नेपाल वायुसेवा निगम डुबाउन लागी परे अध्यक्ष खरेल

- June 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । कुनै पनि संस्थाको कार्यकारी अध्यक्ष मात्र होइन सम्पूर्ण कर्मचारीको ध्यान हुन्छ, आफ्नो संस्थालाई कसरी आर्थिक रुपमा सबल र सक्षम बनाउने ? संस्था आर्थिक तथा वित्तीय रुपमा बलियो भयो भने मात्र आफ्नो मात्र होइन, देशकै अर्थतन्त्रमा योगदान दिन सकिन्छ । त्यही भएर धेरै संस्थामा कर्मचारीहरु आहोरात्र खटिएर काम गर्छन् र बिग्रिएको संस्थालाई सुधार्छन् । तर, नेपाल वायुसेवा निगममा भने त्यसको ठीक उल्टो स्थिति देखा परेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमलाई नै टाट उल्ट्याउने तरिकाले कदम चालेका छन् । 

जापानमा हुनै लागेको निगमको वाइडबडी विमानको उडानलाई निगमका कार्यकारी अध्यक्ष खरेलले जबर्जस्ती रोकिदिएका छन् । यसले निगमको आर्थिक अवस्था थप नाजुक बन्ने देखिन्छ । वाइडबडी विमानको उडान रोक्दा निगमलाई दैनिक लाखौं रुपैयाँ घाटा पर्दै आएको छ । निगमले वाइडबडी विमान खरिद गर्दा जापान, कोरिया, चीन, युरोपलगायतका देशमा उडान भर्ने योजना बनाएको थियो । लामो समयदेखि जापानमा रोकिएको निगमको उडान नियमित गर्ने विषयमा नेपाल र जापान सरकारबीच सहमति भएर आउँदो असार १९ गतेबाट ओसाकाको कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टबाट गर्ने तय भएको थियो । निगम स्रोतका अनुसार कार्यकारी अध्यक्ष खरेलको दबाबमा निगमले उक्त उडान हुने मिति अनिश्चितकालका लागि बन्द गरिदिएको  भन्दै आर्थिक दैनिकमा समाचार प्रकाशन गरिएको छ । । 

निगमका एक अधिकारीका अनुसार तत्काल तोकिएको मितिमा उडान भर्न नसक्ने भए अर्को मिति तोकेर असार १९ गते मिति स्थगित गर्न निगमभित्रबाट दबाब परे पनि त्यसलाई बेवास्ता गर्दै कार्यकारी अध्यक्ष खरेलले कसैको उक्साहटमा लागेर अनिश्चित कालका लागि जापानको उडान रोकिदिएका हुन् । यदि जापानमा नियमति उडान गर्न पाएको भए निगमको आर्थिक अवस्थामा सुधार आउने थियो । निगमले तत्काल यात्रुहरु नपाएको बताए पनि त्यसमा कुनै सत्यता छैन । किनकि पछिल्लो समयमा नेपाल र जापानबीच कामको सिलसिलामा आवतजावत बढेको छ । निगमले जापान उडानको लागि एक महिनाअगाडि नै बुकिङ खुला गरेको जनाएको थियो । बुकिङ खुला गरे पनि निगम व्यवस्थापनले टिकट बिक्रीका लागि पहल गरेको थिएन । 

निगमको वाइडबडी विमान खरिद गर्ने काम सुगतरत्न कंसाकार महाप्रबन्धक भएको बेला गरिएको थियो । कंसाकारले नै जापान उडानको लागि सहमति गराएका थिए । आफूले विमान खरिद नगरेको र कंसाकारले बनाएको योजनाअनुसार काम गर्दा निगमले आम्दानी गर्ने देखेपछि खरेलले उक्त वाइडबडडी विमानलाई नै रुट नपाएको कारण चलेन भनेर बिक्री गर्नका लागि पाएको रुट समेत बन्द गराउन थालेको निगमका एक अधिकारीले जानकारी दिए ।

‘पाएको रुटलाई अनिश्चित कालका लागि बन्द गर्नु निगमका कार्यकारी अध्यक्ष खरेल कसैको दबाबमा परेर निगमको वाइडबडी विमान बिक्री गर्ने पक्षमा छन्’, निगमका ती अधिकारीले भने, ‘यो सबै काम खरेलले बोइङ कम्पनीको एजेन्टले भनेअनुसार गरिरहेका छन् ।’ दुईवटा न्यारोबडीका बोइङ कम्पनीको पुराना विमान हुँदाहुँदै निगमले दुई वाइड र दुई न्यारो गरी चारवटा विमान एयरबससँग खरिद गरेको छ । त्यही बेलादेखि बोइङ कम्पनी जसरी पनि निगमबाट एयरबसका विमान विस्थापित गराउने योजनामा छ । त्यही योजनाअनुसार कार्यकारी अध्यक्ष खरेल पछिल्ला उनका कदमहरुले पनि पुष्टि गर्दै गएको निगमका अर्का अधिकारी बताउँछन् । ‘खरेल बोइङकै एजेन्टजसरी चलेका छन् । यसैगरी चल्ने हो भने निगम टाट उल्टिन्छ । त्यसको सबै जिम्मेवारी खरेलले लिनुपर्छ र त्यतिबेला निगमका कर्मचारीहरुले खरेललाई त्यसै छाड्दैनन्’, निगमका ती अधिकारीले भने । 

कार्यकारी अध्यक्ष भएर आएदेखि नै खरेल निगमलाई आर्थिक रुपमा बलियोभन्दा पनि कमजोर पार्ने योजनामा सक्रिय छन् । खरेल निगममा आउनुभन्दा अगाडि महाप्रबन्धक कंसाकारले जापानको नारिता विमानस्थलबाट निगमको उडान सुरु गर्ने प्रक्रिया अगाडि बढाएका थिए । नारिताबाट विमान उडाउँदा निगमले आम्दानी गर्ने देखेपछि खरेलले बोइङका एजेन्टको सल्लाहअनुसार कंसाकारले अगाडि बढाएको प्रक्रिया रोकेर ओसाकाको कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडान भर्ने सम्झौता गरेका थिए । यदि कंसाकारले बनाएको योजनाअनुसार निगम अगाडि बढेको भए असार १९ गतेदेखि नारिता विमानस्थलबाटै उडान हुने थियो र त्यहाँबाट पर्याप्त यात्रुहरु पाउने थियो ।

कंसाकारको योजनालाई जसरी पनि तुहाउने योजनाअनुसार खरेल अगाडि बढ्दा निगमको आर्थिक अवस्था थप कमजोर बन्दै गएको छ । निगमले नयाँ रुट नपाएपछि विमान खरिद गर्दा लिएको ऋणको किस्ता पनि रोकिएको छ । खरेल उक्त ऋणको किस्ता तिर्ने पक्षमा छैनन् । किस्ता नतिर्दा ऋण दिने संस्थाले दबाब दिने र त्यसको ऋण वाइडबडी विमान बिक्री गरेर मात्र दिने योजना खरेलले बनाएका छन् । खरेलको उक्त योजना निगमका लागि आत्मघाती हुने पक्का छ । निगमको विमान खरिदको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अब खरेलले निगमको विमान उडान रोक्न गरेको हर्कतको बारेमा पनि अख्तियारले छानबिन थाल्ने अवस्था सिर्जना हुँदै गएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!