जनविश्वासअनुसार मिथिलाञ्चलमा वरपूजा

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम, मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।    
    
वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो ।

त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।    
    
यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् ।

यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।    
    
यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!