हतियारसहित भेटिएका भारतीय प्रहरीलाई भारत नै फिर्ता

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 हेटौँडा भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।    
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा हिजो आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    

    
मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताउनुभयो । प्रहरी प्रमुख सिंहले भन्नुभयोे, “गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो ।”    
    
कानूनी प्रावधानअनुसार भारतीय प्रहरी यसरी हात हतियारसहित नेपाल आउनु गैरकानूनी हो । त्यसो त विहारबाट हेटौँडासम्म अधिकांश स्थानमा प्रहरीको जाँच हुन्छ । उनीहरु कसरी हेटौँडासम्म हात हतियारसहित आए ? यो विषयमा चासोको विषय बनेको छ । उनीहरु सुराकी गर्न आएको पनि हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!