सिप्लिगानको स्रोतकेन्द्र बनाइँदै

- June 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दमौली : लोप हुँदै गएको सिप्लिगानको बीउ उत्पादन गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा सिप्लिगानको स्रोतकेन्द्र निर्माण गरिने भएको छ ।

डिभिजन वन कार्यालयले सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा सिप्लिगानको स्रोतकेन्द्र बनाउन लागेको हो ।

स्रोतकेन्द्र बनाउन सामुदायिक वनको नाङ्गेडाँडामा विश्व वातावरण दिवसका अवसरमा आज सिप्लिगानका बिरुवा रोपण गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, मनोज रानाभाट, वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटलगायत उपभोक्ताले सिप्लिगानको बिरुवा रोपण गर्नुभएको छ ।

स्रोतकेन्द्र स्थापनाका लागि कार्यालयले रु चार लाख लगानी गरेको बरालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको आर्थिक, प्राविधिक सहयोग र उपभोक्ताको सहभागितामा सिप्लिगानको स्रोतकेन्द्र निर्माण हुनेछ । स्रोत केन्द्र निर्माणका लागि नाङ्गेडाँडामा पाँच हजार सिप्लिगानका बिरुवा रोपण गरिनेछ ।

“लोप हुँदै गएको सिप्लिगानको संरक्षण गर्दै बीउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र स्थापना गर्न लागेका हौँ”, प्रमुख बरालले भन्नुभयो, “मध्य पहाडी भागमा पाइने सिप्लिगानको बजारमा निकै ठूलो माग छ ।”

बरालका अनुसार सिप्लिगान औषधीय गुण भएको मध्यम आकारको रुख वर्गमा पर्ने वनस्पति हो । उहाँका अनुसार सिप्लिगानलाई उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धीलगायत रोगको औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।

उहाँले भन्नुभयो, “पहिला–पहिला बारीमा समेत प्रशस्त सिप्लिगान पाइन्थ्यो, तर अहिले विस्तारै यो लोप हुँदै गइसकेको छ । औषधिको रुपमा यसलाई प्रयोग गर्न सकिने भएकाले यसको माग उच्च छ ।” स्रोतकेन्द्र स्थापना गर्ने वन क्षेत्रमा तारबार गरिएको छ ।

सिप्लिगानको स्रोतकेन्द्र बनाउन सामुदायिक वनलाई छनोट गरेकामा स्थानीय उपभोक्ता खुशी भएका सामुदायिक वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीयवासीको हो, यसलाई नमूनाका रुपमा विकास गर्न सबै लाग्नेछौँ ।”

डस्टबिन वितरण

विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालयले शुक्लागण्डकी नगरपालिका–५ स्थित छ वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ ।

बेलचौतारामा आज आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले प्रत्येक टोल विकास संस्थालाई पाँच÷पाँच वटा डस्टबिन वितरण गर्नुभयो ।

फोहर व्यवस्थापनका लागि सहयोग पु¥याउने उद्देश्यसहित टोल विकास संस्थालाई रु ३० हजार बराबरको डस्टबिन प्रदान गरिएको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो । सोही अवसरमा नमूना टोलमा अशोका र म्याङ्ग्यो स्टिकका ३६५ बिरुवा रोपण गरिएको थियो ।

प्रदेशसभा सदस्य कोइरालाले वातावरण संरक्षण गर्न नसकिए भयावह स्थिति उत्पन्न हुने भएकाले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

वातावरणीय सन्तुलन कायम गर्न पानीका मुहान संरक्षण र वनजङ्गल संरक्षण गर्ने नीति प्रदेश सरकारले लिएको उहाँले जानकारी गराउनुभयो ।

नगरप्रमुख गुरुङले सर्वश्रेष्ठ भनिएका मानिसबाट नै वातावरण विनाशको काम भएकाले वातावरण बचाउन नसकिए मानिसको आयुसमेत लामो नहुनेमा जोड दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नगर उपप्रमुख सविता रसाइलीलगायतले वातावरण संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक भएकोमा जोड दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!