खतराको सूचीमा रहेको ‘सेन्ट्रो’ कार बिक्री गर्न मुल्य घटायो

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं
अर्न्तराष्ट्रिय बजारमा हुण्डाई कम्पनीबाट उत्पादन भएको केही मोडलका गाडी असुरक्षित रहेको भन्दै खतराको सूचीमा परेसंगै भारतलगायत अन्य देशमा बिक्री बन्द भएपनि नेपालमा भने अनेक योजना देखाउदै बिक्री हुदै आएको छ । खतराको सूचीमा रहेको समाचार आर्थिक दैनिकले प्रकाशन गरेपछि नेपालमा भित्राईएका सवै सेन्ट्रो गाडी कुनै उपहारमा राखेर बिक्री गरिदै आएपनि सोचेअनुसार बिक्री नभएपछि पछिल्लो समयमा सो गाडीको मुल्य नै घटाएर बिक्रीमा राखिएको छ । हुन्डाईले नेपालमा भित्राएको सेन्ट्रो गाडीलाई यसअघि अत्याधिक मुल्य निर्धारण गरेर बिक्री गरिदै आएको थियो । हुन्डाईको नेपालकालागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सेन्ट्रो गाडीको २२ लाख ९६ हजार रुपैयाँ मुल्य निर्धारण गरेर बिक्रीमा राखेको छ । केही महिना अगाडि भने सेन्ट्रोको तीन भेरियन्ट म्याग्ना, स्पोट्ज र आस्टा नेपाली बजारमा सार्वजनिक गरेसंगै सेन्ट्रो गाडीमा भएको प्राविधिक समस्याको समधान सो कम्पनीले गर्न नसकेसंगै भारतलगायत अन्यदेशमा हुदै आएको बिक्री बन्द गरिएको थियो । भारतमा लामो समयपछि सेन्ट्रो गाडीको बिक्रीमा रोक लगाएपछि सो रोक लगाएको गाडी भारतबाट नेपाल पठाएको थियो । 

नेपाली बजारमा मध्यमवर्गीय परिवारदेखी केही कार्यालयहरुको रोजाईमा परेको सो कारमा अधिकाशंमा देखिएको प्राबिधिक समस्यासंगै अहिले उपभोक्ताहरुले विभिन्न अनलाइन मार्फत बिक्रीमा राखेका छन् । प्रारम्भीक विवरणअनुसार संसारभर १८ लाख ५० हजारभन्दाबढी युनिट सेन्ट्रो गाडी खतराको सूचीमा रहेको पाईएको छ । सो कम्पनीले सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको भनिएपनि सोही सेफ्टीको नाममा बढी खतरा भएको प्रारम्भीक जाँचबाट खुल्न आएको छ । 

खतराको सूचीमा परेपछि नेपालमा मुल्य घटाएको सूची

नेपालको अटोमोबाइल क्षेत्रमा सरकारले खासै ध्यान नदिदाँ आम उपभोक्ताहरु ठगीनुका साथै असुरक्षित समेत हुन पुगेका छन् । सरकारी बेवास्ताको फाइदा उठाउँदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले एउटै गाडीमा ५३ प्रतिशतसम्म बढी मूल्य लिएर उपभोक्ताको ढाड सेकाउँदै आएको थियो । कानुनलाई समेत बेवास्ता गर्दै लुट मच्चाएको बिक्रेताले उपभोक्ता ठग्दा सम्बन्धित निकाय मौन बसिदिएकै कारण अहिले नेपाली उपभोक्ताहरु असुरक्षित हुन पुगेका छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘इओन इरा’ गाडीको बिक्रीमा ५३ प्रतिशत, ग्रान्ड आइटेन गाडीमा ४३ प्रतिशत, आइ ट्वान्टी गाडीमा ३४ प्रतिशत र क्रेटा एसएक्स प्लस गाडीमा २६ प्रतिशतसम्म बढी मूल्यमा बिक्री गर्दै आएको छ । 

प्रत्येक गाडीमा कम्तीमा ६ लाख ४३ हजार रुपैयाँभन्दा बढी नाफा लिएर बिक्री गरिरहेको तथ्य फेला परेको समाचार प्रकाशन भैसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ लाख ८७ हजार मूल्य पर्ने ग्रान्ड आइटेन गाडीलाई २६ लाख ८६ हजारमा बिक्री गरेको थियो । यस्तै, २८ लाख ३४ हजार मुल्य पर्ने हुन्डाई आइ ट्वान्टी गाडीलाई ३७ लाख ९६ हजार, ४१ लाख ६७ हजार पर्ने क्रेटा एसएक्स प्लस गाडीलाई ५२ लाख ५६ हजारमा बिक्री गरेको थियो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । 

वास्तविक मूल्यमा बीस प्रतिशतभन्दा बढी रकम जोडेर सामान बिक्री गरिनु विद्यमान कानुन अनुसार ‘कालोबजारी’ गर्नु सरह मानिदै कारबाही हुने प्राबधान रहेको छ तर सो कम्पनीले अत्याधिक मुल्य निर्धारण गरेर बिक्री गर्दै आउदा समेत अहिले सम्म कारबाही गर्नुको साट्टो अनुसन्धान समेत सरकारले गरेको छैन । भन्सार शुल्क, प्रशासनिक खर्चदेखि अन्य अतिरिक्त खर्चलाई उपभोक्ता मूल्यमा जोडेर सो कम्पनीले उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएको छ। सो कम्पनीले गाडी बिक्रीमा ५३ प्रतिशतसम्म बढी मूल्य असुली गरेको तथ्य बाहिर आएको छ ।

सो कम्पनीको खरिद मुल्यभन्दा लाखौं रुपैयाँ बढि लिएर गाडी बिक्री गर्दै आइरहेकाले बिक्री गर्ने चारपाङ्ग्रे सवारीसाधनमा वास्तविक मूल्यमा अतिरिक्त शुल्क थपेर उपभोक्ताको ढाड सेक्दै आएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको भनाई भएपनि कारबाही गर्ने आँट भने अहिलेसम्म गर्न सकेको छैन । सो कम्पनीले बिक्री गर्दै आएको अधिकाशं ब्राण्डका गाडीको मूल्यदेखि गुणस्तरसम्ममा लुटधन्दा चलाउदै आएपछि कारबाहीबाट बच्न शक्तिकेन्द्र धाउदै आएको समाचार समेत प्राप्त भएको छ । 

सो कम्पनीका प्रमुखले आफुहरु ठूला करदाता रहेकाले हतोत्साहित नगर्न हारगुहार गर्दै शक्तिकेन्द्र धाउदै आएको पाईएको छ भने सो लविङ महासंघबाट गर्नु पर्ने भन्दै दवाब समेत दिएको महासंघस्थित एक उच्च स्रोतले जनाएको छ । कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार वास्तविक मूल्यमा २० प्रतिशतभन्दा बढी जोडेर वस्तु बिक्री गरे कालोबजारी गरेको ठहर्छ । सोही ऐनले यसरी अचाक्ली मूल्य असुले तिरेको रकम फिर्ता गराई बिक्री गरेको बस्तु जफतसहित दस बर्ष कैद, जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरेको छ । तर, नियमनकारी निकायको वेवास्ता र ठगी गर्नेको शक्ति केन्द्रसँगको पहुँचका कारण उनीहरुले अक्सर उन्मुक्ति पाइरहेका छन् ।

सेन्ट्रो नामको गाडीमा देखिएको प्राविधिक समस्याअघिसम्म हुन्डाईका कुनै पनि ब्राण्डको गाडीमा २१ लाख ५० हजार रुपैयाँभन्दाबढी नाफा लिई बिक्री गरिदै आएको थियो । सो कम्पनीले सोरुम, कर्मचारी खर्चलगायतमा लागेको खर्चसमेत जोडेर गाडी बिक्री गरिदै आएको छ। विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मूल्यांकन कार्यक्रम) ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको कारहरु नेपालमा भने पछिल्लो समयमा मुल्य घटाएर बिक्री हुदै आएको पाईएको छ । यो गाडी विश्वकै असुरक्षित गाडीको रुपमा भारतले घोषणा गरेको छ ।

हरेक वर्ष एनक्यापले गर्ने अनुसन्धानमा यो ‘कार’ असुरक्षित रहँदै आएको छ । काठमाडौंको नक्सालमा मुख्य कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले दक्षिण कोरियाको हुन्डाई कार बिक्री गर्दै आएको छ तर सो कारहरु सबै भारतबाट नेपाल आयात गर्ने गरेको छ । कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट पारेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतः सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!