूमाफियाको पोल्टामा पार्ने चलखेलमा लागेको विभिन्न गुठीका गुठियारहरूले बताएका छन् ।

काठमाडौं उपत्यकामा वर्षौदेखि विकराल र समस्याग्रस्त मानिँदै आएको जग्गाधनी र मोहीबीचको द्वैध समस्या हल गर्नेतिर नलागी नेपालको धर्म, संस्कृति र परम्पराको विनासमा लागेको गुठियारहरूको आरोप छ । भू–माफियाहरूको इशारामा दुई तिहाई सरकारको बलमा स्वर्गद्वारी र जनकपुरमा रहेको हजारौं रोपनी जग्गा हात पार्न गुठी विधेयक ल्याइएको चर्चा चलेको छ ।

गुठी सम्बन्धी विधेयकमा गत जेठ २६ गते माइतीघरमा शान्तिपूर्ण विरोधमा उत्रिएका गुठीयार माथि सरकारले बल प्रयोग गरेपछि सत्तापक्ष ९नेकपा० कै सांसदहरूले चर्को विरोध गरेका छन् ।

मन्त्री अर्यालले भूमाफियाहरूको जगमा टेकेर निजी गुठीलाई सार्वजनिक र सार्वजनिक गुठीलाई व्यक्तिगत बनाउने खेलमा लागेको जानकारहरूले बताएका छन् ।

गुठीसम्बन्धी विधेयकको विरोधमा प्रतिपक्ष दल काँग्रेस लगाएका दलहरूले संसद् अवरुद्ध पारेपछि छलफल धकेलिन पुगेको छ ।

मन्त्री अर्याल जनताको सेवा र सुविधामा भन्दा जग्गाका विचौलिया दलाल र भूमाफियाहरूको घेराबन्दी परी समस्या लिएर आउने जनताबाट टाढिने गरेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालय मातहतका विभाग र कार्यालयहरूमा नेकपा पृष्ठभूमिका कर्मचारीहरूको मात्र कुरा सुन्ने लोकतन्त्रवादीहरूलाई कसिङ्गर ठान्ने गरेको सरोकारवालाहरूको आरोप छ ।

शहरी विकास सचिव सिंहको सरुवा हुने

प्रधानमन्त्री केपी ओली यूरोप भ्रमणबाट फर्किएपछि केही सचिवहरू परिवर्तन हुने बताइएको छ ।

शहरी विकास मन्त्रालयमा बसेर ब्रम्हलुट मच्चाइरहेका सचिव रमेशप्रसाद सिंहको ठाउँमा नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरले समाजवादी पार्टीका नेताहरूलाई मोटो रकम बुझाएर जान लागेका हुन् ।

ठाकुर खानेपानी सचिव हुँदा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीलाई मोटो कमिशन मागेर भगाएको आरोपमा नेपाल ट्रष्टमा सरुवा भएका थिए । यता शहरी विकास मन्त्रालयका सचिव सिंहले पनि विभाग र मन्त्रालयको काम आफ्नो पाँचवटा कन्सल्टेन्सीलाई उपलब्ध गराई व्यापक आर्थिक चलखेल गर्दै आएका छन् ।

आर्थिक चलखेल र अनैतिक धन्दा कमजोर मानिने सचिव सिंह गत जेठ ७ गते भएको सचिव सरुवामा मुख्यसचिव लोकदर्शन रेग्मीको निगाहले सरुवा हुनबाट जोगिएको समाचार स्रोतले जानकारी गराएको छ ।

सरुवा हुने अन्य सचिवहरूमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियारका सचिव महेश्वर न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमीव्यवस्थाका गोपी मैनालीलाई नेपाल ट्रष्ट र संघीय मामिला तथा सामान्य प्रशासन यादव कोइरालालाई अख्तियारमा सरुवा गर्ने चर्चा चलेको छ ।

यसैबीच आगामी श्रावणको तेस्रो हप्तासम्ममा सचिवहरू विष्णु लम्साल, कृष्णप्रसाद देवकोटा, कृष्णराज विसी, अर्जुन कार्की र दीपेन्द्रनाथ शर्माले अवकास पाउने खबर नयाँ विमर्शमा उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!