एआईजी असन्तुष्ट, डीआईजी सरुवामा सकस ! अख्तियारभित्रै छन् अकूत सम्पत्ति कमाउनेहरु

- June 12, 2019 मा प्रकाशित

काठमाडौं, नेपाल प्रहरीका एआईजी धिरु बस्नेत काज सरुवा भएको स्थान राष्ट्रिय सुरक्षा परिषद्मा अहिलेसम्म हाजिर भएका छैनन् ।

आर्थिक अनियमितताको आरोप लागेका एआईजी बस्नेतलाई कार्यविभागमा दरबन्दी रहने गरी परिषद्मा काज सरुवा गरिएको थियो । उनलाई त्यहाँ काज सरुवा गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

अवकाशको आठ महिना बाँकी हुँदा एआईजी बस्नेतलाई प्रहरी प्रशासनभन्दा टाढा राखिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा गरेको एक महिना पुग्दा लाग्दा पनि उनी बिदामा बसेका छन् । उनलाई बस्ने कोठाको समेत अभाव भएको छ । सुरक्षा परिषद्मा हाल डीआईजीको दरबन्दी रहेको छ ।

एआईजीको सरुवापछि नेपाल प्रहरीमा डीआईजी सरुवाको दौडधुप चलेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि युरोप भ्रमणमा गएको डीआईजीको सरुवा भने रोकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रदेशमा कार्यरत डीआईजीहरूको एकवर्षे कार्यकाल पुगेकाले सरुवा हुन लागेको हो ।

तर, सबै धेरै डीआईजी प्रदेश प्रमुख भएर जान चाहने भएकाले निर्णय गर्न प्रहरी प्रधान कार्यालयलाई सकस भएको छ । उनीहरूको सरुवा सरकारले गर्ने भए पनि प्रहरी प्रधान कार्यालयले सिफारिस गर्ने समस्या भएको छ ।

प्रदेश १, प्रदेश ३ र गण्डकी प्रदेशका प्रहरी प्रमुखको एक वर्षको अवधि पुगिसकेको छ । अन्य प्रदेशका इन्चार्जहरू समेत फेरिने सम्भावना छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि हेरफेरको तयारी भइरहेको स्रोत बताउँछ ।

प्रदेश इन्चार्जका रूपमा जान चाहने डीआईजीहरूमा ठाकुर ज्ञवाली, तारिणी लम्साल, सूर्य उपाध्याय, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, प्रद्युम्न कार्की, नारायणसिंह खड्का, विनोद शर्मा घिमिरे, शेरबहादुर बस्नेत लगायत छन् । सबैले नेताहरूमार्फत पावर लगाइरहेका छन् ।

त्यस्तै प्रदेश २ का डीआईजी हरि पाल, प्रदेश ५ का पीताम्बर अधिकारी तथा कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाह एक वर्ष अवधि नपुगी आफूहरूको सरुवा नगर्न शक्तिकेन्द्र धाइरहेका छन् ।

आयुक्त कार्यालयमा लम्साललाई पठाउने तयारी भइरहेको छ । आगामी आईजीपीको दावेदार रहेका लम्साललाई आयुक्त कार्यालय र ठाकुर ज्ञवालीलाई कुनै एक प्रदेशको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

अख्तियारभित्रै छन् अकूत सम्पत्ति कमाउनेहरू
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको पदीय मर्यादा नै बिर्सेर घुस असुलीमा तल्लीन राजनाराण पाठकले संस्थाको छविमा हिलो पोतेर बिदा भए ।

जुन संस्थाको आयुक्त भए, त्यही संस्थाले उनीविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने परिस्थिति निम्तियो । कुपात्रलाई अख्तियारको पदाधिकारी नियुक्त गर्दा आयोगको गरिमामाथि आँच पुग्न गयो ।

अख्तियारबाट पाठकको बेइज्जतीपूर्वक बहिर्गमनपछि उनी मुद्दा खेपिरहेका छन्, तर तिनै पाठकले आयोगमा लगेकाहरू भने सरुवा भएको तीन महिनासम्म पनि रमाना नबुझी बसेका छन् । प्रसंग हो, सहन्यायाधिवक्ता शंकर खत्रीको ।

सरकारी वकिलबाट सहन्यायाधिवक्तासम्म भएका पाठक आयोगमा नियुक्त भएपछि खत्रीलाई आयोगमा लगेका थिए । आयोगमा लगेपछि खत्री र पाठकको मिलेमतोमा धेरैलाई दुःख दिने र असुली गर्ने काम भयो ।

पाठकसँग खत्रीको कनेक्सन देखिएपछि प्रमुख आयुक्त नवीन घिमिरेले उनलाई महान्यायाधीवक्ता कार्यालयमै फिर्ता गरिदिए । तर महान्यायाधीवक्ता कार्यालयमा सरुवा भएको तीन महिना बितिसक्दा पनि उनी सरुवा भएको कार्यालयमा गएका छैनन् ।

उनले विगतमा अर्थमन्त्रालय र भूमि व्यवस्था मन्त्रालय हेर्ने गरेका थिए । दीप बस्न्यातको पालामा उनीनिकट भएर पनि खत्रीले लिनुसम्म लाभ लिए । अर्थ मन्त्रालय अन्तर्गत राजस्व समूहका कर्मचारीसँग उनले दररेट तोकेरै उठाए ।

दीप बस्नेतको कार्यकालमा एउटा पनि राजस्वका कर्मचारीविरुद्ध विशेष अदालतमा अकूत सम्पत्तिमा मुद्दा दायर नहुनुमा खत्रीकै सेटिङले काम गरेको स्रोतले बतायो ।

भैरहवा भन्सारबाट निर्वाध रूपमा भन्सार यार्डमै प्रवेश नगरी शमशेर मियाँका मालबाहक ट्रक पास हुँदा पनि आँखा चिम्लने भूपाल शाक्यजस्ता उपसचिवसँग पनि खत्रीको कनेक्सन रहेकाले उनी अहिलेसम्म पनि सुरक्षित भएको बताइन्छ । तर, भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध भने अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

ठाकुर खनाल भन्ने भूमाफियासँग मिलेर उनले थुप्रै सरकारी जग्गा गैरकानुनी दर्तामा साथ दिएको आरोप पनि अख्तियारकै अधिकारीले लगाउने गरेका छन् ।

खनालको सम्पत्ति विवरण हेर्ने हो भने र कनेक्सन खोज्ने हो भने पनि धेरै रहस्य खुल्नेछन् । दीप बस्नेत र पाठकको आडमा उनले अख्तियारको वार्षिक प्रतिवेदन तयार गर्ने तामेलीमा जाने अवस्थाका उजुरीमा प्रत्येकलाई सम्पर्क गरी लाभ लिने गरेका थिए ।

चर्चित र ठूला पदकाभन्दा तल्लो तहका कर्मचारी विशेष गरी जनसम्पर्क हुने कार्यालय र राजस्व समूहका नासु खरिदारसँग उनले सम्पर्क गरी फाइदा लिने गरेका थिए । अख्तियारले अकूत सम्पत्ति आर्जन गर्नेहरूको छानबिन गर्ने गर्दछ,  बुधबारमा उल्लेख छ ।

तर सबभन्दा पहिला आयोगभित्रै खत्री प्रवृत्तिका कर्मचारीको छानबिन आवश्यक भइसकेको महसुस गरिएको छ । खत्रीले सात आना जग्गामा कपनमा भव्य महल बनाएर मात्र नपुगी आफन्तको नाममा कतिपय ठाउँमा जग्गा समेत खरिद गरी लुकाएको आरोप छ ।

Facebook Comments

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै