जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

- June 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गोरखा : जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समुदायका लागि घर निर्माणको काम भइरहेको छ । कार्यक्रम शुरु भएको पहिलो आर्थिक वर्षमा कुसुण्डा परिवारका लागि एक घर मात्र निर्माण भएकामा आव २०७३÷७४ मा १८७ घर निर्माण भएको डिभिजन कार्यालय गोरखाका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।

उक्त आर्थिक वर्षमा २०० घर निर्माणको लक्ष्य राखिएको भए पनि १३ घर निर्माणको काम भने पछिल्लो आर्थिक वर्षका लागि सरेको थियो । यस्तै क्रमागत गरी अघिल्लो आवको बाँकीसमेत गरेर कार्यालयले आव २०७४÷७५ मा २६३ घर निर्माण गरेको उहाँले बताउनुभयो ।

“गएको आर्थिक वर्षमा ३०० घर निर्माणको योजना रहेको थियो । तीमध्ये २६३ घर निर्माणको काम सम्पन्न भयो, बांँकी ३७ घर चालू आवमा सम्झौता भइसकेका छन्”, उहाँले भन्नुभयो । प्रमुख थापाका अनुसार चालू आवका लागि गएको आवको क्रमागतसमेत गरी २३७ घर निर्माणका लागि कार्यक्रम आएको छ ।

अघिल्लो वर्ष बाँकी रहेका सबै घर निर्माणका लागि सम्झौता भएको छ । उहाँले भन्नुभयो, “बाँकी नयाँ २०० घर निर्माणका लागि अहिले छनोटको काम भइरहेको छ ।”

यसपटक छनोट गरिने  परिवारका लागि चालू आवमै घर निर्माण गर्ने कार्यक्रम आएको भए पनि ढिलो गरी कार्यक्रम आउँदा समस्या भएको उहाँले बताउनुभयो ।

“कार्यक्रम ढिलो गरी आएकाले छनोट प्रक्रिया पनि ढिलो गरी मात्र शुरु भयो”, कार्यालय प्रमुख थापाले भन्नुभयो, “प्राथामिकताका आधारमा छनोट गरेर निर्माण गर्न बाँकी रहेका घर निर्माणका लागि प्रक्रियामा अघि बढेको छ ।” उहाँले जनता आवास कार्यक्रमअन्तर्गत छनोटमा परेकालाई कार्यालयले चार किस्ता गरेर कूल रु तीन लाख ३२ हजार ५०० उपलब्ध गराउँदै आएको बताउनुभयो ।

छनोटमा परेकाहरूलाई घरको जग खनेपछि पहिलो किस्तावापत कूल रकमको २५ प्रतिशत, डिपिसीको काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको ३५ प्रतिशत, गारोको काम सम्पन्न भएपछि तेस्रो किस्तावापत ३० प्रतिशत र छाना तथा शौचालय निर्माणको काम सम्पन्न गरेपछि अन्तिम किस्तावापतको १० प्रतिशत रकम उपलब्ध गराउँदै आएकोे प्रमुख थापाले जानकारी दिनुभयो ।

सरकारले  पछिल्लोपटक जनता आवास कार्यक्रमअन्तर्गत एक पालिका एक बस्ती निर्माणको योजना बनाएको उहाँले बताउनुभयो । योजनाअन्र्तगत जिल्लाको चुमनुव्री गाउँपालिकामा र धार्चे गाउँपालिकामा दलित, आरुघाटमा बराम, भिमसेन थापा गाउँपालिकामा कुमाल र सहिद लखन गाउँपालिकामा चेपाङ समुदायका लागि घर प्राथमिकतामा राखेर निर्माण गरिनेछ ।

सबै कुसुण्डा र बादी समुदायलाई पनि यसै आर्थिक वर्ष र बराम समुदायलाई आउँदो आर्थिक वर्षमा घरयुक्त समुदाय बनाउने योजनामा कार्यालय रहेको उहाँले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा अतिविपन्न र अतिसीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा चालू आवदेखि जिल्लाभित्रका कुसुण्डा र बादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको थापाले जानकारी दिनुभयो । 

 जिल्ला आवास समन्वय समितिले गोरखाको चुमनुव्री गाउँपालिकामा रहेका दलित समुदाय,  गोरखा नगरपालिकाभित्र रहेका बादी समुदाय, अजिरकोट र सिरानचोक गाउँपालिकाभित्र  रहेका भुजेल समुदायबाट पनि विपन्नताको आधारमा छनोट गरी घर बनाइदिने निर्णय गरेको थियो ।

त्यस्तै पालुङटार नगरपालिका र गोरखा नगरपालिकाभित्र रहेका कुमाल समुदाय, थुमी र ताकुकोटका बराम समुदायमा रहेका विपन्नता भएका परिवारको छनोट गरी घर बनाउने निर्णय भएको प्रमुख थापाको भनाइ छ । कार्यालय प्रमुख थापाले जनता आवास कार्यक्रममार्फत जिल्लाको घ्याल्चोक, मकैसिङ, ताङिलचोक, भुम्लिचोक, ताक्लुङका चेपाङ र माझी समुदायका लागि समेत घर निर्माणका लागि छनोटको काम गरेको जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!