कृषिमा बजेट कम भएको मन्त्रीकै गुनासो, ‘मलको कालोबजारी गर्नेलाई सरकारले छोड्दैन्’

- June 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको सुनाउँदै भएको बजेटलाई कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताए ।

उनले भने,‘हामी केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुद्यमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं । सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं । यसपटकको बजेटमा पर्याप्त बजेट छुट्याईएको छ ।’

मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउनेगरि कार्यक्रमहरु अघि सारिएको पनि सुनाए । त्यस्तै, किसानको वर्गीकरण यसपटकको बजेटमा समावेश नभएपनि आफूले यो कार्यक्रमलाई अघि बढाउनको लागि प्रयत्न गरिरहेको पनि उनको भनाई छ ।

उनले भने,‘किसानको वर्गीकरण गर्दा किसानको पहिचान हुन्छ । यसो गर्न सकियो भने उहाँहरुको समस्यापनि त्यहीअनुसार सुन्न पाईन्छ ।’

प्रदेश तथा स्थानीय तहमा सशक्त अनुदानको व्यवस्था गरिएको पनि उनले जनाए । उनले भने,‘कृषिमा बजेट जति आएको छ, त्यो पर्याप्त छैन । तर, यसको सही सदुपयोग गर्नुपर्छ । यसप्रति हामी चनाखो छौं ।’ मन्त्री खनालले अण्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर भएको पनि सुनाए ।

त्यस्तै, किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्दैै उनले भने,‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पुर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’ उनले अनुदानमा साँढे तीन खाल मेट्रिक टन मल किसानलाई दिन सकिने भएपनि ६ लाख मेट्रिक टनको माग रहेको सुनाए ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको ठूलो योगदान रहेको सुनाउँदै उनले आगामी दिनमा पनि कृषिको वृद्धिदर नघट्ने दाबी गरे ।

‘हामीले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेका थियौं’उनले थपे,‘त्यस्तै धान, गहुँ, मकैलगायत अन्य बालीहरुको जोन तथा सुपरजोन कार्यक्रमलाई पनि सशक्त रुपमा सञ्चालन गरेका थियौं । यही भएर कुल ग्राहस्थ उत्पादनमा कृषिको ठूलो योगदान रह्यो ।’

नेपालबाट अलैंची, अदुवा, कफीको निर्यात भैरहेको सुनाउँदै यी उत्पादनमा अहिलेपनि ठूलो माग रहेको उनको भनाई छ । खनालले भने,‘कफीको ठूलो माग छ, हामी कफीको लागि सुपरजोन बनाएर कार्यक्रम अघि बढाउन लाग्दैछौं ।’ उनकाअनुसार अहिले साँढे ५ सय मेट्रिक टन कपीको उत्पादन भएपनि बजारमा ५ हजार मेट्रिक टनको माग रहेको छ ।

उनले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउनेगरि मलको ब्लेण्डिङ कारखाना खोल्न लागिएको पनि सुनाए । ‘यसको लागि हामीले १५ करोडको प्रस्ताव गरिएको छ।’–उनले थपे । त्यस्तै, युएसटी र धुलो दुधको फ्याक्ट्री पनि खोल्न लागिएको उनले जनाए ।

उनले सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा रहेको सुनाउँदै यो अवधिमा कृषिको पनि राम्रो जग बसेको स्पष्ट पारे । उनले भने,‘अहिले कृषि क्षेत्रमा राम्रो भएको छ ।’ उनले प्याज, आलुजस्ता उत्पादनपनि आयात भएको वस्तुपरक यथार्थ सुनाउँदै अब यसतर्फपनि सरकारले विशेष ध्यान पुर्याउने स्पष्ट पारे ।

मलमा कालोबजारी भएको भन्ने कुरामा केही सत्यता रहेकोले त्यसतर्फपनि आफू चनाखो रहेको बताउँदै उनले विचौलियाहरुलाई कडाई गर्ने चेतावनी दिए ।

उनले अहिले कुल जनसंख्याका ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको सुनाउँदै यो संख्यालाई झारेर २५ प्रतिशत बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘कृषिमा धेरै जनसंख्याको आवद्धताभन्दा यसमा आधुनिकीकरण गर्दै यान्त्रिकरणतर्फ जानुपर्छ । यसमा निर्भर रहेको जनसंख्यालाई अन्य क्षेत्रतर्फ रोजगारी सिर्जना गर्नेतर्फ लगाउनुपर्छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!