सतहत्तर जिल्लाका उत्पादनको प्रदर्शनी हुने

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : तीसौँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा मुलुकका ७७ जिल्लाकै उत्पादन प्रदर्शनीमा राखिने भएको छ । यही जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा हुने औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहने घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र घरेलु विभागद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “जिल्लागतरुपमा विशिष्ट पहिचान दिने ७७ जिल्लाका उत्पादन यसपटक प्रदर्शनीमा राखिनेछ ।”
  
मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूलप्रवाहीकरण गर्ने र उद्यमीलाई प्रदर्शनीका क्रममा सम्मान तथा पुरस्कृत गरी हौसल्ला प्रदान गर्दै आएको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “स्वदेशमा उत्पादित वस्तुलाई प्रदर्शनीका माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाइ बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रिय मागअनुसार वस्तु उत्पादनमा उद्यमीलाई प्रोत्साहन गर्ने तथा उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गर्ने प्रदर्शनीको मूल उद्देश्य हो ।”

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौँ, औद्योगिकीकरणका लागि सबै जुटौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रदर्शनीमा २०० लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुका प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी दिइयो । प्रदर्शनीका क्रममा १४ उत्पादन समूह वर्गीकृत गरी लघु उद्यमीलाई पुरस्कृत गरिने कार्यक्रम रहेको जानकारी दिइयो । प्रदर्शनीमा महदेखि बाँस अल्लोबाट उत्पादन हुने कपडासम्म रहनेछ ।

हालसम्म मुलुकभर चार लाख १८ हजार ५२ घरेलु र साना उद्योग दर्ता रहेको तथ्याङ्क रहे पनि आव २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालमा दुई लाख ९९ हजार ३११ घरेलु तथा साना उद्योगको सङ्ख्या रहेको छ । त्यसमध्ये एक लाख ५० हजार लघुउद्यम सञ्चालनमा छन् भने करीव ९० हजार साना उद्योग रहेको सो अवसरमा जानकारी दिइयो ।

घरेलु तथा साना उद्योग व्यवसायमा रु चार खर्ब ११ अर्ब ९५ करोड लगानी रहेको र २६ लाख छ हजार ८६ जनाले रोजगारी प्राप्त गरिरहेको बताइएको छ । मुलुकको कूल गार्हथ्य उत्पादनमा समग्र औद्योगिक क्षेत्रको छ प्रतिशत योगदान हुँदै आएको छ ।

मुलुकबाट हुने कूल निर्यातको ७० प्रतिशत भन्दाबढी योगदान घरेलु तथा साना उद्योगबाट हुँदै आएको छ । यसअघि यो प्रदर्शनी  वैशाख २६ देखि ३० गतेसम्म गर्ने घोषणा भएकामा स्थान अभावको कारण रोकिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!