पशु कल्याणको सवलीकरणका लागि अन्तरक्रिया सम्पन्न

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याए र भएका कानूनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र रहेको सुनाए ।

उनले भने,‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे ।

यद्धपी उनले पशुसँग जोडिएर आएको विषय भएकोले यसबारेमा विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।

त्यस्तै, कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट  पारे ।

पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणनापनि हुनुपर्ने बताए ।

वातावरण कानूनका ज्ञाता अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । उनले भने,‘हाम्रो सुनुवाई नहुँदा बाध्य भएर अदालत जानुपर्यो ।’

श्रेष्ठले पशुहरुको अव्यवस्थित् ढुवानीलाई व्यवस्थित् गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । उनले थपे,‘पशुहरुको संरक्षण गर्नुपर्छ । अदालतले अहिले पशु कल्याण ऐन बनाउनकोलागि आदेशसमेत दिईसकेको छ ।’

उनले पशुमाथि निर्दयी व्यवहार गर्न नहुने पनि धारणा राखे । उनले पशु कल्याणको लागि स्नेहाज केयरजस्तै अन्य संस्था लागिपरे धेरै राम्रो हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, ओआई फोकल प्वाईन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफुहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । उनले भने,‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर गर्छौं ।’

कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाईन् । उनले पशु कल्याणलाई प्रभावकारी बनाउनको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै आगामी दिनमा पनि यसको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिईन् ।

उनले भनिन्,‘मिडियाले सुसुचित गरेपछि अहिले पशुहरुलाई माया गर्नेहरुको संख्या बढेको छ । मिडियाकै कारण पशु कल्याणबारे आम मानिसहरु सुसुचित हुनुभएको छ । यो त हामीजस्तो पशु कल्याणमा काम गर्नेहरुको लागि खुशीको कुरा हो ।’ आजको अन्तरक्रिया कार्यक्रम कपिल काफ्लेले सञ्चालन गरेका हुन् ।

नेपालमा पशुकल्याण ज्यादै कम बहसको विषयवस्तुको रुपमा रहेको अवस्थामा स्नेहाज केयरले यस विषयलाइ जनमानसमा ल्याउन र पशुकल्याणलाई समाजमा स्विकार्य बनाउनका लागि सहजिकरण गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

हाम्रो सँस्था पशुकल्याणका आधारभूत शर्तहरु पालना गराउनका निम्ति पशुकल्याण नियम कानुनको कार्यान्वयनका साथै आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकाय हरुसँग छलफल तथा बहस गर्दै यस सम्बन्धमा  निरन्तर प्रयत्नशील रहेको कुरा अवगत गराउन चाहान्छु ।

पशुपंक्षिहरुलाई भोक र प्यासबाट मुक्ति, डर तथा त्रासबाट मुक्ति, घाउरचोटपटक तथा दुःख बाट मुक्ति, असहजताबाट मुक्ति प्राप्त गर्नै अधिकार तथा प्राकृतिक व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता रहैको  हुन्छ ।

यस्ता पशुकल्याणका आधारभूत शर्तहरु समेत पालना नभई पशुहरुप्रति हुने क्रुर व्यवहारहरु मानव सभ्यता, मानवीय समवेदना, मूल्य मान्यता तथा मानवधर्म विपरितका कार्यहरु हुन् ।

अतः पशुहरुप्रति हुने कुनैपनि किसिमको क्रुरता तथा दुव्र्र्यवहार हाम्रा लागि सह्य छैन, हुनेछैन । हाम्रो एकमात्र लक्ष्य भनेको पशुहरुको न्यूनतम कल्याण सुनिश्चित गराई सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग गर्नु हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!