आधा दर्जन फाइनान्सहरुमा निष्क्रिय कर्जा उच्च

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुरेश राउत
काठमाडौं
। आधा दर्जन फाइनान्स कम्पनीहरुमा खराब कर्जा अधिक देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २४ मध्ये आधा दर्जनमा खराब कर्जा अधिक देखिएको हो ।
वित्तीय प्रतिवेदनअनुसार ललितपुर फाइनान्स, वेष्ट फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, सिर्जना फाइनान्स र गोर्खाज फाइनान्समा निष्क्रिय कर्जा उच्च रहेको छ । यस अवधिमा गुह्येश्वरी मर्चेन्ट बंैकिङ एण्ड फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीहरुमा भने निष्क्रिय कर्जा सबैभन्दा कम रहेको छ । ललितपुर फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३१ करोड २२ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड ६२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ७५ दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा बेष्ट फाइनान्सले भने दुई अर्ब २८ करोड तीन लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १८ करोड २३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १६ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यसैगरी सिटी एक्सप्रेस फाइनान्समा पनि नौ दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाइनान्सले चालू आवको पछिल्लो अवधिमा १० करोड ६५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ९२ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातमा कर्जा निष्क्रिय देखिएको हो ।
जानकी फाइनान्समा पनि चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९८ करोड २२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब तीन करोड ८८ लाख ९५ हजार रुपैयाँ कर्जा प्र्रवाह गर्दा झण्डै पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको हो । यसैगरी सिर्जना फाइनान्समा पनि चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब १७ करोड ४१ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४४ करोड ४१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा झण्डै पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गोर्खाज फाइनान्समा पनि झण्डै पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ८२ करोड ३२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १५ करोड ८६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो । यीबाहेकका प्रोग्रेसिभ, सेन्ट्रल, मल्टीपर्पोस र रिलायन्स फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः तीन दशमलव ३९, तीन दशमलव १६, तीन दशमलव ६९ र तीन दशमलव ४३ प्रतिशत रहेको छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा मञ्जुश्री र हाथवे फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात दुईदेखि तीन प्रतिशतको बीचमा रहेको छ ।
युनाइटेड फाइनान्स, पोखरा फाइनान्स र गुडविल फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात एकदेखि दुई प्रतिशतको बीचमा रहेको छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा भने सबैभन्दा कम अर्थात् शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाइनान्सले यस अवधिमा चार अर्ब ४२ करोड ३३ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १० करोड १९ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यसैगरी आईसीएफसी फाइनान्समा पनि शून्य दशमलव ३८ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको छ भने गुह्येश्वरी मर्चेन्टमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्छ । यदि नाघेको खण्डमा राष्ट्र बैंकले कारबाहीस्वरुप कर्जा तथा निक्षेपमा न्यूनतम सीमा तोकिदिने, नयाँ कर्मचारी भर्नामा रोक लगाउने, शाखा विस्तारमा रोक लगाउने लगायतका कारबाही गर्नसक्ने व्यवस्था रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!