वीपी प्रतिष्ठानका उपकुलपतिलाई आयोगको झड्का ! एमडिएमएस, विडिएस र एमविविएसको परिक्षा अनिश्चित

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, शिक्षाध्यक्षको अध्यक्षतामा परिक्षा समिति गठन गरी परिक्षा सञ्चालन गर्ने प्रक्रिया विपरित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै उजुरी परेपछि चिकित्सा शिक्षा आयोगले शिक्षाध्यक्षताकै अध्यक्षतामा परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले खराब तवरले शिक्षाध्यक्षलाई वाइपास गर्दै डीनको अध्यक्षतामा परिक्षा समिति गठन गरेकोमा वीपी प्रतिष्ठानका केही चिकित्सक तथा केही भारतीय विद्यार्थीले समेत प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दिएको स्रोतको दावी छ ।

उक्त उजुरीलाई नै आधार मान्दै चिकित्सा शिक्षा सेवा आयोग, प्रधानमन्त्री कार्यालय, शिक्षा तथा स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा तत्काल प्रवेश परिक्षा स्थगित गर्दै शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परिक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो ।

प्रतिष्ठानको २५ वर्षे इतिहासमा शिक्षाध्यक्ष नै प्रवेश परीक्षा समितिको अध्यक्ष रहने प्रचलन छ । ‘शिक्षाध्यक्षलाई परिक्षा समितिको अध्यक्ष बनाइने प्रचलन विपरित उपकुलपतिले डीनको अध्यक्षतामा समिति गठन गरेको तथा ठूला परिक्षाहरुमा उपकुलपतिले केही भारतीय विद्यार्थीलाई समेत वार्गेनिङ गरेको पाइएपछि डीनको अध्यक्षता खारेज गरी शिक्षाध्यक्षकै अध्यक्षतामा परिक्षा समिति गठन गर्न निर्देशन दिइएको हो ।’ शिक्षा मन्त्रालय स्रोत भन्छ ।

स्रोतका अनुसार उपकुलपतिले विगतको अभ्यास विपरित बदनियतपूर्वक डीनको अध्यक्षतामा प्रवेश परिक्षा समिति गठन गरेकोले तत्काल प्रवेश परीक्षा सम्बन्धी काम कारवाही स्थगित गरी छानविन गरी दोषिलाई कारवाही गरी पाउँ भन्ने उजुरी शिक्षा आयोगमा परेको थियो । प्रतिष्ठानका विषयमा प्रधानमन्त्री, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा शिक्षा आयोगमा २५ वटा उजुरी आएको स्रोतको दावी छ ।

स्रोतका अनुसार भारतीय विद्यार्थी तथा तिनका अभिभावकले उपकुलपतिले परिक्षामा चलखेल गर्दै मोटो रकम माग गरेको भन्दै उजुरी दिएका हुन् ।

उक्त उजुरीहरु उपर आवश्यक निर्देशनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरेको र आयोगको ०७५ चैत्र २४ गतेको बैठकले पूर्ववत प्रक्रिया र नीति अनुरुप नै प्रवेश परिक्षा सञ्चालन गर्न आवश्यक ब्यवस्था मिलाउन भनि आयोगका अध्यक्ष ओलीले नै निर्देशन दिइएको थियो ।

‘आयोगमै उजुरी आएपछि चूप लाग्ने अवस्था भएन, त्यही भएर उहाँ (भिसी) लाई पूर्ववत अवस्थामै परिक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो ।’ आयोगका एक सदस्यले भने ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १६ मा चिकित्सा क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने व्यक्तिहरुले प्रवेश परिक्षा चिकित्सा शिक्षा आयोग वा आयोगले तोकेको संस्था वा निकायले सञ्चालन गर्ने समेतको ब्यवस्था रहेको छ ।

सोही बमोजिम आयोगको गत चैत्र ४ गते बसेको बैठकबाट चिकित्सा शिक्षा आयोगले अर्को निर्णय नगरुञ्जेल सम्मका लागि विभिन्न निकायहरुले हाल अपनाई आएको विधि तथा प्रक्रिया अनुसार नयाँ नितीगत निर्णय वाहेकका कार्यहरु यथावत सञ्चालन गर्न र साझा प्रवेश परीक्षा, शुल्क संगठन संरचना निर्माण तथा नियमावली तर्जुमाका लागि उपप्रधान तथा स्वास्थ्यमन्त्रीकै संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत भएको छ ।

बैठककै निर्देशन अनुसार अनुरुप शिक्षा मन्त्री तथा चिकित्सा शिक्षा आयोगका सह–अध्यक्ष गिरिराजमणी पोखरेलले पत्र काटी प्रतिष्ठानलाई शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न निर्देशन दिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले शिक्षाध्यक्षलाई वाइपास गर्दै प्रतिष्ठानको डीन सिवी झालाई परिक्षा समितिको अध्यक्ष बनाएका थिए ।

प्रतिष्ठान स्रोतका अनुसार डा. रौनियारले प्रतिष्ठानमा हुने ठूला परिक्षामा मोटो चलखेल गर्न शिक्षाध्यक्षलाई नै वाइपास गर्दै आफ्नै मान्छे राखेर परिक्षा समिति बनाएका हुन् । प्रतिष्ठानको परीक्षा समितिको डीनमा झा छन्, असिस्टेन्ट डीनमा डा. अजय यादव छन् भने, सदस्यहरुमा अशोक ऐर लगायत रहेका छन्  ।

गत वर्ष डा. बद्री प्रसाद वडुको अध्यक्षतामा गठित परीक्षा समितिले प्रतिष्ठान स्थित प्रश्नपत्र बैंक मार्फत नभइ विशेषज्ञहरु मार्फत प्रश्न तयार पारेको थियो । बाहिरबाट जानेहरुले प्रश्न तयार गर्दा त्यो प्रश्नहरु लिक हुने संभावना अत्याधिक हुन्छ । तथापि, प्रतिष्ठानकै उपकुलपतिको निर्देशनमा बाहिरबाट प्रश्नहरु तयार पारिएको स्रोतको दावी छ ।

‘बाहिरबाट विशेषज्ञ बनेर गएकाहरुले १५–१५ वटा प्रश्नहरु मात्रै कण्ठ गरेर आएभने त्यहिबाट चलखेल हुन्छ । उनीहरुले उपकुलपतिलाई नै त्यहाँका प्रश्नहरु दिन्छन् र, वार्गेनिङ हुन्छ ।’ स्रोत दावि गर्दछ ।

प्रतिष्ठानमा हुने एमडिएमएस, विडिएस, एमविविएस जस्ता ठूला प्रवेश परीक्षामा खासगरी विदेशी कोटामा ठूलो सेटिङ हुने गरेको छ ।

पछिल्लो समय उपकुलपतिले विवादास्पद काम गर्दा प्रतिष्ठानमा शिक्षाध्यक्ष र रजिष्ट्रारसँग उनको मिल्ती ठिक छैन । यसैको रिस फेर्न उपकुलपतिले शिक्षाध्यक्षलाई हटाएर उनले डीनको अध्यक्षतामा प्रवेश परीक्षा समिति  गठन गरेका हुन् ।

वीपी प्रतिष्ठानमा उपकुलपति डा. रौनियार अत्यन्त विवादास्पद ब्यक्ति हुन् । उनलाई पदीय दायित्व निर्वाह नगरेको, प्रतिष्ठानमा हुने विभिन्न खरिद तथा ठेक्का पट्टामा भ्रष्टाचार गरेको भन्दै प्रतिष्ठानको ४२ औं सिनेटले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सोको विरुद्ध उनी सर्वोच्च अदालत गएपछि हाल उक्त विवाद सर्वोच्चमा विचाराधिन अवस्थामा छ । उनको अर्को पेशी जेठ ३० गते विहिबार तोकिएको छ ।

उनलाई अढाई वर्षको दौरानमा दुई वटा सरकारले कारवाही गर्दै निस्कासन गर्ने निर्णय गरेपनि राजनीतिक आवरणमा उनी टिक्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!