आज देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका  वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ । प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ ।

राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि सामान्य बदली भई मेघ गर्जन र  हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदलीको सम्भावना  छ ।

अपराह्नपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा  बढी धनगढीको अधिकतम  तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन  गरिएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!