१५ महिनामा ९ पटक विदेश गए प्रधानमन्त्री ओली

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरामा मात्रै होइन विदेश भ्रमणमा पनि रेकर्ड राख्ने देखिएको छ ।

प्रधानमन्त्रीको बागडोर सम्हालेको १५ महिनामा उनी ९ पटक विदेश भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री ओली शनिबार युरोप यात्राको लागि निस्किएका छन् । ओलीको युरोप यात्रा जेठ ३२ गतेसम्म चल्ने छ ।

युरोप यात्राको क्रममा ओली २६ र २७ गते स्वीट्जरल्याण्डमा रहने र उनले २७ गते जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ ओलीले केही उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

ओलीले १५ महिनामा यसअघि भारत, चीन, अमेरिका, कोस्टारिका, स्वीजरल्याण्ड, भियतनाम र क्याम्बोडियाको भ्रमण गरेका छन् ।

अहिले ओली युरोपेली मुलुक स्वीजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा छन् । सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको बेलायतमा नेपालबाट १७ वर्षपछि प्रधानमन्त्रीस्तरीय भ्रमण हो ।

जेठ २७ गते नै बेलायत पुगेका प्रधानमन्त्रीले अक्सफोर्ड विश्वविद्यालयमा आयोजना भएको कार्यक्रममा नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने लोकतन्त्रबारे धारणा राखे ।

प्रधानमन्त्रीले २८ जेठमा बेलायतकी प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता गरे । जेठ २९ देखि ३१ गतेसम्म फ्रान्स भ्रमणमा छन् ।

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष गाँठ मनाइरहँदा प्रधानमन्त्री ओली फ्रान्स पुगेका हुन । भ्रमण क्रममा फ्रान्स सरकारसँग सेक्युरिटी प्रेस र स्याटलाइटसँग सम्बन्धित सम्झौता हुन सक्ने बताइएको छ ।

प्रधानमन्त्रीले ओलीले स्वीजरल्याण्डको भ्रमण ५ महिनामा दोस्रो पटक गर्न लागेका हुन् । यसअघि उनले माघ दोस्रो साता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएका थिए ।

यस्तै, प्रधानमन्त्री ओली असोज पहिलो साता संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका थिए ।

अमेरिकाबाटै कोस्टारिका गएका उनले सान होजेस्थित संयुक्त राष्ट्रसंघीय शान्ति विश्वविद्यालयको मानार्थ विद्यावारिधी उपाधि ग्रहण गरेका थिए ।

वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र कम्बोडिया भ्रमण गरेका प्रधानमन्त्री ओलीले अघिल्लो वर्षको चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गरेका थिए ।

२०७५ को असार दोस्रो साता चीन गएका प्रधानमन्त्री केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा सहभागि हुन दिल्ली पुगेका थिए ।

प्रधानमन्त्रीको विदेश ओहोर–दोहोरलाई सरकारको कुटनीतिक सफलतासँग जोड्ने गरिए पनि बेलायत भ्रमणले लामो समयदेखि जारी रहेको गोर्खा सैनिकसँग सम्बन्धित विवाद अन्त्य गर्न सक्ला–नसक्ला भन्नेमा अधिक चासो छ । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!