करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ ।

नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो ।

महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गर्नुभयो ।

“हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा  उपत्यकामा पाँच वटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारी साधनको चापमा कमी आउने बताउनुभयो । “करिडोर निर्माणसँगै सवारी साधन निर्बाध ढङ्गले चल्न सक्छन्”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सहज ढङ्गले सवारी साधन आवतजावत गर्न सक्ने बताउनुभयो ।

“बाटो ग्राभेल र पिच गर्न स्थानीय सरकार कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताउनुभयो । करिडोर निर्माणका लागि महागरपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!