आगामी जेठ १८ गते चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा हुँदै

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, दूध दिवसको अवसर पारेर आगामी जेठ १८ गते चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्न लागिएको छ ।

दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका संघसंस्थाहरुको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको हो ।

कृषि तथा पशुपंक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रुपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको चितवन जिल्ला दूध उत्पादक सहकारी संघ लिमिटेडका सचिव किशोर बगालेले बताए ।

चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन भएर ४० प्रतिशत भन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकोले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको बगालेको भनाइ छ ।

जिल्लामा दूध किसानको तथ्यांक संलकन गरेर मन्त्रालयमा पठाउन लागिएको उल्लेख गर्दै जेठ १८ गते चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिने बगालेले बताए ।

चितवनमा अन्य जिल्लामा भन्दा बढी दूध उत्पादन हुँदा समेत आत्मनिर्भर जिल्ला घोषणा नगरिएकै कारण सरकारको आँखामा चितवन पर्न नसकेको अन्तपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागीरथ तिमल्सिनाले बताए ।

दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि विभिन्न संघसंस्था तथा सरकारबाट समेत अनुदानका कार्यक्रम आउने तिमल्सीनाको भनाइ छ । सरकारको नगरमा काभ्रे मात्रै पर्ने गरेको उल्लेख गर्दै तिमल्सिनाले त्यहाँ भन्दा चितवनमा गुणस्तरीय र धेरै दूध उत्पादन हुने गरेको बताए ।

चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाएसँगै यहाँका किसानहरुलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा भैँसीपालक किसान ईन्द्रमणि गैरेले जोड दिए ।

दूधको उत्पादनभन्दा बिक्री मूल्य थोरै हुनु, अनुदान कुम्ल्याउनका लागि किसान बन्ने जस्ता समस्या समाधान गर्न सकेको खण्डमा मात्रै किसान समेत आत्मनिर्भर हुने गैरेको भनाइ छ । अस्थाई किसान बन्ने र अनुदान पाएपछि पेसा छोड्ने प्रवृत्ति बढी देखिएकाले किसानहरु आत्मनिर्भर हुन नसकेका गैरेको भनाइ छ ।

चितवनका किसानहरुले दूधको मूल्य नपाएको भन्दै विभिन्न समयमा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । असली किसान पहिचान गर्दै उनीहरुलाई अनुदान दिएर भएपनि यस पेसामा टिकाउनका लागि समेत जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न लागिएको अगुवा किसानहरु बताउँछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!