कान्छी मन्त्री, त्यस्तै आनीबानी : काठमाडौं काकाकुल, कतारमा पानी !

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, पारिवारिक रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिक प्रश्न उठाउने कम छैनन् ।

आफ्ना बुहारी मध्येकी जेठी सृजना त्रिपाठीलाई भर्खर कास्कीको जिल्ला सदस्यमा मनोनयन गराउनुपूर्व कान्छी बुहारीलाई देशको महत्वपूर्ण मन्त्रालय नै जिम्मा दिए ।

यसै विषयमा परिवारले कुरा काट्ने भई गए । तैपनि दिएको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरेको भए उनको नाक जोगिन्थ्यो ।

त्यसको विकल्पमा खानीपानी तथा ढल व्यवस्थापन मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूले हस्तक्षेप गर्नैपर्ने भएको भनी सार्वजनिक कार्यक्रममा प्रचण्डले पनि भन्नुपर्ने थिएन ।

कुरा हो, मन्त्री बिना मगरको अविवेकी बयानबाजी र निर्णय गर्ने क्षमताको । मन्त्री हुनासाथ मेलम्ची खानेपानी आयोजनालाई आफ्नो राजनीतिको महत्वपूर्ण आयोजना बनाएकी मगर त्यही प्रकरणमा चिप्लिन पुगिन् ।

चिप्लिने एउटा मात्र कारण छैन । अघिल्लो वर्षको असारमा पानी झार्छु भनिन् । असार बित्यो, असोजमा झर्छ भनिन् । असोज बित्यो, ठेकेदारलाई दोष दिन् ।

ठेकेदार तान्न सचिव हेरफेर गरिन् । सचिवले नै उनलाई पत्याएनन्, मुलुक नै बिगार्न लागेको आरोप लगाइदिए । अल्लारे निर्णय गर्दै हिँडेकी बिनाले बारम्बार मेलम्ची खानेपानी आयोजनाका विषयमा जवाफ दिनु परेको छ ।

यहाँसम्मकी संसदका विभिन्न समितिले उनलाई सो प्रकरणका बारेमा सोधिरहेका छन् । उनको जवाफ एउटै छ अहिले – ठेकेदार भाग्यो ! तर, भाग्न बाध्य कसले बनायो ? भनी धेरैले सोधिरहेका छन् ।

स्रोतका अनुसार ठेकेदार भगाएर नयाँ ठेक्का लगाउनका लागि मन्त्री मगरलाई सल्लाहकारले सुझाव दिए, सोहीअनुसार उनी चलिरहेकी छन् ।

यतिसम्मकी, अहिले त सही सुझाव दिनेलाई सचिवालयबाट हटाएर गलत सल्लाह दिनेहरुको घेरामा काम गर्न थालेकी छन् ।

स्रोतका अनुसार उनका सल्लाहकार कस्तासम्म छन् भने मेलम्ची प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दा विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शनविरुद्ध विज्ञप्ति पनि जारी गर्न लगाए । त्यसमा पनि हस्ताक्षर दच्काइन् ।

अहिले मेलम्ची प्रकरणको विषयलाई मत्थर बनाउन मन्त्री मगरले अर्को रणनीति अख्तियार गरेकी छन् । त्यो पनि विवादमा तानिएको छ ।

उनले नेपालका लागि कतारका राजदूतसँग भेट गरी नेपाली पानी कतारमा बेच्ने भनिन् । काठमाडौं काकाकुल छ, मन्त्रीले कतारमा पानी बेच्छु भन्नु कति उपयुक्त हुन्छ ?

मन्त्रालय स्रोतले भन्यो, निर्णय गर्ने क्षमता नै कमजोर भएको हो । सल्लाह नगरीकन आफूखुसी बोलिदिँदा कर्मचारी पनि तनावमा छौं । काम र योजना बनाउने त हामीले हो नि !

कतारमा बेच्ने पानीका विषयमा पनि विवाद आएको छ । मन्त्री मगर व्यापारी अजेयराज सुमार्गीसँग मिलेर उनैको उद्योगको पानी कतार पठाउने मनसायमा लागेको बताइएको जनप्रहारमा उल्लेख छ ।

यता मन्त्री मगरले भने मेलम्ची प्रकरणमा आफूलाई आरोप लाग्ने गरेको पनि बताउने गरेकी छन् । उनले ठेकेदार भागेका कारण समस्या आएको बताउँदै मेलम्ची जसरी पनि ल्याउने काममा आफू सक्रिय रहेको बताउँदै आएकी छन् । अब, उनको यो दाबी कहिले पूरा हुने हो ? जनता हरिरहेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!