प्रेस स्वतन्त्रतामा किन अंकुश ?

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,वाक र प्रेस स्वतन्त्रता छैन भनेर पञ्चायतमाथि आरोप लगाउने कम्युनिष्ट नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहको छ । 

यसअघि बहुदल कालमा प्रेस स्वतन्त्रता भएपनि जनताप्रतिको जवाफदेहीता देखिएन । लोकतन्त्र जनताको आन्दोलनबाट आएपनि जनमतबाट बनेको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउन खोजेको छ ।

प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउनु पर्ने कारण सरकार जनताप्रति जवाफदेही हुन नसकेकाले हो भन्ने देखिन्छ । संविधानलाई आफूखुशी प्रयोग गरेर देशलाई भ्रष्टाचारको दलदल बनाएकाले हो ।

जनताले सरकारमा बस्नेहरुले गरेको भ्रष्टाचार पत्ता नपाउन् भनेर जनताका कुरा सरकारसम्म र सरकारका कुरा जनतासम्म पु¥याउने माध्यम प्रेसमाथि अंकूश लगाउन लागेको जो कसैले बुझ्न सक्छ ।

कम्युनिष्ट सरकारले प्रेसमाथि कडा रुख अपनाउन थालेपछि नेपाली कांग्रेसले अन्ततः मुख खोल्यो– प्रेस स्वतन्त्रताविना लोकतन्त्र वलियो हुन सक्दैन ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रता एउटा महत्वपूर्ण कडी हो । कांग्रेसले प्रेसमाथि हुने कुनै पनि किसिमको विरोध, निषेध, बन्देज वा आक्रमणको डटेर विरोध गर्छ ।

प्रेस जिम्मेवार र जवाफदेही बन्नुपर्छ । सरकारलाई आलोचनाका माध्यमबाट सही मार्ग देखाउने प्रेसलाई सरकारले मैत्रीभाव राख्नैपर्छ ।

सरकार निरंकूश मार्गतिर लागेको हो भने प्रेसमाथि अहिलेजस्तै अमैत्री हुन्छ, जुन लोकतन्त्रका लागि खतरा हो । आलोचना गरेकै कारण प्रेसमाथि सरकारी मुङ्ग्रो बज्रनु भनेको निरंकूशता हो । निरंकूशताका विरुद्ध नेपाली प्रेस सधैं सचेत छ, जुधारु छ ।

नेपाली प्रेसलाई दुई तिहाइको दम्भले कुल्चन सकिन्छ भनेर कम्युनिष्ट सरकारले सोचेको हो भने त्यो दिवा सपना हो । प्रेस सवल छ, आत्मरक्षा गर्नसक्छ ।

सरकारलाई चेतना रहोस, प्रेसकै कारण सबै परिवर्तनहरुमा साथ पाएकाले अहिले आएर प्रेसलाई दुश्मन व्यवहार गर्छ भने यो आपत्तिपूर्ण छ । विनासकाले विपरित बुद्धि भन्ने उखान चरितार्थ हुनलाग्यो भन्दा हुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!