कामिरिता २४ औँ आरोहणमा पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताउनुभयो । “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ ।

यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उहाँले भन्नुभयो । सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ ।

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँ २४ औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लाग्नु भएको पर्यटन विभागले जनाएको छ ।

विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन् । सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ ।

मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो । कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ

सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख  ४३ हजार सगरमाथाबाट मात्र छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!