विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ :प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिनुभयो । 

उक्त  विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताउनुभयो । 

रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उहाँको भनाइ थियो । अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी  तय गरिएको जानकारी दिनुभयो ।

विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोल्नुभएको थियो ।  त्यसअघि डा खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण  उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन ) विधेयक, २०७६’ प्रस्तुत गर्नुभएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ  २७ गते बिहान ११ बजे बस्नेछ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!