पारिवारिक हत्याकाण्ड प्रहरीले रोक्न सक्दैन, समाज सचेत हुनुपर्छ : प्रवक्ता पोखरेल

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाली समाजमा हत्या हिसां बलात्कार र महिला हिसां जस्ता घटना बढ्दै गएको छ । यस्ता घटनालाई नेपाली समाजको मुख्य विकृतिको रुपमा लिन थालिएको छ जसले गदा समाजमा त्रास फैलिएको छ । यस्तै एउटा उदाहरण बनेको पाँचथरको हत्या काण्ड । समाजमा बढिरहेको विकृति कसरी नियन्त्रण गर्ने त ? यस विषयमा ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

पाँचथरमा भएको सामुहिक हत्या कसरी भयो ?
पाँचथरमा भएको घटनाको हामीले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानका लागि टोली खटाइसकेका छौँ । हामीले पनि अनुसन्धानका लागि स्रोत साधनको अधिकतम प्रयोग गरेका छौँ । घटनाबारे छिटै निष्कर्षमा पुग्छौँ ।

केको आधारमा यो घटनाको निष्कर्षमा पुग्न सक्नुहुन्छ ?
९ जनाको हत्या भएको हो । हत्या भएकै परिवारकी एउटी बालिका भागेर बाँच्न सफल भएकी छिन् । घटनास्थलबाट पर त्यही परिवारको सदस्य झुण्डिएर मरेको अवस्थामा पनि फेला परेको छ । आत्महत्या गरेको स्थान नजिकै भेटिएको हतियार, कपडासमेतबाट अपराध अनुसन्धान सफल हुन्छ भन्ने विश्वास छ ।

यस्ता घटनाले समाजमा नै त्रास फैलिएको छ । यस्तो अपराध कसरी रोक्ने ?
घटनामा हत्या भएका व्यक्तिको संख्या हेर्दा यो निकै ठूलो हत्याकाण्ड हो । तर यो घटनाबाट समाज डराउनुपर्ने अवस्था छैन । किनभने प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना पेशेवर अपराधीले गराएको होइन । एक व्यक्तिले रिस र आक्रोषका आधारमा घटना घटाएकाले समग्र समाज डराउनपर्ने अवस्था छैन ।

पछिल्लो समय पारिवारिक रिसिइबीकै कारण हत्याका घटना धेरै भइरहेका हुन् ?

हो, पछिल्लो समय पेशेवर अपराधीलेभन्दा अरु सामान्य व्यक्तिले घटाएका घटनाको संख्या धेरै छन् । धेरै घटनाहरु नातागोताभित्र, परिवारभित्र विमति, विवाद र असहमति भएकै कारण सृजना भएका छन् । यस्ता घटना २५ देखि ३० प्रतिशतसम्म छन् । यसभित्रका कारणमा आर्थिक विवाद, चरित्रमाथि प्रश्न, अंशबण्डा, दाइजो विवाद आदि छन् ।

समाजका यस्ता समस्यालाई कसरी निराकरण गर्न सकिन्छ ? बेलैमा यसतर्फ ध्यान दिइएन भने त अपराध बढ्दै जाने अवस्था देखियो नि ?
हरेक मान्छेको आ–आफ्नो दृश्टीकोण हुन्छ । परिवारभित्रको एउटा सदस्यले चरित्रलाई एउटा मापनमा राख्न सक्छ, अर्को व्यक्तिले अर्कै मापनमा राख्न सक्छ । फरक फरक मापन राख्नेहरुबीचमा द्धन्द्ध हुन सक्छ । द्धन्द्धपछिको आक्रोषले अपराध हुन सक्छ । यसलाई प्रहरीले मात्रै रोक्न सक्दैन । प्रहरी परिचालन गरेर यस्ता अपराध नियन्त्रण हुन सक्दैन । आमूल रुपमा सामाजिक परिवर्तनकै जरुरी हुन्छ । परिवारबीच विश्वास बढाउने र बदलाको भावना त्याग्ने कुरा महत्वपूर्ण हुन्छ ।

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप छ भनिन्छ नि । अहिले कस्तो छ अवस्था छ ?
अहिले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप छैन । प्रधानमन्त्री, गृहमन्त्रीलगायतले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुभएको छ । क्षमता र योग्यताका आधारमा बढुवा हुने गरेको छ । कसैप्रति पनि अन्याय भएको छैन । मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी नेपाल प्रहरीले ढुक्कसँग सफलतापूर्वक गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!