विजेता पर्या समाजद्वारा सहयोगको नाममा क्रिश्चियन धर्मको प्रचार

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । उपत्यकामै विभिन्न संघ/संस्थाको नाम दिँदै खुलेआम धर्म परिवर्तन गराउने कार्यमा तीव्रता आएको पाइएको छ । चार वर्षअघि गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको केही जिल्ला र घरवारविहीन भएकाहरुका बालबच्चालाई पढाइदिने भन्दै स्थापना गरिएको एक संस्थाले सहयोग संकलन गरी क्रिश्चियन धर्मको प्रचार र धर्म परिवर्तन गराउँदै आएको भेटिएको हो । प्राप्त विवरणअनुसार काठमाडौं महानगरपालिका गोकर्णेश्वर नगरपालिका–१ साबिकको नयाँपाटी गाविस वडा नं. २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको विजेता पर्या समाज नामको संस्थाले सो अवैध कार्य गर्दै आएको भेटिएको हो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।
सो समाजको नामबाट अन्य धर्म मान्नेहरुलाई विभिन्न किसिमका प्रलोभन देखाएर क्रिश्चियन धर्मावलम्बी बन्न प्रेरित गरिरहेको स्थानीय बासिन्दाको भनाइ छ । सो समाजका अध्यक्ष बद्रीप्रसाद खनाल नाम गरेका व्यक्तिले विभिन्न प्रलोभन देखाई विपन्न समुदायहरुमा रहेको कमजोरीको फाइदा उठाउँदै र भूकम्पबाट क्षति पुगेका परिवारलाई झुक्याउँदै धर्म परिवर्तन गराउने कार्य गर्दै आएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यको दफा २६ उपदफा ३ मा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ भनिएको छ । तर सो ऐनलाई समेत बेवास्ता गर्दै अध्यक्ष खनालले आफ्नो स्वार्थ पूरा गर्नेकै लागि धर्म परिवर्तनमा संलग्न भएको पाइएको छ ।
यसरी धर्मपरिवर्तन गरेको पाइएमा पाँच वर्षको कारावास सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था कानुनले गरेको छ । नेपालको संविधान धारा २६ ले पनि धर्म परिवर्तनलाई निषेध गरेको छ । एकातर्फ नेपालको संविधानले समेत निषेध गरेको धर्म परिवर्तनलाई समाजका अध्यक्ष खनालले भने खुला रुपमा गर्दै आएका छन् । उनले भूकम्पबाट घरवारविहीनदेखि निधन भई पीडित बनेकाहरुको नामबाट विभिन्न संघ/संस्थाको नाममा ठगीधन्दा चलाउँदै आएका छन् ।

काठमाडौंनजिकै रहेको गोकर्णेश्वर नगरपालिका–१ साबिकको नयाँपाटी गाविस वडा नं २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं. १ ऐतिहासिक सुन्दरीजल बन्दी गृह (हाल बीपी संग्रहालय) मुनिको रुप्सेटारका खनालले भूकम्पपीडितको नाममा करोडौं रुपैयाँको अवैध धन्दा गरेको भेटिएको छ । विगतमा भूमाफियाका रुपमा सार्वजनिक जग्गा समेत व्यक्तिको नाममा दर्ता गरेर प्लटिङ गरी बेचेर करोडौं कुम्ल्याएका खनालले आफ्नो जग्गामा बनेको टहरामा विभिन्न जिल्लाबाट आएका भूकम्पपीडित राखेर भाडा लिँदै धर्म प्रचारका रुपमा प्रयोग गरेको भेटिएको छ । ती टहरामा आफूले भूकम्पपीडित राखेर सामाजिक सेवाको काम गरेको भन्दै उनले विदेशी संस्थासँग मासिकरुपमा रकम संकलन गर्दै आएका छन् । सो रकम कहाँ कसरी खर्च गरेका छन् भन्ने बारे कुनै पनि विवरण देखाउन चाहेनन् । विजेता एकता कम्युनिटी (विजेता पर्या समाज) का नाममा उनले सामाजिक सेवा गरेको भन्दै अवैधरुपमा कमाइ खाने भाँडो बनाएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ ।
सो संस्थामा युरोपियन मूलका विदेशी लिएर खनालले नक्कली विवरण देखाई सहयोग संकलन गर्दै आएका छन् । स्थानीयबासीका अनुसार खनालका घरमा हप्तैपिच्छे नयाँनयाँ विदेशी समूह आइरहेको र यसरी आउने विदेशीलाई खनालले ‘सुन्दरीमाई होम स्टे’ नामको घरमा राख्ने गरेका छन् । उनका आफन्त विदेशमा रहेकाले तिनीहरुकै माध्यमबाट विदेश संस्थासँग सम्पर्क गराइदिने गरेको स्थानीयवासीले बताएका छन् । खनालले विदेशी आउने दिन टोलभरिका बच्चा जम्मा गरेर स्थानीय सुशन भण्डारी नामका व्यक्तिले पढाउन लगाउने गरेको पाइएको छ । उनको सो अध्ययन केन्द्र कतै दर्ता भएको पाइएको छैन । विना दर्ता बच्चालाई पढाउने गरेको स्थानीयको भनाइ रहेको छ । खनालले यसका लागि संस्था खोलेर अध्ययन गराउँदै आएको बताइएको छ । पहिला संस्थाको बोर्ड घरमा राखे पनि हाल हटाएर गुपचुप रुपमा अवैध धन्दा चलाउँदै आएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सल्लाहमा बोर्ड हटाएर अवैध धन्दा चलाएको आरोप स्थानीय बासिन्दाको रहेको छ ।
भूकम्पपीडित र बच्चाका नाममा अवैध धन्दा गर्दै आएका खनालले गलत बाटोबाट कमाएको पैसाका आडमा स्थानीयवासीमाथि समेत थिचोमिचो गर्ने गरेका गुनासो छिमेकीहरुको रहेको छ । पहिल्यैदेखि उद्दण्ड स्वभावका खनाल त्यस क्षेत्रमा आतंक नै मच्चाएर बसेको दुःखेसो टोलबासीको रहेको छ । स्थानीय निकाय हुँदैदेखि साबिकको नयाँपाटी गाविसको बजेटमा समेत अनियमितता गर्न पल्केका खनालले खानेपानी योजना र सडकका नाममा समेत बजेट हिनामिना गरी कालोसूचीमा परेका व्यक्ति हुन् । यिनलाई उपभोक्ता समितिको अध्यक्ष बनाई बजेट बाँडेर खाने नयाँपाटी गाविसका तत्कालीन सचिव रामेश्वर धिमाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत तानिएका थिए । धिमालले अख्तियारमा समेत सेटिङ मिलाएर फुत्किन सफल भएकाले त्यसबेला यो घटना सार्वजनिक हुनसकेको थिएन ।
डेढ दशकअघि तिलगंगामा रहेको शान्ति सेवा गृह नामको संस्थाका पदाधिकारी सुन्दरीजल क्षेत्रमा जग्गा खोज्दै जाँदा खनालसँग सम्पर्क भएको थियो । यिनले अवैधरुपमा १० रोपनी जग्गा समेत खरिद गरेका छन् । शान्ति सेवा गृहको उपाध्यक्ष समेत बनेका खनाल सोही संस्थाको नाम बेच्दै अवैध धन्दा गर्न सुरु गरेको आरोप उनीमाथि लागेको छ । शान्ति सेवा गृह त्यही संस्था हो जसले अपांग राख्ने नाममा खेतीपाती गर्दै आएको आरोप रहेको छ । शान्ति सेवा गृहम् करोडौं भ्रष्टाचार भएको समाचार समेत सार्वजनिक भएको थियो । कृष्ण गुरुङको माध्यमबाट खनाललाई शान्ति सेवा गृहको उपाध्यक्ष हुन सफल भएका थिए ।
शान्ति सेवा गृहको जस्तै लुट मच्चाउन पाइने मनोकांक्षाले यिनले आफ्नै स्वामित्वमा विजेता नामको संस्था खोलेका हुन । सो संस्थाको अध्यक्ष खनाल आफैँ रहेका महासचिवमा पवन भण्डारी भन्ने व्यक्तिलाई राखिएको छ । शान्ति सेवा गृहको कार्य समितिमा नेपाली भए पनि यसको पृष्ठभूमिमा जर्मन नागरिक मारियाना नामकी महिला रहेकी छिन् । विदेश सामान पठाउन यिनले सुरुमा ठमेलमा कार्यालय खोलेका थिए । त्यसपछि त्यो कार्यालय चुच्चेपाटी सरेका थिए । हाल चुच्चेपाटीबाट टहराकै एउटा कोठामा सारेका छन् । विदेश सामान पठाउने संस्थाको कम्पनी खोलेर कर तिर्नुपर्ने कानुनी व्यवस्थाको पनि खनालले उल्लंघन गरेका छन् । सो संस्था जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा समेत दर्ता भएर कर पनि तिरिरहेको खनालले दाबी गरे पनि वडा अध्यक्ष राम मानन्धर भने कर नतिरेको बताउँदै आएका छन् ।
सो संस्था र खनालले गरेको क्रियाकलापका बारेमा पहिल्यैदेखि आफूलाई शंका लागेको अध्यक्ष मानन्धरले बताएका छन् । उनले केही समयअघि कोठा खाली गर्न प्रहरीसहित जाँदा जीर्ण भवनमा बच्चा पढाउने गरेको देखेका थिए । वडा अध्यक्ष मानन्धरलाई सो समयमा खनालले स्थानीय बच्चालाई निःशुल्क ट्युसन पढाउने गरेका बताउँदै झुट बोलेको समेत खुलेको छ । खनालले कमाइ खाने भाँडो बनाएको टहरामा बस्ने भूकम्प अति प्रभावित सिन्धुपाल्चोकलगायत अन्य जिल्लाबाट २०७४ साल वैशाखदेखि त्यहाँ बस्दै आएकाहरुसँग प्रतिकोठाको मासिक पाँच हजार रुपैयाँ असुली गर्दै आएको पाइएको छ ।
प्रतिकोठा पाँच हजार रुपैयाँ असुली गरे पनि खनालले भने विदेशीसँग यी सबै भूकम्प प्रभावित जिल्लाका पीडित भएकाले बस्ने, खाने लगायत आधारभूत आवश्यकता पूर्ति गरिदिएको भन्दै नक्कली प्रमाणपत्र पेस गरेर सहयोग लिने गरेको पाइएको छ । विदेशीले विपन्नवर्गका जनजातिका नाममा काम गर्ने भनी खुलेका संस्थालाई क्रिश्चियन धर्म फैलाउन सहयोग गर्दै आएको पाइएको छ । राजधानीमै खुलेका संस्था र होम स्टेमा विदेशी बसेर धर्म परिवर्तनका योजना तयार गरी रहँदा स्थानीय सरकार भने बेखबर रहेको छ । प्रदेश र संघीय सरकारको यहाँसम्म ध्यान गएको देखिँदैन । सम्बन्धित निकायको ध्यान नगएकै कारण खनालझै अन्य समूहसमेत धर्म परिवर्तनमा सक्रिय भएको पाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!