राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडी उत्पादनका लागि प्रतियोगिता

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

परासी :  जिल्लाबाट राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्लास्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ ।

रामग्राम नगरपालिकाको सहयोग र परासीस्थित रामग्राम ब्याडमिण्टन क्लबको आयोजनामा आजदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका खेलाडी सहभागी भएका छन् ।

परासीस्थित रामग्राम ब्याडमिण्टन कभर्डहलमा सञ्चालित उक्त प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिङ्गल, भेट्रान डबल्स तथा जुनियरतर्फ महिला र पुरुषबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष मेघराज गौतमका अनुसार मेन्स डबल्सतर्फ ३२, मेन्स सिङ्गलतर्फ १६, भेट्रान डबल्स (४५ वर्ष माथि)तर्फ आठ र जुनियरतर्फ महिला र पुरुष गरी दश खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र कपको व्यवस्था गरिएको क्लबका अध्यक्ष गौतमले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले परासीमा कभर्डहल निर्माण भएपछि ब्याडमिण्टनका खेलाडीको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयोे ।

उहाँले पूर्वाधार अभावमा खेलाडी पछि पर्नुपर्ने स्थिति अन्त्य गर्न प्रदेश सरकारबाट रु ७५ लाखको अनुदानबाट नगरपालिकाले ढाई बिघा जमीनमा खेलमैदान पनि बनाउन लागेको जानकारी दिनुभयो ।

यस प्रतियोगिताबाट राष्ट्रिय खेलाड छनोट गर्न सहज हुनेमा जोड दिँदै उहाँले खेलाडीलाई प्रोत्साहन गर्न आफू सदैव सकरात्मक रहेको बताउनुभयो ।

रामग्राम ब्याडमिण्टन क्लबका अध्यक्ष मेघराज गौतम, जिल्ला ब्याडमिण्टन सङ्घका अध्यक्ष शङ्कर भण्डारीलगायतले प्रतियोगिता सञ्चालनले आफूहरु उत्साहित भएको बताउँदै आगामी दिन खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरिदिन नगरपालिकासँग आग्रह गर्नुभयो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!