सूर्य नेपालको कर विवाद १२ वर्षदेखि घुमेको घुम्यै

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं,सूर्य नेपाल प्रालिसँग सम्बद्ध कर विवाद १२ वर्षसम्म अन्तिम निर्णय हुन नसकी सर्वोच्च अदालतका विभिन्न इजलाशमा घुमेको घुम्यै छ ।

२०६४ भदौ २५ मा पहिलो विवाद दर्ता भएयता लगातार अन्य विवादहरू पनि दर्ता भएको सर्वोच्च अदालतको अभिलेखबाट देखिएको छ । हाल उक्त कम्पनीसँग सम्बद्ध विवाद १२ थान छन् । तीमध्ये अन्तिम विवाद २०६६ माघ २१ मा दर्ता भएको हो ।

१२ वर्षको अवधिमा सुनुवाइका लागि ३९ पटक पेशीमा चढाइएको पाइएको छ । पेशीमा चढेको दिन प्रायः सुनुवाइ नै हुन पाएको छैन । कहिले हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पर्ने, कहिले सुनुवाइका लागि समय अभाव हुने र कहिले पक्ष र विपक्षले नै हटाउने गरेका कारण सुनुवाइ हुन नसकेको देखिन्छ । त्यसमध्ये १९ पटक हेर्न नभ्याइने, १७ पटक हेर्न नमिल्ने, एकपटक इजलाश बस्न नभ्याएको तथा अन्य बेला आदेश भएको पाइएको छ ।

अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभाग, ठूला करदाता कार्यालय लगायत निकायसँग सूर्य नेपालको विवाद भएको हो । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार यी मुद्दाहरूमा करोडौं रुपैयाँ बराबरको कर विवाद उल्लेख छ ।

‘सूर्य नेपालसँग सम्बद्ध विवादहरू लामो समयसम्म निरूपण हुन नसकेको देख्दा आश्चर्य लागेको छ,’ ती कर्मचारीले भने, ‘अब त यसले निकास पाउँछ होला भनेर मिसिलहरू इजलाशमा पठायो तर विभिन्न कारणले फर्केर आउने गरेको छ ।’

पुराना मुद्दाहरू छिनोफानो गरिसक्ने गरी अदालतले आफ्नो कार्ययोजना बनाएको भए पनि १२ वर्षसम्म यस्ता विवाद अल्झिएर बस्दा त्यस्तो कार्ययोजना सफल हुन नसकेको सर्वोच्चका एक अधिकृतले बताए । सरकारी निकायसँग सूर्य नेपालको कर विवाद आर्थिक वर्ष २०६१/६२ देखि २०६४/६५ सम्मका छन् । ती विवाद कहिले टुंगिन्छन् भन्नेमा अझै पनि अन्योल रहेको सर्वोच्चका कर्मचारीहरू बताउँछन् ।

पछिल्लो पटक गत जेठ २० मा न्यायाधीशहरू हरिकृष्ण कार्की र हरिप्रसाद फुयालको इजलाशमा सुनुवाइका लागि पेशीमा चढेको थियो । त्यस दिन दुई न्यायाधीशमध्ये एकले हेर्न नमिल्ने भएका कारण निकास पाउन सकेन । आर्थिक अभियानबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!