सशस्त्र आईजीपीसम्म तस्करी कमिशन

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल–भारत सीमा क्षेत्रलगायत अन्य ठाउँहरुबाट हुने तस्करी र अवैध कारोबार नियन्त्रणका लागि गोप्य सूचना संकलन गर्न नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले समेत सादा पोशाकमा घुमुवा राख्ने गरेको छ ।

पछिल्लो समय घुमुवाका काम गोप्य सूचना संकलन गर्नुभन्दा जसले घुमुवा राखेको छ, उनीहरुका लागि रकम असुली गर्ने यन्त्रका रुपमा प्रयोग भएपछि उनीहरुको चौतर्फी विरोध हुने गरेको छ ।

त्यस्तै विरोध सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशका डीआईजी प्रवीणकुमार श्रेष्ठले घुमुवा राखी असुली गरेको बारेमा सार्वजनिक भएपछि उनले तोकिएका घुमुवालाई फिर्ता गरेका छन् ।

उनले राखेका घुमुवा असई दीपेन्द्र झा र सिपाही रोशन मिश्रले सीमा क्षेत्रमा मरिच तस्करहरुसँग साँठगाँठ गरी हाकिमलाई रकम पुर्याउनुपर्छ भन्दै रकम लिएर निर्वाध तस्करीको लाइन चलाउने गरेका छन् ।

डीआईजी श्रेष्ठले सीमा क्षेत्रमा घुमुवा परिचालन गरी भन्सार छलीका सामान भित्र्याउने व्यापारीहरुसँग असुली गरेको सार्वजनिक भएपछि असई झा र मिश्रलाई बाहिनीमा तानिएको बताइएको छ ।

डीआईजी श्रेष्ठ तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा सरुवा भएको चार महिनामै पुनः २ नम्बर प्रदेशमा सरुवा भएका थिए ।

प्रदेशको अवधारणापछि गण्डकी प्रदेशमा सीमा नजोडिएपछि उनले तस्करहरुसँग कमिशन लिनकै लागि २ नम्बर प्रदेश रोजेर शक्ति केन्द्रको आर्शीवादमा सरुवा मिलाउन सफल भएका थिए ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालका अति निकट डीआईजी सुरज श्रेष्ठका काकाका छोरा भएकाले प्रवीणकुमार श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रबाट पुनः २ नम्बर प्रदेशको इन्चार्जमा पठाइएको थियो ।

यस्तो सरुवा विगतमा उमेर ढाँटेर अवधिभन्दा बढी समयसम्म जागिर खाने विवादास्पद डीआईजी नगेन्द्र सिंहको हकमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गरेका थिए । श्रेष्ठलाई पनि नगेन्द्र सिंहकै शैलीमा इन्चार्ज टु इन्चार्जमा सरुवा गरिएको थियो ।

आईजीपी खनालले २ नम्बर प्रदेशबाट तत्कालीन डीआईजी कविन्द्रमान श्रेष्ठलाई ९ महिना नपुगी सरुवा गरेर उनलाई पठाइएको हो । सशस्त्र प्रहरी बलमा कति डीआईजीले क्षेत्र वा प्रदेशमा सरुवा हुनै पाएका छैनन् ।

तर, आईजीपी खनालका निकट डीआईजी सुरज श्रेष्ठका आफ्न्त भएकै कारण प्रवीण श्रेष्ठले यस्ता थुप्रै अवसर पाउँदै आएका छन् ।

सीमा क्षेत्रमा बसेर असुली गरेको रकम डीआईजी सुरेज श्रेष्ठमार्फत आईजीपीसम्म पुर्याउने भएपछि उनलाई यस्तो अवसर दिएको स्रोतको दाबी छ । २ नम्बर प्रदेशमा सरुवा भएपछि डीआईजी श्रेष्ठले सीमा क्षेत्रमा असुलीका लागि असई दीपेन्द्र झा र सिपाही रोशन मिश्रलाई परिचालन गरेका थिए ।

झाको दरबन्दी १० नम्बर गण सर्लाहीमा छ । तर, उनीहरुलाई २ नम्बर प्रदेशका रौतहट, सर्लाही र धनुषाका बोर्डरमा असुली गर्नका लागि परिचालन गरिएको छ । १० नम्बर गणका प्रमुख एसपी समरबहादुर श्रेष्ठ छन् ।

उनलाई आईजीपी खनालले नै फोन गरी झालाई घुमुवाका रुपमा खटाउन निर्देशन दिएका थिए । यो निर्देशनले आईजीपीको नियत समेत असुलीमा रहेको खुलासा भएको, गोलमेचमा उल्लेख छ । 

२ नम्बर प्रदेशका सबै सीमा नाकाहरुबाट खुलेआम तस्करी हुने गरेका तथ्यहरु सार्वजनिक भएपछि नेपाल प्रहरीले संलग्न प्रहरीमाथि कारबाही गर्यो तर, सशस्त्रले तस्करीमा मुछिएकाहरुमाथि कुनै कारबाही नगरी उन्मुक्ति दिनुका साथै तस्करहरुसँग रकम उठाउन सक्नेहरुलाई बढुवा दिँदै युनिट प्रमुखलाई परिचालन गर्न आईजीपी खनाल स्वयम्ले निर्देशन दिनु कति उचित होला ?

सीमा क्षेत्रमा पछिल्लो समय सुपारी र मरिचको तस्करी अत्याधिक बढेको छ, ती तस्करहरुबाट सशस्त्र प्रहरीका बिओपीदेखि आईजीपीसम्म राम्रो कमिशन पुग्ने गरेको स्रोतले दाबी गर्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!