अवैध हातहतियार नियन्त्रणमा नेपाल प्रहरीलाई सफलता

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं : घटना १
सिन्धुपाल्चोक मेलम्ची बस्ने ३० वर्षीय विष्णु तामाङ चोरी, डकैतीजस्ता अपराधकर्ममा संलग्न थिए । डाँका मुद्दामा ६ वर्ष कैद भुक्तान गरी रिहा भएका उनी  पुन: चोरी गर्न थालेपछि प्रहरीले खोजी गरिरहेको थियो । खोज तथा अनुसन्धानको क्रममा २०७६ जेठ ६ गते काठमाडौं धापासीबाट १ थान पेस्तोल र ५ राउण्ड गोली सहित उनलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।
 

घटना २
अज्ञात व्यक्तिले मोटरसाइकलमा आधुनिक हतियार ल्याउँदैछ भन्ने सूचनाको आधारमा २०७५ फागुन १५ गते सुनसरी प्रहरीले  जिल्लाका विभिन्न स्थानमा आकस्मिक जाँच सुरु भयो । तीमध्ये धरानस्थित पानबारी चोकमा शंकास्पद मे.५ प ७५ नम्बरको मोटरसाइकल तीब्र गतिमा आयो र प्रहरीले रोक्न खोज्दा आत्तिएर भाग्यो । प्रहरीले तत्काल पिछा गरी मोटरसाइकल नियन्त्रणमा लियो ।

जाँच गर्ने क्रममा मोटरसाइकलमा चामलको बोराभित्र प्लाइको बाकसमा तन्नाले बेरी राखेको एलएमजी राइफल १ नाल, त्यसको म्यागजीन २ थान, एमसिक्सटीन एटु राइफल १ नाल, त्यसको म्यागजीन १ थान बरामद भयो र मोटरसाइकल चालक मोरङ केरावारीका संगीत भनेर चिनिने ४१ वर्षीय देवकुमार लिम्बु पक्राउ परे ।

देशभर प्रहरी सक्रियता, आकस्मिक जाँच तथा निगरानीका कारण तामाङ र लिम्बुजस्तै विभिन्न हातहतियार सहित पक्राउ पर्नेहरूको संख्या पछिल्लो समय ह्ववातै बढेको छ । अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ ।

प्रहरीले अहिले ७७ वटै जिल्लामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम संचालन गरी सचेतना फैलाउने काम गर्दै आएको छ ।  कार्यक्रमको प्रभावले आमनागरिकबाट सूचना प्राप्त गर्न सहज भएपछि अवैध हातहतियार नियन्त्रण गर्न नेपाल प्रहरी सफल भएको हो ।

अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियता र प्राप्त उपलब्धी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्नुहुन्छ, ‘सीमा क्षेत्रदेखि सबै स्थानभर सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरेका छौं ।’ भने अवैध हतियार सम्बन्धी सूचना संकलनलाई तिब्रता दिएका हौं । 

गत ९ महिनाको अवधिमा देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित २ सय ४२ जना मानिस पक्राउ परेका छन् । पक्राउमध्ये पुरुष २ सय ३६ जना र महिला ६ जना छन् । जम्मा पक्राउमध्ये १७ जना विदेशी नागरिक छन् । सो अवधिमा एलएमजी राईफल १ थान, पोइन्ट टुटु राईफल १ थान, एसएमजी २ थान, एमसिक्स्टीन एटु राइफल १ थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर ३ थान, भरुवा बन्दुक १ सय १८ थान गरी जम्मा २ सय १४ थान अवैध हतियार र ६ सय ८० राउण्ड गोली बरामद भएको छ । साथै अवैध हातहतियारअन्तर्गत जम्मा १ सय ६५ मुद्दा दर्ता भएका छन् ।

ठूलो संख्यामा आधुनिक हतियार बरामद हुनुमा साझेदारी कार्यक्रमले सहज बनाएको छ । यसले सूचना संयन्त्रलाई बलियो बनाउन मद्दत गरेको छ । प्रहरी र सरोकारवाला निकायबीचको सहकार्यले अवैध हातहतियार र यसको जोखिमबारे जनचेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरू समेतले हतियार प्रहरीमा बुझाएका छन् । प्रहरी नायव महानिरीक्षक पोखरेल भन्नुहुन्छ, ‘सूचना नेटवर्कलाई मजवुत पारिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमले सूचना प्रवाहमा वृद्धि हुन थालेपछि ठूलो मात्रामा अवैध हतियार वरामद भएको हो । कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ भइरहेका छन् । समुदायसँग मिलेर तपाईंको छरछिमेकमा भएको हतियार भोलि तपाईकै लागि घातक हुनसक्छ भन्ने सूचना प्रवाह गरेका छौं । यसले भोलिका दिनमा अवैध हतियार सम्बन्धि घटना घटेर जानेछ ।’                                                 

बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी छन् । आपराधिक गिरोहले उपलब्ध गराउने यस्ता हतियारले साना र ठूला संगठित अपराध गराउने गरेको देखिन्छ । तस्कर, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भइरहेको पाइन्छ ।

अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको छ । खासगरी सीमाक्षेत्रमा प्रहरी बढी सक्रिय छ । हतियार नियन्त्रणमा प्रहरीको सक्रियता र प्रयासबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयाल भन्नुहुन्छ, “अवैध हतियार नियन्त्रण गर्न रोड सेक्युरिटी चेकप्वाइन्ट कन्सेप्ट ल्याएका छौं ।

यसअन्तर्गत जनपथ र ट्राफिक प्रहरीको संयुक्त जाँच हुन्छ । सीमा नाका लगायत सबै स्थानमा आकस्मिक जाँचलाई बढी प्राथमिकता दिएका छौं ।” प्रविधिको विकाश सँगसँगै साना तथा ठूला संगठित अपराध एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल बढ्दै गएको छ ।

अवैध हातहतियार कारोबार तथा प्रयोगले दिनानुदिन बढ्ने आपराधिक गतिबिधि र शान्ति सुरक्षामा थपिने चुनौती सामना गर्न नेपाल प्रहरीले एकातर्फ कानुन कार्यान्वयनमा कडाई गरेको छ भने अर्कोतर्फ सचेतनामूलक कार्यक्रम गरी अपराधकर्म गर्न निरुत्साहित गरेको छ ।

अवैध हातहतियारको कारोबारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएबाट यस्ता अपराधीहरु निरुत्साहित भएका छन् । अपराध र अपराधीप्रति विवेकपूर्ण तरीकाले कठोर भई कानुनी दायरामा ल्याउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्पष्ट निर्देशन दिएपछि पनि यस कार्यमा प्रहरीले थप सफलता पाएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!