विवादको चुरो ! रंगशाला भत्काएको बार ठड्याउन जुटे मेयरदेखि सांसद्सम्म

- June 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 रामपुर, भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला निर्माण हुने जग्गाको पश्चिमतर्फ लगाइएको जस्ताको अस्थायी बार भत्काएको तीन दिनपछि उठाएर निर्माणको काम पुनःआरम्भ गरिएको छ ।

शनिबार बिहान एकैपल्ट हजारौँको संख्यामा रंगशालास्थल पुगेका चितवनवासीले ढलेको तारबार उठाएर स्थगित भएको निर्माणको पुनः सुरू गर्ने हौसला प्रदान गरेका हुन् । शुक्रबार राति भरतपुर महानगरपालिका वडा नम्बर–१५ र १६ का पाँचवटा टोल विकास संस्थाको संयुक्त बैठकले डोजर लगाएर भत्काएको तारबार उठाउने, सुरक्षा दिने, रंगशाला निर्माण पुनः सुरू गर्न आग्रह गर्ने निर्णय गरेपछि रंगशाला निर्माणको काम शनिबारदेखि सुरू भएको हो ।

शनिबार बिहान ७ बजे सांसद् कृष्णभक्त पोखरेल, प्रदेश सांसद्हरु कृष्णप्रसाद भूर्तेल, विजय सुवेदी, घनश्याम दाहाल ‘अविनाश’, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, नेपाली कांग्रेस चितवनका सचिव राजीव न्यौपानेलगायतले रंगशाला निर्माणमा आफूहरुको पूर्ण साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।


जिल्लाकै गौरवको परियोजना निर्माणका लागि सक्दो साथ र सहयोगका निम्ति जिल्लावासीलाई पनि उनीहरुले आग्रह गरे । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेसागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका थिए । बार बनाउने काममा स्थानीयहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

धुर्मुस र सुन्तलीको जयजयकार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी तारबार भत्काउनेहरुप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासीले धुर्मुस र सुन्तलीको जयजयकार गरेका छन् । उनीहरुले धुर्मुस–सुन्तली जिन्दावाद, भत्काउनेले बनाउनैपर्छ भन्ने नारा लगाएका छन् ।

अराजक समूहले डोजर लगाएर तारबार भत्काएपछि ठप्प रहेको रंगशाला निर्माणको काम शनिबार बिहान पुनः सुरू गरिएपछि स्थानीयवासीले धुर्मुस र सुन्तलीको जयजयकार गरेका हुन् । स्थानीयले प्ले कार्डसहित ¥याली नै निकालेर दरिलो साथ रहेको प्रतिबद्धता जनाए ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले विज्ञप्ति जारी गर्दै सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्मका लागि सम्पूर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका थिए । यसअघि पनि कर्मचारी र कामदारलाई धम्क्याउने, थर्काउने गरिरहेकोमा एकाएक डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको उनले जनाएका थिए ।

फाउन्डेसनका अध्यक्ष कट्टेलले शनिबार रंगशाला निर्माणस्थलमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै आफूले गलत काम गर्ने मनसाय नराखेको र कुनै गलत काम गरेको पुष्टि भएमा रुखमा झुन्डिएर मर्न तयार रहेको बताए ।

विवादको चुरो

धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सीमानामा बनाउँदै गरेको रंगशालाको डीपीआर बन्ने क्रममा छ । फाउन्डेसनले साइड कार्यालय स्थापना गरेर जग्गा संरक्षणको काम गरिरहेको छ । फाउन्डेसनले तीनतिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फका स्थानीयले अवरोध गरेका थिए । कारण थियो बाटो । रंगशालाको पश्चिमतर्फ अहिले कतै छ मिटर त कतै सात मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन ।

स्थानीयको विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् भन्ने चाहना थियो । त्यसका लागि विश्वविद्यालयमा ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस–सुन्तली फाउन्डेसनलाई दबाब दिनेजस्ता काम स्थानीयले गरे । फाउन्डेसनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरेका थिए ।

चार महिनादेखि उठेको बाटोको यही विवादका कारण जस्तापाताको बार लगाउन नपाउँदा सामानको सुरक्षामा चुनौती थपिएको सीताराम कट्टेलले स्थानीयसँग बताए । रंगशालाका लागि समेत बाटो चाहिने भएकाले फाउन्डेसनको तर्फबाट सक्दो सहयोग गर्ने उनले बैठकमा बताएका थिए । तर, बाटोका लागि यति मिटर छाड्न सक्छु भनेर अहिल्यै निर्णय दिन नसक्ने कट्टेलको भनाइ थियो । रंगशालाको डीपीआर तयार भएपछि बाटोका लागि कति जग्गा छाड्ने भन्ने टुंगो लाग्ने उनले बताएका थिए ।

रंगशालाको छेउसम्म करिब १० मिटर जमिन बाटोका लागि छाड्न सकिने गरी डीपीआर बनाउने काम भइरहेको जानकारी पनि कट्टेलले गराएका थिए । उनले बैठकमा भनेका थिए, ‘अहिले सात मिटरको बाटो छ । हाम्रो साइडबाट कम्तिमा १० मिटर छाड्दा १७ मिटर हुन्छ, यहाँहरुले ३र४ मिटर छाड्नुभयो भने ३१ मिटर हुन्छ ।’

सो बैठकमा धुर्मुसले सामान सुरक्षाका लागि जस्ताको बार लगाउन दिन अनुरोध गरेका थिए । स्थानीयले जस्ताले बार्न दिने सहमति त दिए तर, त्यसका लागि दुई दिन समय मागे । स्थानीयले समय मागेपछि बैठकमा लिखित सहमति भएन । सोमबार दुई दिन कट्यो, थप केही कुरा भएन । त्यसपछि मंगलबार फाउन्डेसनले जस्ताले बार लगाउन थाल्यो । र, बुधबार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएर बार भत्काइएको थियो ।

यसअघि नै जिल्ला प्रहरी कार्यालयले बार भत्काएको आरोपमा प्रकाश कँडेल, भैरव बस्ताकोटी १८ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ । नेकपाका कार्यकर्तासमेत रहेका कँडेल र बस्ताकोटीलाई पार्टीले निलम्बन गरिसकेको जनाएको छ । –रामशरण गैरेर चितवन पोष्टका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!