अपराध अनुसन्धानमा कुकुरको सहयोगले प्रहरीलाई ठूलो उपलब्धि ‘गौरी’ र ‘जमुना’को चर्चा

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाँके : कुकुरका लागि मानिस साथी र रक्षक दुबै हो । घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने काममा समेत कुकुरको प्रयोग हुँदै आएको छ । विश्वमा प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कुकुरको सहयोगका कारण ठूला ठूला अपराधमा संलग्न हुनेहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।


अन्य मुलुकको जस्तै नेपालमा पनि प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिईदै आएको छ । कतिपय अवस्थामा अनुसन्धान अधिकृतले पत्ता लगाउन नसकेका घटनाको वास्तविकता कुकुरले बाहिर ल्याइदिन्छन् । कुकुरकै सहयोगमा पक्राउ परेका अपराधी वास्तविक अपराधी हुन् भन्ने विश्वास पनि गर्न थालिएको छ ।

गृह मन्त्रालयले अन्य शाखाजस्तै नेपाल प्रहरीभित्र कुकुर शाखाको स्थापना गरेर अपराध अनुसन्धानमा सक्रियता देखाएको छ । विसं २०७० को निर्वाचनसँगै बाँकेको कोहलपुरमा रहेको कुकुर शाखामा सात कुकुर ल्याइयो । जसमध्ये दुई कुकुर ड्रक्स एण्ड एक्सप्लोसिभ सर्च (लागुऔषध र विष्फोटक पदार्थ पत्ता लगाउने) को विज्ञ नै छन् ।

यस क्षेत्रमा अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’ खटिएका छन् । यी दुईले पश्चिम क्षेत्रमा तहल्का नै मच्चाएको प्रहरी अधिकारीको दाबी छ । दुवै आ–आफ्नो ‘ड्युटी’मा खटिए । उनीहरुले भारतबाट नेपाल प्रवेश गर्ने हरेक मानिसको जाँच गरे । ‘गौरी’लाई लागुऔषध ‘जमुना’लाई विष्फोटक पदार्थ खोज्ने जिम्मा दिइएको थियो । ‘गौरी’ र ‘जमुना’लाई सँगै रहेका प्रहरी टोलीले पछ्याइरहेको थियो ।

‘जमुना’ले केही फेला पारिन तर, ‘गौरी’ निकै व्यस्त भइरहेकी थिइन् । ‘गौरी’ र ‘जमुना’लाई लिएर लागुऔषध अनुसन्धान ब्यूरोको टोलीले सोमबार साँझ ५ देखि ७ बजेसम्म सीमा नाका जमुनाहामा जाँच गरेको थियो । ‘गौरी’ले केही व्यक्तिमाथि शङ्का गरेपछि प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा लागुऔषध फेला पा¥यो । त्यस क्रममा प्रहरीले लागुऔषधसहित सातलाई पक्राउ ग¥यो ।

‘गौरी’ र ‘जमुना’ले गरेको कुनै पनि अनुसन्धान असफल नभएको प्रहरीको दाबी छ । सोमबार एकैपटक ‘गौरी’ले सात व्यक्तिलाई लागुऔषधसहित पक्राउ गराउन सहयोग गरेपछि दुबै कुकुरको चर्चा चुलिएको छ । अपराध अनुसन्धानमा सक्रिय कुकुरको सहयोगले प्रहरीलाई ठूलो उपलब्धिसमेत मिलेको नेपाल प्रहरीको कुकुर शाखा कोहलपुरका प्रहरी निरीक्षक वासुदेव सुवेदी बताउनुहुन्छ ।

“कुकुर आफैँले अपराधी समातेर ल्याउँदैन, अपराधीसम्म पुग्न बाटो देखाउँछ, तालीमप्राप्त कुकुरलाई घटनास्थलमा भेटिएका प्रमाणलाई सुझबुझकासाथ सुँघाउने हो भने अपराधी पत्ता लगाउन मद्दत मिल्छ”, कुकुरको सहयोगले प्राप्त गरेका उपलब्धिका बारेमा सुनाउँदै प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “अपराध र बाटो पत्ता लगाउने कार्यमा कुकुरबाट धेरै सफलता प्राप्त भएको छ ।”

कोहलपुरमा कुकुर शाखा स्थापना भएपछि हालसम्म १५३ सानाठूला घटनाको अनुसन्धान गरिएको बताउँदै सुवेदीले भन्नुभयो, “११ ठूला घटनामा सफलता मिलेको छ ।”

यसअघि मध्य तथा सुदूरपश्चिमलाई कार्यक्षेत्र बनाएको कुकुर शाखा कोहलपुरले कर्णाली प्रदेश र प्रदेश नं ५ मा अपराध अनुसन्धानमा सक्रिय रहेको छ । कर्णाली प्रदेश कार्यक्षेत्र रहेको शाखाले प्रदेश नं ५ को बुटवलदेखि पश्चिम कर्णाली पुलसम्म पनि आफ्नो कार्यक्षेत्र बनाएको छ ।

“प्रहरीको आँखा छलेर अपराधीले अपराध गर्छन्, कतिपय चलाख अपराधीले प्रहरीलाई झुक्याउने हुँदा सहजै उम्किने गर्छन् । तर, विज्ञ कुकुर जब अनुसन्धानमा खटिन्छन्, अपराधी उम्कन पाउँदैन ।

मै हँु भन्ने अपराधीको पनि विज्ञ कुकुरको अगाडि केही लाग्दैन”, निरीक्षक सुवेदीले भन्नुभयो । भीआइपी सुरक्षादेखि पुल, कल्भर्टसम्म हुने अपराध र अपराधीको खोजीमा सक्रिय कुकुर शाखाले माग भएअनुसार सेवाप्रवाह गरिरहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

लागुऔषध अनुसन्धान ब्यूरो नेपालगञ्जका प्रमुख वीरबहादुर थापाका अनुसार नेपालगञ्ज नाका लागुऔषध बोक्ने नाका बनेको छ । ब्यूरोको टोली रातदिन खटिँदा पनि कारोबारीले कुनै न कुनै माध्यमबाट लागुऔषध नेपालगञ्ज भित्र्याइरहेका छन् ।

नाकाबाट फुत्किएका कारोबारी तथा प्रयोगकर्ता बाँकेका विभिन्न स्थानबाट पक्राउ परिरहेका छन् । “लागुऔषध भित्रिन नदिन हामी रातदिन लागेका छौँ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज नाकाबाट भारतीय शहर रुपैडिहामा गएर लागुऔषध सेवन गरेर फर्किनेको सङ्ख्या अझ ठूलो छ । “जति नै कडाइ गरेपनि लागुऔषध भित्रिन छाडेको छैन”, ब्यूरोका प्रमुख थापाले भन्नुभयो, “लागुऔषधले त नेपालगञ्ज शहरमात्रै होइन, ग्रामीण बस्तीसमेत तहसनहस हुन थालिसके ।” सधैँ भीडभाड रहने नाका भएको र सामानका बीच या जहाँ पनि लुकाएर ल्याउन सक्ने भएकाले लागुऔषध भित्रिरहेको छ ।

नेपालगञ्ज नाकाबाट भित्रिएको लागुऔषध दाङ, प्यूठान, रुकुम, रोल्पा, सुर्खेत, दैलेख, जुम्लामात्रै होइन, राजधानीसम्म पुग्ने गरेको अधिकारी बताउँछन् । प्रहरीले बेलाबेलामा नाकामा कुकुरसहित जाँच गर्ने गरेको छ । ब्यूरोका इन्चार्ज थापाले लागुऔषध प्रयोगकर्ता बढेकाले नियमित जाँच गर्ने अभियान नै थालेको बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!