चार दिनदेखि नगरपालिकामा तालाबन्दी

- June 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाजुरा : जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् ।

नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गरेको भरत विकले बताउनुभयो ।

कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरुको भनाइ रहेको छ ।

कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफू अनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको आरोप लगाइएको छ । 

वडाध्यक्षसमेतले जनताको मागलाई ध्यान नदिएर नगरप्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनताको स्वास्थ्यलाई पर्ने असरको बेवास्ता गरिएको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरी दिनभर कोल्टीमा नारा जुलुससहित विरोध गर्ने गरेका छन् ।

खोला नजीकै फोहर व्यवस्थापन गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिङ्गो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदूषित हुने असन्तुष्ट पक्षहरुको तर्क छ ।  आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!