आक्रमक हुँदै चितवनका एसपी : भरुवा बन्दुक सहित तीन जना पक्राउ

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, चितवनको भरतपुरमा शुक्रबार अपरान्ह गोली चल्यो, एक घाइते भन्ने खबर गलत रहेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार कसैले कसैलाई गोली हानेर फरार नभइ चोरी सिकारीको लागी पुगेका एक स्थानीयको आफैंले बोकेको भरुवा बन्दुक पड्किदा घाइते भएको स्पष्ट पार्नुभएको छ ।

अस्ति (शुक्रबार) मध्यान्ह आफैंले बोकेको बन्दुक पड्किएपछि केही सञ्चारमाध्यमहरुले छिटो समाचार सम्प्रेषण गर्ने नाममा सत्यतथ्य नै नबुझी चितवनमा गोली चल्यो, एसपी राठौर तनावमा भन्ने शीर्षक सहितको समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारमा कुनै पनि सत्यता नभएको र कसैले कसैलाई गोली चलाइ नभइ आफैंले बोकेको भरुवा बन्दुक पड्किदा भरतपुर महानगरपालिका २९ जुगेडी बस्ने बर्ष ३८ को सुक बहादुर चेपाङ गम्भीर घाइते भएको प्रहरीले स्पष्ट पारेको हो ।

चितवनका प्रहरी प्रमुख राठौरका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ को ईन्द्रेणी सामुदायिक वनमा तीन जनाको समूह अवैधरुपमा भरुवा बन्दुक बोकी जंगलमा शिकार शिकार खेल्न जाँदा चेपाङ घाइते भएका थिए । उनको खुट्टाको घुँडा पछाडी छर्रा लागेको छ ।

६ वटा छर्रा लागेको चेपाङको चितवन मेडिकल कलेजमा उपचार हुन नसकेपछि शुक्रबार राती साँढे १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौं लगेको उहाँ बताउनुहुन्छ ।

घट्नामा संलग्न तीन जना पक्राउ 
यता, उक्त घट्नामा संलग्न रहेको आरोपमा चितवन  प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २९ का सोमबहादुर गुरुङ, ऐ. ऐ. बस्ने सूर्य चेपाङ र सुकबहादुर चेपाङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक सिताराम खतिवडा र प्रहरी चौकी जेगेडीबाट प्रहरी सहायक निरीक्षक सुनील थापाको टोलीले पक्राउ गर्न सफल भएको हो ।

घटनामा संलग्न तीनै जना विरुद्ध थप अनुसन्धान गरी म्याद थपका लागि आजै चितवन जिल्ला अदालत लैजाने तयारी भइरहेको एसपी राठौर बताउनुहुन्छ । घटनामा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा एक सय २९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरीवाना हुन सक्ने प्रावधान छ ।

माटो मुनी लुकाइराखेको अवस्थामा बन्दुक फेला :- एसपी राठौर 
यसैबीच, अनुसन्धानमा खटी गएको प्रहरीको टोलीले इन्द्रेणी सामुदायिक वनको झाडीमा माटो मुनी लुकाएर राखेको अवस्थामा तीन वटा भरुवा बन्दुक फेला पारेको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौर जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ‘एउटा पड्किएको अवस्थाको थियो भने दुई वटामा छर्रा लोड गरेर पड्काउनका लागि तयार पारिएको थियो ।’ उनीहरुले बँदेल, चित्तल लगायतका जंगली जनावरहरुको सिकार गरी खाने गरेको समेत अनुसन्धानबाट भेटिएको राठौरले जानकारी दिनुभयो ।

मिडियाले सत्यतथ्य समाचार प्रकाशित गर्न सिक्नुपर्छ : एसपी राठौर 
यसैबीच, राम्रोसँग सत्यतथ्य नै नबुझी एकलौटी ढंगले छिटो समाचार कस्ले हाल्ने भन्ने होडबाजीले यहाँ र केन्द्रका केही सञ्चारमाध्यमहरुले आफू विरुद्ध निरन्तर रूपमा झुठा खबर प्रकाशित गरेकोमा एसपी सुशील सिंह राठौरले गुनासो पोख्नुभएको छ ।

उहाँले कानुन भन्दा बाहिर जानेलाई यति ठूलो संख्यामा प्रहरीले पक्राउ गरिरहेको समयमा एक पटक कार्यालय प्रमुख समक्ष के भएको हो सत्यतथ्य नै नबुझी प्रहरीको मनोबल गिराउने उद्देश्यका साथ प्रकाशित समाचारले आफुलाइ स्तब्ध बनाएको बताउनुभएको छ ।

उहाँले गत, जेठ ६ गतेदेखी आफ्ना विरुद्ध केही सञ्चारमाध्यमहरुले सत्यता भन्दा बाहिर गइ संगठनलाई आँँच आउने किसिमले समाचार लेखेको प्रति आफ्नु केही गुनासो नरहेको समेत स्पष्ट पार्नुभएको छ ।

साथै, झुठा, अतिरञ्जित समाचार हाले पत्रकार भए पनि नछाड्ने चेतावनी दिदै आफ्नु मर्यादामा रहेर सत्यतथ्य समाचार सम्प्रेषण गर्नुहुन समेत सबैमा अनुरोध गर्नुभयो । कानुन भन्दा माथि कोही छैनन्, आफैं न्यायाधीश बन्ने अनि आफैं बिरोध गर्ने प्रवृत्ति वृद्धि हुँदै गएको छ ।

पत्रकारले के गर्नुहुन्छ के गर्नुहुन्न त्यस्को ज्ञान राख्नुपर्छ, झुठा समाचार हाल्ने , मनगन्ते समाचार हाल्नेलाइ समेत निगरानी गरिरहेको बताउनुहुँदै उहाँले भन्नुभयो : चितवनमा बसेर मैले यो तेह्र महिनासम्म के गरे, के के चाहिँ गरिन ? त्यस्को मुल्यांकन हाम्रो संगठन प्रमुखले गरिरहनु भएको छ ।

लेख्नेले जे सुकै लेखून, मलाई त्यस्ले केही फरक पार्दैन, उहाँले भन्नुभयो : हामीलाई प्रहरी हेर्ड्क्वाटरले निगरानी गरिरहेको छ । उहाँहरुले मोनिटरिङ्ग गरिरहनुभएको छ, सत्यतथ्य समाचार हाले , नागरिकले बिश्वास गर्छ, नभए बिश्वास हुँदैन, उनलेे भने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!